गाउँका किशोरीलाई फुटबल सिकाउँदै

सुम्निमा चाम्लिङ

(इटहरी) — कुनै समय टोलका अगुवा खेलाडीहरूको जर्सी लगाउँदै फुटबल खेल्न थालेकी धरानकी भगवती रानामगरको दिनचर्या फेरिएको छ । अचेल उनी सुनसरीका ग्रामीण किशोरीलाई प्रशिक्षण दिन व्यस्त छिन् । 

दुई दशक लामो फुटबल अनुभव बाँड्न उनी छिमेकी उदयपुर तथा मोरङका विकट गाउँसम्म पनि पुग्छिन् । १३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी उनी अहिले त्यही उमेरका किशोरीहरूलाई प्रशिक्षण दिन पाउँदा दंग छिन् ।

सन् २०१७ मा उनलाई अखिल नेपाल फुटबल संघले फुटबल प्रशिक्षकका रूपमा जिम्मेवारी दियो । उनले फुटबल सिकाउने काम भने ०६१ सालदेखि नै थालिसकेकी थिइन् । सन् २०१० मा एन्फाबाट प्रशिक्षकको लाइसेन्स पाएकी हुन् । उनले त्यस बेला खेल्न थालेकी थिइन् जति बेला महिला फुटबल खेलाडीको अभाव थियो । त्यही बेलै उनलाई खेलाडी उत्पादन गर्नुपर्छ भन्ने लागेको थियो ।
रानामगरले सन् २०१४ मा यू–१४ महिला राष्ट्रिय फुटबल टिमको सहप्रशिक्षक बन्ने अवसर पाइन् । त्यति बेला श्रीलंकामा भएको प्रतियोगितामा नेपाल विजेता बन्यो । सन् २०१८ मा पनि उनी नेपाली महिला राष्ट्रिय टिमको सहप्रशिक्षक थिइन् ।

कुनै समय नेपाली महिला राष्ट्रिय टिमको नेतृत्व गर्छु भन्ने आफूले नसोचेको उनी बताउँछिन् । उनी खेलाडी छँदा हरि खड्काको फ्यान थिइन् । त्यति बेला खड्का महिला राष्ट्रिय टिमका प्रशिक्षक थिए । खड्कासँग टिमको नेतृत्व गर्न पाउँदा आफुलाई निकै गर्व लागेको रानामगर बताउँछिन् । सन् २०१८ मा हिमाली जिल्ला मुगुका किशोरीहरूले युरोपको स्पेनमा डोनास्टी कप प्रतियोगितामा सहभागिता जनाएका थिए । उक्त टोलीको मुख्य प्रशिक्षक उनै थिइन् । राराका किशोरीलाई अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराउन पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् ।

अढाई दशकसम्म किशोरीहरूलाई निःशुल्क प्रशिक्षण गराएकी उनले शिक्षण पेशाबाट खर्च टार्ने गरेको सुनाइन् ।

हाल उनैले तयार पारेका सुनसरीका सात खेलाडी जुनियर महिला फुटबल राष्ट्रिय टिममा परेका छन् । यो उपलब्धिप्रति उनी निकै खुसी छिन् ।

स्थानीय सरकारले महिला फुटबललाई त्यति चासो देखाएको छैन । उनी भने आफ्नो पारिश्रमिक र साथीहरूबाट सहयोग जुटाएर प्रतियोगिता नै चलाउँछिन् । ‘महिलाहरूले फुटबल खेल्न पाउनुपर्छ । त्यसैले सक्दो कोसिस गर्दै आएकी छु,’ उनले भनिन् । ग्रासवुडमा खेल्ने खेलाडीहरूसँग जुत्ता र जर्सीसमेत नहुने गरेको उनको अनुभव छ ।

‘खेलाडीहरू जब पहिलोपल्ट जुता लुगाउछन्, निकै खुशी हुन्छन् । त्यो दृश्य मलाई प्रिय लाग्छ,’ उनले भनिन् ।
महिलाहरूलाई मैदानसम्म आइपुग्न निकै कठिन हुने रानामगरको भोगाइ छ । भन्छिन्, ‘फुटबल एउटा माध्यम मात्र हो । महिलाहरू घरमा सीमित नभई आफ्नो प्रतिभा बाहिर ल्याउनुपर्छ ।’ खेलाडी छँदा उनी जिल्ला, क्षेत्र तथा राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन्थिन् । ‘त्यस बेला खेलाडीलाई गाईड गर्ने कोही हुन्थेन, अबको पुस्ताले पनि त्यस्तो अप्ठ्यारो भोग्न नपरोस्,’ उनी भन्छिन् ।

प्रकाशित : मंसिर १५, २०७६ ११:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाथीभरामा लाखभन्दा बढी तीर्थयात्री

कान्तिपुर संवाददाता

ताप्लेजुङ — ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरामा बैशाखयता १ लाख ६ हजार ६ सय १३ जना तीर्थयात्री पुगेका छन । पाथीभरा क्षेत्रको माथिल्लो फेदी अस्थायी प्रहरी चौकिका अनुसार सबैभन्दा बढी कात्तिकमा गएका हुन् ।प्रहरी इन्चार्ज धनराज तुम्वापा लिम्वूले कात्तिक महिनामा ४४ हजार २ सय ३७ जनाले दर्शन गरेको बताए ।

उनका अनुसार वैशाखमा १८ हजार ९ सय २५, जेठमा १४ हजार ३ सय ५६, असारमा ३ हजार ३१, साउनमा ७ सय ७५, भदौमा २ हजार ७६ र असोजमा २३ हजार २ सय २३ जना पाथिभरा गएका छन् ।

सामान्यतया साउनमा देवीदेवता गुफा बस्ने भएकाले दर्शन गर्न हुन्न भन्ने मान्यता रहे पनि दर्शनार्थी पुगेका छन् । पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा परिषरमा शिवलिंग ल्याएर राखिएकाले तिर्थयात्री साउनमा पनि आएका हुन् । सबैभन्दा धेरै फागुन र चैतमा आउने गरेका छन । गत वर्ष चैत १३ गते एकै दिन १३ हजारले दर्शन गरेका थिए । त्यसपछि कार्तिक ५ गते एकै दिन ८ हजार २ सय ९६ जनाले दर्शन गरे । असोजमा सबैभन्दा बढी २५ गते ६ हजार २ सय जना पुगेका थिए ।

धनराजका अनुसार अधिकांश दर्शनार्थी समूहमा आउँछन् । एक्लै आउने आक्कलझुक्कल मात्र हुन्छन् । समूहमा आउनेको एक जनाको नाम लेखेर संख्या खुलाइन्छ । बेलुका बास बस्ने र राती १२ बजेदेखि नै फेदीबाट उकालो चढ्नेहरू हुने भएकाले विवरण टिप्न रातभरि पनि प्रहरी तैनाथ राखिने लिम्वूले बताए । चैत मसान्तसम्मै विवरण राख्ने र बार्षिक यकिन तथ्यांक निकाल्ने प्रहरीको योजना छ । पाथीभरामा वार्षिक तीन लाखसम्म दर्शनार्थी आउने पाथीभरा क्षेत्र विकास र संरक्षण समितिको आँकलन छ ।

यहाँ आउने सबैभन्दा बढी झापाका हुन्छन् । त्यसपछि मोरङ, सुनसरी र सिक्किमका छन् । काठमाडौंसहित पश्चिम नेपालबाट पनि पुग्छन् । विदेशमा सबैभन्दा बढी सिक्किम र मनिपूर क्षेत्रबाट आउँछन् ।
हिउँदमा सुक्खायाम भएकाले भीड कम हुन्छ । लालीगुराँससमेत फुल्ने भएकाले चैत–वैशाखमा धेरै पुग्छन् ।

प्रकाशित : मंसिर १५, २०७६ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×