कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

३५ लाख दिएर स्कुलको नाम परिवर्तन

आनन्द गौतम

ताप्लेजुङ — मैवाखोला गाउँपालिका–२ ढुंगेसाँघुको एक परिवारले विद्यालयलाई ३५ लाख रुपैयाँ बराबरको सहयोग गरेर नाम र ठेगाना परिवर्तन गराएका छन् । दिवंगत सिंगराज र मनरानी बनेमका नाममा उनीहरूका छोराछोरीले विद्यालयको नाम लेखाएका हुन् ।

३५ लाख दिएर स्कुलको नाम परिवर्तन

प्रस्ताव साधारणसभाबाट पारित गरेर गाउँपालिकाले विद्यालयको नाम परिवर्तन गरिदिएपछि साविक ठोट्ने आधारभूत विद्यालय ढुंगेसाँघु–८ बरडाँडा अब ठोट्ने सिंगराज–मनरानी आधारभूत विद्यालय मैवाखोला–२ (चुम्लोक लेकुवा) भएको हो । प्रधानाध्यापक चित्र लिम्बूले नाम परिवर्तनको जानकारी गाउँपालिका, शिक्षा समन्वय इकाई, जिल्ला समन्वय समिति, प्रदेश सरकार, शिक्षक किताबखाना, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, संघीय शिक्षा मन्त्रालय र चन्दादातालाई गराइएको बताए ।


गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नाम र ठेगाना परिवर्तन गरिएको बताए । शिक्षा इकाईका अनुसार चन्दादाताको नाममा विद्यालयको नाम परिवर्तन भएको यो दोस्रो विद्यालय हो । यसअघि फक्ताङलुङ गाउँपालिका–६ लेलेपको सरस्वती माध्यमिक विद्यालयलाई सरस्वती च्यारिबुक मावि बनाइएको थियो । च्यारी विदेशी नागरिक हुन् ।


प्रधानाध्यापक लिम्बूका अनुसार ठोट्नेमा सिंगराज र मनरानीका आठ सन्तानले २७ लाख रुपैयाँ लगानी गरेर खेल मैदान बनाइदिएका छन् । यो ९५ मिटर लम्बाइ र ३२ मिटर चौडाइको छ । यसका लागि ९ रोपनी २ आना जमिन सिंगराज–मनरानीका जेठा छोरा मकरध्वजले विद्यालयका नाममा पास गरिदिएका छन् । यसअघि विद्यालय स्थापना हुँदा ९ रोपनी १४ आना जमिन थियो ।


त्यो पनि आफूहरूले नै दिएको मकरध्वजले बताए । जग्गा र खेलमैदानको मूल्यांकन गर्दा ३५ लाख नपुग्ने भएपछि उनीहरूले नगद ९ लाख ५ हजार ५ सय ५५ रुपैयाँ विद्यालयको खातामा जम्मा गरिदिएको अधिकारीले बताए ।


जेठा छोरा मकरध्वजका अनुसार माइला डम्बरकुमार, साइँला नारायण कुमार, काइँला डम्वरध्वज, अन्तरे टंकप्रसाद, कान्छा कमलप्रसाद र छोरीहरू धनमाया र शिवकुमारी बनेम लिम्बूको लगानी छ । आगामी चैतमा विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने निर्णय आफ्नो परिवारमा भएको पनि मकरध्वजले सुनाए । बालबालिकाको रचनात्मक विकासमा खर्च गर्ने गरी कोष स्थापना गरिदिने उनको भनाइ छ ।

प्रकाशित : मंसिर १४, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?