१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मेची अस्पतालमा चिकित्सक अभाव

२८ जनाको दरबन्दी रहेकोमा, १३ जना मात्र कार्यरत
अर्जुन राजवंशी

(बिर्तामोड) — दरबन्दीका आधा डाक्टर पनि नहुँदा मेची अञ्चल अस्पतालका बिरामीलाई उपचार सेवा पाउनै मुस्किल भएको छ । उनीहरू घण्टौं लाइन बसेपछि मात्र डाक्टर भेटन पाउँछन ।

मेची अस्पतालमा चिकित्सक अभाव

अञ्चल अस्पतालमा दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । २८ जना डाक्टरको दरबन्दी रहेकोमा अहिले १३ जनाले मात्र सेवा दिइरहेको अस्पतालका रेकर्ड अधिकृत मनोजकुमार पोखरेलले जानकारी दिए । ६ जना मेडिकल अफिसरको दरबन्दीमा एक जना मात्र कार्यरत छन् । २१ जना कन्सल्टेन्ट हुनुपर्नेमा ११ जनाले सेवा दिइरहेको पोखरेलले बताए । अस्पतालमा एनेस्थेसियोलोजिस्ट, नाक, कान, घाँटीका र साइकेटिक डाक्टर छैनन् । बालरोगका ३ जना डाक्टर हुनुपर्नेमा एक जना तथा स्त्रीरोग विशेषज्ञ ३ जना हुनुपर्नेमा २ जनाले काम चलाइरहेको पोखरेलको भनाइ छ । अस्पतालमा चार वर्षदेखि इएनटी सर्जन छैनन् । साइकेटिक, प्याथोलोजिस्ट र इमरजेन्सी इन्चार्ज दरबन्दीअनुसार अहिलेसम्म नआएको पोखरेलले जानकारी दिए । सधैं डाक्टरको अभाव झेलिरहेको अञ्चल अस्पताल रेफर सेन्टर मात्र बनेको जिल्लाबासीको गुनासो छ ।


अस्पतालले ५० शय्याको स्वीकृति पाएकोमा अहिले १३४ शय्याको सेवा प्रदान गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताए । ०५० सालमा सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी १०३ जनाको दरबन्दी कायम गरेको थियो । अहिले बेड संख्या झण्डै तेब्बर बढी भएकोमा ५० शय्याकै दरबन्दीअनुसारका डाक्टर समेत नहुँदा जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न गाह्रो भइरहेको मेसु ठाकुरले बताए । डाक्टर र भौतिक संरचना अभावमा आइसीयू तीन शय्याबाट बढाउन सकिएको छैन । साविकको मेची अञ्चलको ठूलो सरकारी अस्पताल भएपनि सीटीस्क्यान, एनआईसीयूलगायत सेवा समेत दिन नसकिएको ठाकुरले बताए ।


अस्पतालमा स्टाफ नर्स, फार्मेसी सहायक, ल्याब असिष्टेन्ट, अनमी, अहेव, सवारी चालक, कार्यालय सहयोगी, खरिदारलगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीको पनि अभाव छ । स्वास्थ्यकर्मी र कर्मचारी गरी १०३ जनाको दरबन्दी रहेकोमा ५७ जना मात्र उपलब्ध छन् । विरामीको चापअनुसार सेवा प्रदान गर्न थप ८२ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई करारमा राखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । ‘अस्पतालले झेलिरहेको डाक्टर तथा उपकरण अभाव अन्त्य गर्न प्रदेश सरकारसँग निरन्तर छलफल गरिरहेका छौं,’ उनले भने, ‘आशा छ, सरकारले चाडै यी समस्याको पूर्ति गरिदिने छ । हामी चाडै यो अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्नेछौं ।’


प्रकाशित : मंसिर १३, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?