२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कांग्रेसलाई नेकपाका बारेमा चिन्ता नलिन दाहालको आग्रह

प्रदीप मेन्याङ्बो

सुनसरी — मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपाका बारेमा कांग्रेसलाई चिन्ता नगर्न आग्रह गरेका छन् । उनले कांग्रेसको अवस्था आफ्नै कारणले खस्किएकोले आफ्नै चिन्ता गर्न कांग्रेस नेताहरुलाई सुझाव दिए ।

कांग्रेसलाई नेकपाका बारेमा चिन्ता नलिन दाहालको आग्रह

‘कांग्रेसले यस्तै प्रवृत्ति देखाएमा कुनै दिन कांग्रेस पनि थियो रे भन्ने दिन आउन सक्छ । बत्ति बालेर खोज्ने दिन आउन सक्छ,’ दाहालले भने । आफूहरुले कांग्रेसलाई गतिलो प्रतिपक्षीको रूपमा देख्न चाहेकोले कांग्रेसलाई कम्युनिष्टविरुद्ध नलाग्न आग्रह समेत गरे ।

धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘जसरी राष्ट्रपति महिला समुदायबाट हुनुभएको छ त्यसरी नै भविष्यमा नेकपाकै प्रस्तावमा समावेशी प्रतिनिधित्वको आधारमा आदिवासी–जनजाति महिला र मधेसी समुदायबाट पनि प्रधानमन्त्री बन्नेछन् ।’

यस्तै नेकपा संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले मुलुकको विकास गर्ने दल नेकपामात्र भएको बताए । प्रधानमन्त्रीकै सक्रियतामा भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी फर्काउन पहल भइरहेको बताए । उनले भने, ‘तर यसै विषयलाई कांग्रेसले चुनावी एजेण्डा बनाएर नेकपा सरकार कमजोर रहेको देखाउन खोजेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग रहेकाले नेपालको एक इञ्च जमिन पनि हड्पेको सहदैनौं । र अर्काको एक इञ्च जमिन चाहिँदैन ।’

यसअघि धरानमै आयोजित आमसभामा कांग्रेसका केन्द्रीय नेताहरुले धरानवासीलाई मंसिर १४ गते हुने उप–निर्वाचनमा मत र मन बदलेर कांग्रेसलाई भोट दिँदै कम्युनिष्टलाई सच्चिने मौका दिन आग्रह गरेका थिए । सभापति शेरबहादुर देउवालगायत नेताहरुले कम्युनिष्ट सरकारले जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्र विरुद्ध वर्तमान सरकारले धावा बोलीरहेको आरोप लगाएका थिए ।


प्रकाशित : मंसिर ११, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?