उपनिर्वाचन लक्षित धरानमा बम विस्फोट गर्ने चन्द समूहको योजना असफल, ९ जना पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर बम विस्फोट गर्ने र चन्दा उठाउने तयारीमा रहेका नेत्रविक्रम चन्द समूहका ९ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार राति धरानको भानुचोक र धरान-१५ स्थित निराजन बस्तीबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रही नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

प्रहरीले पहिले साँझ साढे ६ बजे धरान-८ भोटेपुल बस्ने रमेश भन्ने कुमार ढकाललाई भानुचोकबाट नियन्त्रणमा लिएको थियो । ढकाल पूर्व वाइसिएल नेता हुन् । ढकालकै बयानकाआधारमा थप ८ जनालाई पक्राउ गरेको थियो ।


उनीहरु आठैजनालाई धरान-१५ का वडाध्यक्ष नरेश इङ्वारमको पुरानो घरबाट पक्राउ गरिएको थियो । त्यहाँबाट पक्राउ पर्नेहरुमा सुवास राई, संजेस राई, दिपेन्द्र राई, उदिप रसाइली, प्रविन राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई रहेका छन् । पक्राउ पर्नेहरु मध्ये संजेस र रमेश धरान-८ भोटेपुलमा बस्दै आएका हुन् भने बाँकी संखुवासभाको सिलिचोङ-३ ताम्कु बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

चन्द कार्यकर्ताहरु वडाअध्यक्ष इवारमको पुरानो घर भाडामा लिएर धरानमा चन्दा आतंकसँगै उपनिर्वाचन बिथोल्न प्रेसर कुकर बम बनाउने योजनामा थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेपछिमात्र आफ्नो पुरानो घरमा भाडामा बसेका व्यक्तिहरु चन्द कार्यकर्ता रहेको थाहा भएको वडाध्यक्ष इङ्वारमले बताए ।

इप्रकाका प्रनाउ न्यौपानेका अनुसार उनीहरुकासाथबाट धरानका विभिन्न व्यापारीबाट चन्दा उठाएर जम्मा गरेको १ लाख १२ हजार ५ सय रुपैयाँ, एउटा अढाइ लिटरको नयाँ प्रेसर कुकर, चन्दको हस्ताक्षर भएको आर्थिक सहयोगको अपिल रसिद २ थान , मोटरसाइकल २ थान, मोवाइल सेट १० थान र सिम १२ थान बरामद भएको छ ।

प्रहरीले चन्द समूहका कार्यकर्ताहरुले मंसिर १४ गते धरानमा हुने उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्ने र चन्दा आतंक मचाउने तयारी गरिरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?