निरन्तर धार्मिक अनुष्ठान

बिर्तामोड — झापा धार्मिक अनुष्ठानमय बनेको छ । धार्मिकस्थलहरूमा एकपछि अर्को अनुष्ठानका कार्यक्रमहरू आयोजना गरिएका छन् । जिल्लाकै प्रमुख धार्मिकस्थल अर्जुनधारा जलेश्वर धाम परिसरमा ३७ औं अनुष्ठान चलिरहेको छ ।

मंसिर २ देखि सुरु भएको अनुष्ठानमा सप्ताहव्यापी वामन पुराण समेत आयोजना गरिएको छ । अनुष्ठानमा बिहीबारदेखि आँखा परीक्षण तथा चश्मा वितरण शिविर सुरु भएको छ । आगामी सोमबारमम्म चल्ने अनुष्ठान अर्जुनधारा जलेश्वर धामको वार्षिक कार्यक्रम हो ।


०४० सालदेखि धाम परिसरमा नियमित अनुष्ठान कार्यक्रम आयोजना गर्दै आएको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । बाला चतुर्दशीका दिन अर्जुनधारा धाममा सतबीज छर्नेको ठूलो मेला लाग्ने गरेको छ । चार बिघा क्षेत्रफलमा रहेको अर्जुनधाराधाम सरकारले घोषणा गरेको मुलुकका पर्यटन गन्तव्यहरू मध्येको एक हो ।


जिल्लाकै अर्को प्रमुख धार्मिकस्थल शिवसताक्षी नगरपालिकास्थित सतासीधाम परिसरमा कोटीहोमसहितको धार्मिक महोत्सव चलिरहेको छ । कात्तिक अन्तिम सातादेखि भइरहेको महोत्सवमा दैनिक पूजापाठ भइरहेको छ । महोत्सवलाई उल्लेख्य संख्यामा भक्तजनले अवलोकन गरेका छन् ।


आयोजक समितिअनुसार महोत्सवको सातौं दिनसम्ममा मुलुकका ५३ जिल्लाका भक्तजन सहभागी भए । बाला चतुर्दशीका दिनसम्म चल्ने महोत्सवमा दैनिक धार्मिक कथा वाचन, ब्राह्मणहरूद्वारा हवन तथा सन्ध्याकालिन गंगा आरती गर्ने गरिन्छ ।सतासीधाम परिसरको विकासका लागि पाँच बर्षदेखि धार्मिक महोत्सव आयोजना गर्दै आएको अयोजक समितिका सदस्य सचिव डिल्ली नेपालले बताए । महोत्सव आयोजनामा करिब ३ करोड खर्च हुने तथा ५ करोड बढी भेटी संकलन हुने आयोजक समितिको विश्वास छ ।


जिल्लाकै बाह्रदशी गाउँपालिका १ भागुडुब्बामा बिहीबारदेखि धार्मिक मेला सुरु भएको छ । भागुडुब्बा बजारमा रहेको पुरानो कालि मन्दिरमा २० बर्षपछि कालि पूजासहितको मेला आयोजना गरेको वडाध्यक्ष शम्भु राजवंशीले जानकारी दिए । लामो इतिहास बोकेको उक्त मन्दिरलाई राजवंशी समुदायले संरक्षण गर्दै आएका छन् । मेलामा राजवंशी समुदायको सांस्कृतिक नृत्यहरू समेत प्रदर्शन गरिने उनले बताए ।


दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा किराँत धर्मावलम्बीहरूको तीनदिने पूजा चलिरहेको छ । बुधबारदेखि सुरु भएको पूजामा एक दर्जनबढी किराँत गुरुहरूद्वारा पूजापाठ गर्ने कार्यक्रम चलिरहेको सुमन राईले बताए । गौरादह नगरपालिकामा आगामी सोमबारदेखि साताव्यापी आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव आयोजना हुँदैछ । गौरादह–३ मा करीब तीन बिघा क्षेत्रफलमा आयोजना गरिने महोत्सवमा विश्व चर्चित शक्तिपीठहरूको प्रतिमा स्थापना, गंगा आरती, गौशाला स्थापना, एक करोड लक्ष्यदीप प्रज्वलन, विभिन्न भाषभाषीको सांस्कृतिक प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

प्रकाशित : मंसिर ७, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?