उदयपुरमा घट्यो बासमती उत्पादन

लागतअनुसार उत्पादन र मूल्य नपाएको भन्दै किसान रैथाने बासमती छाडेर अन्य जातका धानमा आकर्षित 
डिल्लीराम खतिवडा, आनन्द गौतम

(उदयपुर) र (ताप्लेजुङ) — पछिल्लो समय स्थानीय बासमती धानको उत्पादन कम हुँदै गएको छ । अन्य वर्णसंकर (हाइर्विड) जातका धानको उत्पादन बृद्धिसंगै रैथाने बासमतीको उत्पादन घटेको हो । धानमध्ये बासमति उच्चकोटीको मानिन्छ ।

धानमा विभिन्न किसिमका किराको आक्रमण र सिँचाइ अभावले उत्पादनमा ह्रास आएको हो । खासगरी त्रियुगा नदी तटीय क्षेत्रमा पाइने रैथाने बासमति (सेतो/कालो) को उत्पादन घटेको छ ।

लागतअनुसार उत्पादन कम, समय पनि बढी लाग्ने भएकाले दशकयता कम खेती गर्न थालिएको किसानले बताए । बासमतिको वासना समेत हराउँदै गएकोले किसानले अन्य धान लगाउन थालेका छन् ।

कृतिम बास्ना हुने आयातित बासमतिले बजार ओगटेकाले सक्कली वासमति विस्थापित हुदै गएको किसान मानबहादुर राउतले बताए ।

‘किसान बासमतीको साटो, छोटो समयमा तयार हुने धेरै उत्पादन दिने उन्नत जातको धानखेतीमा आकर्षित भए,’ चौदण्डीगढी नगरपालिका १० हडियाका बिेचनदास चौधरीले भने, ‘वासमती, करियाकामत (कालो वासमति) र चनमचुरले पहिलेजस्तो उत्पादन दिन छोडे ।’ त्यसैले अहिले किसानले आफूलाई खान पुग्ने मात्र खेती गर्ने गरेको उनको भनाइ छ ।

त्रियुगा नदि किनारका खेतमा अहिले पहिलेजस्तो बासमति खेती नहुने चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीले बताए । ‘बाजेले १० बिघा खेतमा बासमती खेती गर्दै आउनुभएको थियो,’ उनले भने, ‘बुबाले ३/४ बिघामा वासमति लगाउनुभएको थियो । अहिले पहिले जस्तो जग्गापनि छैन, रोपेपनि फल्दैन ।’ उनले यस बर्ष १५ कठ्ठामामात्रै वासमति धानको खेती गरेका छन् ।

स्थानीय बजारमा अहिले वासमिति धानको चामल १ सय ३० रुपैया किलोग्राम मूल्य पर्ने गरेको छ । हाइब्रिड धानको विकाससंगै परम्परागत धान लोप हुदै गएको छ । ‘बासमतिको समेत उन्नत जातको बिउ आएको छ तर यसमा पहिलेजस्तो बास्ना आउँदैन,’ त्रियुगा नगरपालिका–६ चुहाडेका कृष्णबहादुर राईले भने, ‘धानमा पर्याप्त सिँचाइ र कम्पोष्ट मलको प्रयोग गर्न नसक्दा वासमति लगायतका धान लोप भए ।’

जलवायु परिर्वतनसंगै खोला नाला सुकेका र किसानले गाईबस्तु पाल्न छोडेका कारण कम्पोष्ट मल उत्पादन नभएको कृषि विज्ञ वताउछन । उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये ७ हजार ३ सय ३ हेक्टरमा मात्रै सिचाई सुविधा छ ।

मानोले मुरी फलाउँछन् बेंसी
ताप्लेजुङको मिक्वाखोला–२ खोक्लिङको खुर्पादिन बेंसीका देवेन्द्र गुरागाईं मंसिरका दिनमा एउटा खला खेतबाट कम्तीमा ६० मुरी धान भित्र्याउँछन् । बेंसीमै घर भएका उनी अहिले धान काटेर पाँजा फिँजाइरहेका छन् ।

राम्रो घाम लागे तीन/चार दिन पाँजा सुकाएपछि झार्ने र ढुकुटीमा हाल्ने समय हुन्छ । यो साल पनि बाला राम्रै लागेकाले विगतकै जस्तो उत्पादन हुने उनको आशा छ । यहाँ स्थानयले मसिनो दाना भएको बासना आउने धानको बिउ रोप्दै आएका छन ।

आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनको ढुङ्गे बेंसिमा पनि यस्तै धान फल्छ । सदरमुकाम फुङलिङनजिकैको बस्तीबाट बसाइ सरी गएका काशीराम निरौला ७ पाथीको बिउ उमारेर धान रोप्छन् । कम्तिमा ३० मुरी धान भित्र्याउछन ।

पहिला बेलगुठि, मसिनो, काँटी जस्ता धानको विउ लगाउने उनले अहिले राधे र चम्पासरी लगाउन थालेका छन । यी जातको चामल नरम र खान योग्य हुने उनको बुझाइ छ ।

तमोर र कावेली नदी आसपासको औल क्षेत्रका किसानले एक मानो बिउ रोपेर एक मुरी धान फलाउने गरेका छन । हालै खुर्पादिनमा आयोजित एक कार्यक्रममा प्रजिअ डोरेन्द्र निरौलाले भनेका थिए, ‘हिमाली जिल्लामा पनि मानोको मुरी फल्नु राम्रो उत्पादन हो ।’ हिमाली जिल्लामा यस्तो उत्पादन किसानका लागि आकर्षक भएको उनको बुझाइ छ । खोक्लिङको आङले, भोटेवारी, निगुरादिनको फुगुवा, नावु, झोलुङगे बेंसि धानका लागि चर्चित हुन । यी बेसिंमा अहिले पनि भुस बताउनुनपर्ने, पूर्ण चामल भरिएको धान फल्ने किसान निलप्रसाद भेटवाल वताउँछन ।

फुलवारी, हाङपाङ, लिंखम, आम्वेगुदिन, खेवाङ, थेचम्वू, थुम्वेदिन, सिनामका बेंसि पनि धान उत्पादनमा चर्चित छन् । प्रत्येक वर्ष धान किन्ने, मिलमा पिसाउने र चामल बनाउने फुङलिङकी कमला राजभण्डारी खोक्लिङ र निगुरादिनको धान पहिलो रोजाइ भएको वताउँछिन । उनका अनुसार यहाँको धान एक मुरी (२० पाथी) पिसाउँदा कम्तिमा १० पाथी चामल बस्छ ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा ११ हजार हेक्टर क्षेत्रफलमा धानवाली लाग्छ । सिंचित, असिंचित र चैतेगरी २७ हजार ट्रनको हाराहारिमा उत्पादन भएको छ । पछिल्ला वर्ष अलैंची खेतीका कारण उत्पादन क्षेत्र केही घटेको छ । जिल्लामा सिंचित ५, असिंचित ५ हजार हेक्टर र चैतेधान ९० हेक्टरमा उत्पादन हुने गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७६ ११:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पर्यटकीय क्षेत्र पूर्वाधारविहीन

कान्तिपुर संवाददाता

तेह्रथुम — जिल्लाको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पूर्वाधार नहुँदा पर्यटकीय गतिविधि फस्टाउन सकेको छैन । यो क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको छ । यहाँ सडक, सुरक्षा, स्वास्थ्य, सञ्चार, होटललगायतका कुनै पनि पूर्वाधार निर्माणमा सरकारको ध्यान नदिएको स्थानीयको गुनासो छ ।

एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टिएमजेलाई सरकारले हालै नयाँ पर्यटकीय गन्तव्यमा समेटेको छ । कुम्भकर्ण, मकालु र कञ्चनजंगा हिमालको आधार शिविर जाने मुख्य पदमार्ग रहेको टिएमजे क्षेत्रमा पर्यटकलाई आधारभुत सुविधा समेत नभएको गुफा बजारकी हिमा खनालले बताइन् ।

गुफा बजार टिएमजे क्षेत्रको पदमार्गमा पर्छ । पर्यटकलाई बास बसाउने व्यवस्थासम्म गर्न नसकिएको चौकी बजारका होटल सञ्चालक उदयकुमार तामाङले बताए । चौकी बजारमा थोरै मात्र होटल छन् । तिनमा सय जना पर्यटक पनि अटाउन नसकिने तामाङको भनाइ छ । पुर्वी तराईबाट नजीक रहेको यो क्षेत्रमा पर्यटकका लागि आधारभुत सेवासुविधा निर्माण गर्नेतर्फ स्थानीय तहले समेत ध्यान दिएका छैनन् । पूर्वाधार निर्माणमा केही रकम खर्चिए पनि पर्याप्त नभएको मेन्छ्यायाम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए । तीन जिल्लाको संगम भएकाले एउटा मात्र स्थानीय तहले खर्च गर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित : मंसिर ५, २०७६ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×