कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मजदुरीबाट जनप्रतिनिधि

दलित र मधेसी महिला वडा सदस्यहरु जनप्रतिनिधिको जिम्मेवारीले जीवनशैलीमा परिवर्तन अनुभव गरिरहेका छन् 
विनु तिम्सिना

(विराटनगर) — मोरङको सुनवर्षी नगरपालिका–५ की गल्छीदेवी ऋषिदेवको दिनचर्या फेरिएको छ । पहिले ज्याला मजदुरीमा खटिने उनी अहिले वडा सदस्य छिन् । 

मजदुरीबाट जनप्रतिनिधि

ज्यालामा ठगिँदा पनि चुप बस्ने उनी अहिले मान्छे जुटाएर भाषण गर्छिन् । अधिकारका कुरा गर्छिन् ।


उनका छोरा कांग्रेस समर्थक हुन् । स्थानीय केही नेतासँग चिनजान पनि थियो । त्यही आधारमा पार्टीले गल्छीदेवीलाई दलित महिला सदस्यको टिकट दिने निर्णय गर्‍यो । तर पति पवनले मानेनन् । ‘श्रीमान् रिसाएर घर छाडेर इटहरा गएपछि मलाई पनि निर्वाचनमा उठ्न मन लागेन । तर छोराको जिद्दीका कारण उठ्नै पर्‍यो,’ उनले भनिन्, ‘न राजनीति थाहा थियो न त चुनाव जितेर के गर्ने भन्ने । तैपनि जनताको घरदैलोमा गएँ ।’


घर छाडेर हिँडेका पति गल्छीदेवीले चुनाव जितेपछि मात्रै फर्किए । अहिले उनी आफैं पत्नीलाई नगरपालिकाको बैठक र अन्य कार्यक्रममा सहभागी हुन हौसला दिन्छन् । ‘अहिले गाउँघरमा मान्छेले मैले भनेको मान्छन्, इज्जत गर्छन्, समस्या केही पर्‍यो भने सुनाउँछन्,’ गल्छीदेवीले भनिन्, ‘बूढाले पनि अचेल सहयोग गर्छन् ।’


सुनवर्षी नगरपालिकाकै चिन्तामनी राजवंशी ७ नम्बर वडाको महिला सदस्य चुनिएकी छन् । समाजवादी पार्टीबाट निर्वाचित उनलाई पहिले राजनीतिमा चासो थिएन ।


‘घर वरिपरि केही समस्या आइपरे या कसैको झैझगडा भए म प्रहरी कार्यालय लैजान पहल गर्थें,’ उनले भनिन्, ‘त्यही देखेर साथीहरूले मेरो नाम सिफारिस गरिदिएछन् । सुरुमा डर लागेर हुन्न भनेकी थिएँ ।’ कतारमा रहेका पतिले हौसला दिएपछि भने उनी चुनाव उठ्न राजी भइन् ।


चिन्तामनीका अनुसार अहिले पनि पुरुषहरूले महिलाका कुरा त्यति सुन्दैनन् । उनीसँग समस्या लिएर आउने पनि महिला नै छन् । पहिले गाउँघरमा केही पर्दा आउन अप्ठ्यारो मान्ने प्रहरी अहिले भने सजिलै आउने गरेको उनको अनुभव छ ।


वडा सदस्य भएपछि महिलाहरूले आफूहरूमा नेतृत्व क्षमता विकास भएको ठानेका छन् । सामान्य मोबाइल पनि चलाउन नजान्ने उनीहरू अहिले स्मार्ट फोन बोक्छन् । ‘अहिले त धेरै बोल्न सक्ने, आफ्ना कुरा भन्न सक्ने भएका छौं,’ चिन्तामनीले भनिन्, ‘पहिले त राम्रोसँग आफ्नो नाम भन्न पनि लाज लाग्थ्यो ।’ अब वडाध्यक्षमै प्रतिस्पर्धा गर्ने हिम्मत बढेको उनले बताइन् ।


संघीयता नआएको भए र संविधानले नै प्रत्येक वडामा एक जना दलित महिला सदस्य र एक जना महिला सदस्य अनिवार्य नगरेको भए आफूहरू अहिले पनि चुलोचौकोमै सीमित हुनुपर्ने उनीहरू ठान्छन् । राजनीतिसँग कुनै साइनो नभएकी जहदा गाउँपालिका–३ की गंगादेवी मलाह पनि अहिले जनप्रतिनिधि छिन् । ‘चुनावअघि त मलाई यो विषयमा केही थाहा थिएन,’ उनले भनिन्, ‘घरधन्दा र खेतीकिसानीमै दिन बित्थ्यो ।’ गंगा अहिले आफ्नो वडामा हुने विकास–निर्माणका काममा सहभागी हुन्छिन् । उनी पनि अब पछि राजनीतिमै सक्रिय हुने सोचमा छिन् ।


विराटनगर महानगरपालिका–१९ मा स्वतन्त्र उठेर सदस्य चुनिएका बिनादेवी सरदार र सम्झना भुजेलको अनुभव अलि फरक छ । राजनीतिमा सक्रिय नभए पनि उनीहरू सामाजिक कार्यकर्ताका रूपमा काम गर्थे ।


बिनादेवी साविकको बैजनाथपुर गाविस–६ स्वास्थ्य स्वयंसेविका थिइन् । त्यही क्रममा साथीहरूले चुनाव उठ्न सुझाव दिए । कांग्रेसले उनलाई दलित महिला सदस्यको टिकट दिने पक्का गर्‍यो । तर साथीहरू स्वतन्त्र उम्मेदवार भएपछि उनले टिकट त्यागिदिइन् । ‘राजनीति गर्छु या चुनावमा उठ्छु भन्ने कहिल्यै सोचेको थिइनँ,’ उनले भनिन्, ‘पार्टीले मलाई त टिकट दियो तर साथीहरूले पाएनन् । त्यसपछि सबैले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दियौं ।’ पहिले स्वास्थ्य स्वयंसेविका भए पनि उनी टोलबाट बाहिर निस्कन डर मान्थिन् । अहिले सबैतिर जान्छन् । बोलाउने र सम्मान गर्नेहरू बढेका छन् । अब निरन्तर राजनीतिमै लाग्ने उनको सोच छ ।


महिला सदस्य भुजेल यसअघि सामाजिक संघसंस्थामा काम गर्थिन् । बैजनाथपुरमा प्राय: सबैले चिन्ने भएकाले चुनाव उठे जित्छु भन्ने उनलाई आत्मविश्वास थियो । कांग्रेसप्रति आस्था राखे पनि ठूला नेतासँग पहुँच नहुँदा टिकट पाइनन् । त्यसपछि स्वतन्त्र उम्मेदवारी दिइन् ।


संघसंस्थाबाट पीडितहरूको अगुवाइ गर्दै सरोकारवालासँग अधिकार माग्दा र अहिले आफू अधिकार दिने ठाउँमा बस्दाको अनुभव फरक भएको उनी बताउँछिन् । ‘पहिले अधिकारका लागि आवाज उठाइन्थ्यो, अहिले अधिकार दिने ठाउँमा आफू छु,’ उनले भनिन्, ‘बोल्नु र गर्नुमा धेरै फरक हुँदो रहेछ । बोलेका कुरा समयमै पूरा गर्न नसक्दा दु:ख लाग्छ ।’

प्रकाशित : मंसिर ४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?