कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहाल बन्यो पर्यटकीय गन्तव्य

साङडाँडाबाट गुराँसे पोखरीसम्म कच्ची मोटरबाटो, वरिपरि घुम्ने पैदलमार्ग, पोखरीको घेराबारामा २५ लाख रूपैयाँ खर्च
आनन्द गौतम

(ताप्लेजुङ) — मेरिङदेन गाउँपालिकाले गुराँसे पोखरीलाई पर्यटकीय स्थलका रुपमा विकास गरेको छ । पहिला भैंसी आहाल बस्ने यो पोखरी फराकिलो बनाइएको छ । यसको वरिपरि बार पनि लगाइएको छ । यहाँका गुराँस फुल्ने रुखलाई संरक्षण पनि गरिएको छ ।

आहाल बन्यो पर्यटकीय गन्तव्य

यहाँ आउने पर्यटकका लागि वरिपरि घुम्ने पैदलमार्ग व्यवस्थित बनाइएको छ । बस्नेका लागि फलैंचा बनाइएको छ । गाउँपालिका अध्यक्ष गणेश लिम्बूका अनुसार पोखरी स्तरोन्नतिमा २५ लाख रुपैयाँ खर्च भयो ।


साङडाँडाबाट पोखरीसम्म कच्ची मोटरवाटो, वरिपरि घुम्ने पैदलमार्ग, पोखरीको घेराबारामा यो रकम खर्च भएको हो । अहिले गाउँपालिकामा आउने अतिथिलाई घुमाउन यहाँ लैजाने गरिएको छ । गाउँपालिकाले ‘जौं है गुराँसे पोखरी घुम्नलाई’ भन्ने नारा नै बनाएको छ ।


पाथीभरा याङवरक गाउँपालिकाले वडा ३ तिरिङगेको धाप पोखरीलाई पर्यटकिय गन्तव्य वनाएको छ । गत वर्ष पर्यटन बिकास कार्यक्रम अन्तर्गत सम्भाब्यता अध्ययन गरेको पालिकाले पोखरी निर्माण गर्ने, पिकनिक स्पोर्ट बनाउने योजना बनाएको छ । यही क्षेत्रमा रहेका डाँडाँहरूलाइ भ्यू टावरका रुपमा विकास गरिने भएको छ । गुफाहरूमा पर्यटक घुम्ने मिल्ने गरी तयारी मिलाइएको छ । सदरमुकाम फुङलिङबाट पनि सुकेटार देउराली हुँदै पुगीने क्षेत्र गाउँपालिकाबाट नजिकै भएकाले आकर्षक बनाउन अध्ययन गरिएको अध्यक्ष केशर मेन्याङवोले बताए ।


मेरिङदेन र पाथीभरा याङवरक मात्रै नभएर जिल्लाका हरेक स्थानिय तह आफ्नो पर्यटकिय गन्तब्य वनाउन लागेका छन । पहिल्यै चर्चामा रहेका स्थल भएका पालिकाहरू त्यसलाइ ब्यवस्थित गर्ने तयारीमा छन् । अझ, नेपाल भ्रमण वर्ष २०२० नजिकिइसकेको र पर्यटन मन्त्रीको जिल्ला पनि भएकाले थल लगानी गर्नुपर्ने दवाव हरेक तहलाइ छ ।


जिल्लामा एक नगरपालिका र ८ गाउँपालिका छन । पूर्वको सिदिङवामा तिम्वुङपोखरी छ । यसलाइ सरकारले सय पर्यटकिय गन्तब्यमा समेटेको छ । पूर्वाधार निर्माणका लागि गतवर्ष ५० लाख रुपैंयासमेत उपलब्ध गराएको थियो । गाउँपालिकाले यस्को प्रचारका लागि महोत्सव पनि गरेको अध्यक्ष नरवहादुर कडरिया बताउँछन् । कडरियाका अनुसार पोखरीको अलावा मेहेलेमा रहेको ढ्वाङढ्वाङे झरनाको विकास र प्रचारमा पनि गाउँपालिका लागेको छ । बाह्रैमहिना बगिरहने झरना ढ्वाङ ढ्वाङ गरेर झर्ने भएकाले यस्लाइ यही नामकरण गरिएको बुढापाका बताउँछन् ।


मिक्वाखोलामा ४, साँवामा फुङफुङे झरना छ । यस्लाइ पनि सय गन्तब्यमा समेटिएको छ । तर तिम्वुङपोखरीमा जस्तो सरकारले यहाँ ठुलो बजेट छुट्याएको छैन । पर्यटन विकास समिति इलामबाट पहिला केही वजेट आएको र अहिले गाउँपालिकाले ध्यान प्युाएको प्रवक्ता डन्डु शेर्पा बताउँछन । शेर्पाका अनुसार मोटरवाटो झरनाको नजिकै पुगेकाले सदरमुकाम आउने हरेक ब्यक्तिलाई यहाँ पुर्‍याउने गरिको तयारी भइरहेको छ ।


तोक्पेगोला, भूत पोखरीलगायत भएकाले यो प्रशस्तै पर्यटकिय स्थल भएको गाउँपालिका पनि हो । फक्ताङलुङ र सिरिजंगा गाउँपालिकामा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघालगायत ७ हजार मिटरमाथिका ११ हिमाल छन् । यी दुवै गाउँपालिका भएर वर्षमा एक हजारको हाराहारिमा विदेशी पर्यटक आउँछन् ।

प्रकाशित : मंसिर ४, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?