२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सामूहिक खेतीमा युवा

‘बिरूवा उमार्न र तापक्रम मिलाउन नसक्दा सुरूवाती दिनमा घाटा सहनुपर्‍यो, अहिले भने एक वर्षको अनुभवले धेरै कुरा सिकायो’
सुम्निमा चाम्लिङ

(इटहरी) — सुनसरीको बराहक्षेत्र ९, प्रकाशपुर ढोलबजियाका छविलाल चौधरी, रघुवीर चन्द्रवंशी र अमिर निरौला कृषि कर्ममा रमाउन थालेको डेढ वर्ष भयो । कृषि पेसा अँगाल्नुअघि चौधरी अफगानिस्तानमा, चन्द्रवंशी र निरौला भने रोजगारीको क्रममा दक्षिण कोरिया पुगेका थिए ।

सामूहिक खेतीमा युवा

विदेशमा रहे पनि आफ्नै ठाउँमा केही गरौं भन्ने इच्छा उनीहरूको थियो । विदेशमा रहँदा उनीहरूबीच सामाजिक सञ्जालमार्फत उनीहरूको तरकारी खेती गर्ने योजना बन्यो । विदेशबाट फर्किएलगत्तै उनीहरूले सञ्चालकमध्येका छविलालको जमिन करारमा लिएर तरकारी खेती सोच बनाए । उनीहरूले १ बिघा ८ कठ्ठामा ‘टनेल’ बनाएर तरकारी खेती गर्दै आएका छन् । ६ लाख रुपैयाँ लगानीबाट खेती सुरु गरेका हुन् । हाल उनीहरूको दैनिकी फर्ममा बित्ने गरेको छ । बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण कम हुने भएकाले टनेल बनाएर तरकारी खेती गर्दै आएको छविलाल चौधरीले बताए ।


बेमौसमी तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी हुने भएकाले टनेलको प्रयोग गरेको उनको भनाई छ । टनेलभित्र खुर्सानी, बोडी, साग, करेला, परवललगायत तरकारी लगाइएको छ । खुला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनी बताउँछन् ।


रघुवीर र अमिर कोरियामा रहँदा बिदाको समयमा कृषि फार्म पुग्ने गर्थे । त्यहाँको आधुनिक प्रविधिद्वारा गरिएको कृषि फार्म देख्दा उनीहरूलाई नेपालमा पनि गर्न सकिन्छ भन्ने सोच थियो । रघुवीरले भने, ‘विदेशमा प्रविधिबाट खेती भइरहँदा नेपालमा भने परम्परागत रूपमा खेती हुँदा निकै दुःख लाग्थ्यो ।’ छविलालको सामान्य तरकारी खेतीको अनुभवलाई आधार मानेर निरौला र चन्दवंशीले ‘सुन्दर कृषि फर्म’ सुरु गरे ।

गत वर्ष उनीहरूले २० लाखको कारोबार गर्न सफल भएका छन् । तरकारी खेतीबाट हाल मासिक १ लाख रुपैयाँ कमाइ हुने गरेको छ । तीन जनालाई रोजगारी दिएका छन् । ‘बिरुवा उमार्न र तापक्रम मिलाउन नसक्दा सुरुवाती दिनमा घाटा सहनुपर्‍यो,’ अमिरले भने, ‘अहिले भने एक वर्षको अनुभवले धेरै कुरा सिकाएको छ ।’ बिरुवामा लाग्ने किराबारे सचेत हुनुपर्ने उनको भनाइ छ । अत्यधिक नोक्सानी भएपछि भने उनिहरूले जेटिएको परामर्श लिन थालेका छन् । तरकारी खेतीमा मौसम मुख्य चुनौती हुने गरेको छ । समयानुसार तरकारी उत्पादन गर्न सफल भए राम्रो मुनाफा आर्जन गर्न सकिने अमिर बताउँछन् । अर्गानिक तरकारी खेतीमा उनीहरूको प्रयास छ । जैविक मलको प्रयोग बढी गर्ने गरेका छन् । विषादीरहित तरकारी खुवाउने उनीहरूको योजना छ ।


‘नगरवासीलाई सकेसम्म अर्गानिक तरकारी खुवाउने प्रयास गरेका छौं,’ रघुवीरले भने । हाल उनीहरूले सुनसरीभित्र तरकारी निर्यात गर्दै आएका छन् । माग अनुसार उत्पादन गर्न नसकेको उनले बताए । ‘उत्पादन गरिएको तरकारीका लागि बजारको समस्या छैन ।’ उनले भने । यस वर्ष आलु खेती विस्तार गर्ने योजना छ ।


उनीहरूको कामको मूल्यांकन स्वरुप बराहक्षेत्र नगरपालिकाले जेटिए परामर्श व्यवस्था गरिदिएको छ । नगरले गन वर्ष विषादिरहित तरकारी उत्पादनसम्बन्धी तालिम प्रदान गरेको थियो । तालिमपछि विषादिरहित तरकारी उत्पादन गर्नमा थप ज्ञान मिलेको छ । नेपालमा वार्षिक खर्बौं तरकारी आयात हुने गरेको अवस्था छ । यस्तो अवस्थामा केही प्रतिशत भए पनि आयात रोक्ने उनीहरूको लक्ष्य छ ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?