आठपहरिया क्षेत्रमा घरबास सञ्चालन गरिँदै

धनकुटा — धनकुटा नगर क्षेत्रमा बसोबास गर्ने आठपहरिया जातिले घरबास (होमस्टे) सञ्चालन गर्ने भएका छन् । यति बेला मुख्य चाडमध्ये वाडाङ्मेट पर्व मनाइरहेका उनीहरूले आगामी महिनासम्म होमस्टे सञ्चालन गर्ने भएका हुन् ।

आफ्नो जातिको मौलिक संस्कृति तथा खाना समावेश गरेर होमस्टेको तयारी गरिएको आठपहरिया समाजका महासचिव सूर्य आठपहरियाले जानकारी दिए । होमस्टेमा ऐतिहासिक मार्गाथान, ५२ चुलो, श्रीपञ्चमी, चुलिबनलगायत उक्त जातिको मुख्य बसोबास रहेका स्थानमा पाहुनालाई भ्रमण गराउने र मौलिक संस्कृतिले स्वागत गर्ने प्याकेज रहेको उनले बताए ।


‘होमस्टे सञ्चालनका लागि हामी जुट्दै छौं,’ उनले भने, ‘आफ्नो बस्तीमा सरसफाइ र आवश्यक सामग्री खरिद गर्ने कार्य भइसकेको छ ।’ वेशभूषा, गरगहना तथा आवश्यक पर्ने बाजागाजा खरिद गरेको उनले बताए ।

भाषा संरक्षणका लागि नगरपालिकाले कामकाजी भाषाका रुपमा अगाडी बढाउनु पर्ने माग राख्दै आएका उक्त जातिले होमस्टे मार्फत स्वदेश विदेशमा आफ्ना कलाकौशल प्रचार गर्ने माध्यमको रुपमा लिने बताउँछन् । ढोल, झ्याम्टा, पहिरन खरिद भइसकेकाले अन्य तयारीमा आफूहरू जुटेको सञ्चालक समिति संयोजक कोमल किम्दाङले बताए ।


होमस्टेका लागि आठपहरिया समुदायका ३० जनालाई धनकुटा नगरपालिकामार्फत तालिम दिइएको छ । ओक्लालुङ, पिग्मेरी, सान्ताङलगायत क्षेत्रमा होमस्टेका लागि तयारी गरिएको धनकुटा ५ तथा ८ वडाका टम्मुवा, स्वारिफा, पिग्मेरीलगायत लक्षित गरी पहिलो चरणमा तयारी गरिएको उनले जनाए ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?