आचारसंहिता उल्लंघनमा ध्यानाकर्षण

उपनिर्वाचन २०७६
कान्तिपुर संवाददाता

सुनसरी — निर्वाचन अधिकृतको कार्यालयले धरान उपमहागनपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएका ११ स्वतन्त्र उम्मेदवारहरूलाई आइबार चुनाव चिह्न प्रदान गरेको छ । 

निर्वाचन कार्यालयले स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज राईलाई पानीको बोतल, अमृतकुमार राईलाई केटा र केटी, रुद्र बस्नेतलाई क्यामेरा, विशाल थापालाई व्याटमिण्टन कर्क, दावा शेर्पालाई इस्टकोट, एलिसा राईलाई चमेरो, श्याककृष्ण पहाडिलाई, वाकस, मनराज राईलाई व्याट्री, जनार्दज कोइरालालाई क्यालकुलेटर, कुमार भट्टराईलाई काउली र दिनेश श्रेष्ठलाई ज्यावल चुनाव चिन्ह दिएको हो ।

स्वतन्त्र उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेपछि कार्यालयमै विभिन्न राजनितिक दल, प्रहरी प्रसासनका पदाधिकारीको सहभागितामा आयोजित सर्वदलीय छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले आचार संहितामा ध्यान दिन आग्रह गरेका थिए ।

चुनाव प्रचार गर्ने क्रममा आचार संहिता उलंघन गरेर टांसिएका पोस्टर, व्यानरहरू प्रहरीले उप्काउदै ल्याउनुपरेको उल्लेख गर्दै भने, ‘निर्वाचन आचार संहिता र स्थानीय तह निर्वाचन आचार संहितामा स्पस्ट हुदाहुदै पनि धरानमा धेरै ठाउमा विभिन्न राजनितिक दलहरूले उलंघन गरेका पाइएका छन् । हामीले उलंघन भएका पर्चा पोस्टर व्यानर उप्काएर ल्याएका छौं । अवदेखि यसो नगर्न आग्रह गरिन्छ ।’

सर्वदलीय भेलामा उनले दिनभरी चुनावी अभियान भए पनि सांझ परेपछि होटल रेस्टुरामा कार्यकर्ता भेला भएर मद्यपान गरी झैझगडा गर्ने गरेको गुनासो आएकाले सोमबारदेखि उम्मेदवार विजयी घोषणा नभएसम्मकालागि धरानमा सांझ ९ बजेसम्ममात्र होटल रेस्टुरा बन्द हुने बताए । मतदातालाई प्रभावित पार्ने गरी नयां निर्माण कार्य पनि धरानमा मंसिर १४ सम्म बन्द गरिएको तर पहिलै देखि जारी भएको ठेक्का पट्टा निर्माण कार्य भने नरोक्ने उनले बताए । मतदान केन्द्रमा आयोगले आफ्नै कर्मचारी खटाउने भएकाले यसपटक धरान उपमहानगरपालिकाका कर्मचारी र शिक्षक नखटाउने बताए ।

प्रकाशित : मंसिर २, २०७६ १०:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पढाइसँगै सीपले बनायो आत्मनिर्भर

सुम्निमा चाम्लिङ

धरान — हातमा सीप भए आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण यहाँको एक दम्पती बनेको छ । २९ वर्षीय उमेश परियार र ३१ वर्षीया सुनीता राई आफ्नै सीपका कारण स्वाविभानपूर्वक जीवन निर्वाह गरिरहेका छन् ।

उमेश दृष्टिविहिन छन् । सुनिता शारीरीक रुपमा अशक्त । उमेश जन्मजात दृष्टिविहीन हुन् । सुनिता भने १ वर्षको उमेरमा खुट्टामा समस्या भएपछि अशक्त बन्न पुगिन् । आर्थीक रुपमा सक्षम हुनुपर्छ भन्ने मान्यता राख्ने यी दम्पतीले गत वर्षदेखि हाङमाबुङ टेलर्स संचालन गर्दै आएका छन् । महेन्द्र बहुमुखी क्याम्पसको मुल गेट अगाडी उनीहरूको टेलर छ । त्यहाँ महिला पुरुषका सबै प्रकारका कपडा सिलाउने गरिन्छ ।

आजको समयमा समेत अपांगता भएका व्यक्तिलाई समाजले हेयको भावले हेर्ने गरेको यथावत छ । त्यसैले उनीहरू भने समाजमा अरुको साहारामा नबाची आफ्नो बलबुतामा केही गर्न चाहन्छन् । उमेश महेन्द्र क्याम्पसमा स्नातकोत्तर प्रथम वर्षमा र सुनीता स्नातक तेस्रो वर्षमा अध्यनरत छन् । इच्छा शक्तिलाई व्यवहारमा बदल्ने हो भने अपांगले सबलांग सरह केही गर्न सक्छन् भन्ने उनीहरूको बुझाई छ ।

‘शारीरीक रुपमा केही अप्ठ्यारा भएपनी मनमा इच्छा भए गर्न नसकिने भन्ने केही छैन ।’ सुनीता भन्छिन्, ‘मेरो श्रीमान संसार देख्न सक्नुहुन्न । म शारीरीक रुपमा अशक्त छु । तर पनि हामीले हरेस खाएका छैनौ ।’ पढाइलाई निरन्तरता दिने उनीहरूको योजना छ । पढाई खर्च जुटाउनका लागि टेलर्स संचालन गर्न परेको उनको भनाई छ । भोजपुरमा कक्षा १२ को परीक्षा साएर सुनिता धरान झरिन् ।

अपांग पुन स्थापना केन्द्रमा बस्दै दुई वर्षसम्म सिलाईकटाई तालीम सिकिन् । त्यही केन्द्रमा बस्दा उमेश र सुनीताको प्रेम बसेको थियो । केही वर्षको प्रेमसम्बधलाई उनीहरूले विवाहमा परिणत गरे । उमेश पनी सुनीताको साथ पाएपछी जिवनमा अघि बढ्न अझ सहज भएको बताउछन् । पढाई खर्च जुटाउनका लागि टेलर्स संचालन गर्ने योजना बन्यो । आफ्ना नातागोता साथै समाजसेवीहरूको सहयोग र १२ हजार रुपैया ऋण काढेर टेलर सञ्चालनमा आएको हो । हाल टेलर्सको कमाईबाट उनीहरूको घर चलेको छ । पढाइ खर्च जुटेको छ । उमेशले भने, ‘अपांगता भएकाहरूलाई सरकारले छात्रवृत्ति उपलब्ध गराईदिए शिक्षाबाट वन्चित हुनु पर्ने थिएन । तर बाध्यतावश पढाइ खर्चका लागि अन्य पेसा गर्न परेको छ ।’

उमेशले शिक्षा शास्त्रमा स्नातक पुरा गरेका छन् । उनीसंग शिक्षकको लाईसेन्स समेत छ । वर्षौ देखी शिक्षक आयोग खुल्न नसक्दा शिक्षक भएर काम गर्ने उनको सपना अधुरो रहेको छ । दृष्टिविहीन भएकै कारण कुनैपनि क्षेत्रमा रोजगार नपाएको उनको गुनासो छ । सुनीता भने पढाईसंगै सिलाईकटाईलाई निरन्तरता दिन चाहन्छीन् । अपांगता भएकालाई रोजगार पाउन मुस्किल हुने भएकाले टेर्लसलाई व्यवसायीक रुपमा अगाडी बढाउने उनी बताउँछीन् । सरकारको तर्फबाट अपागं भएकाहरूलाई आवश्यक प्रक्रिया पुरा गरी ऋण उपलब्ध गराईदिए व्यवसाय संचालन गर्न सहज हुने दुई दम्पतीको बुझाई छ ।

प्रकाशित : मंसिर २, २०७६ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT