१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रंगेलीमा धमाधम पूर्वाधार

सय वर्षअघि सदरमुकाम विराटनगर सरेपछि विकासमा पछि परेको रंगेली पछिल्लो समय पूर्वाधारयुक्त बन्दै
विनोद भण्डारी

विराटनगर — मोरङको पुरानो सदरमुकाम रंगेलीमा पछिल्लो समय विकास निर्माणका काम धमाधम हुन थालेपछि स्थानीय बासिन्दा उत्साहित बनेका छन् । व्यवस्थित बनाउन बजार क्षेत्रका सडक र ढल निर्माण थालिएको छ । सय वर्ष पुराना घर धमाधम भत्किँदै छन् ।

रंगेलीमा धमाधम पूर्वाधार

विराटनगरदेखि झापाको भद्रपुरसम्म र कानेपोखरीदेखि रंगेली हुँदै भारतीय सीमानासम्म हुलाकी मार्ग निर्माणले तीव्रता लिएसँगै रंगेलीको मुहार फेरिन सुरु भएको हो । विराटनगर भद्रपुर हुलाकी मार्गअन्तर्गत रंगेली क्षेत्रको करिब साढे ७ किमि सडक सय फिट चौडा निर्माण सुरु भएको छ ।


यो काम २ वर्षभित्रमा सम्पन्न हुने छ । यो क्षेत्रमा पर्ने सय वर्ष पुराना ८७ घर भत्कँदै छन् । अहिले सम्म ८० घर सम्बन्धित धनीले स्वतःस्फूर्त भत्काइसकेका छन् । रंगेली नगर प्रमुख दिलीप बगोडियाका अनुसार केहीले घर भत्काउन अटेर गरेकाले निर्माणमा विलम्ब भएको छ ।


बाँकी रहेका घरलाई पनि भत्काउन सम्बन्धीत घरवालालाई निर्देशन दिइएको उल्लेख गदैृ अटेर गरे नगरपालिका आफैंले भत्काउने बताए । २०३४ मा विराटनगर, रंगेली र भद्रपुरसम्मको सडकलाई सहायका मार्गमा वर्गीकरण गरी उक्त सडकको केन्द्र विन्दुवाट दायाँ–बायाँ १५/१५ मिटर चौडा गर्ने राजपत्रमा प्रकाशित भएको थियो । विस १९७१ मा रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सारेपछि रंगेलीको विकास सुस्ताउदै आएको थियो ।

सहरी विकासअन्तर्गतको पूर्वपश्चिम क्षेत्रको विराटनगरदेखि झापाको भद्रपुरसम्मको करिब ८२ किमि हुलाकी सडक निर्माणका लागि ४ अर्ब ८० करोडको लागतमा विभिन्न खण्डमा ठेक्का प्रक्रिया पूरा भएको छ । त्यसैगरी उत्तर दक्षिण खण्डको कानेपोखरीदेखि रंगेली हुलाकी मार्गअन्तर्गत रंगेली नगर क्षेत्रको करिब १० किमि क्षेत्रमा पक्की सडक र ढल निर्माण भइरहेको छ ।


विराटनगरदेखि झापाको गौरिगन्जसम्मको हुलाकी सडक निर्माणका लागि पीएस गजुरमुखी मोतीदान जेभी बानेश्वर, मैनाचुली जेभी भक्तपुर, श्रेष्ठ कन्स्ट्रक्सनलगायत आधा दर्जन बढी कम्पनीले ठेक्का पाएका छन् । ठेक्का पाएका कम्पनीले झापा खण्डको करिब ४० किमि खण्ड निर्माणका लागि १ अर्ब ४२ करोड ८३ लाखमा ठेक्का लिएका छन् । त्यसैगरी मोरङ खण्डको ४२ किमि निर्माणका लागि २ अर्ब ७५ करोड ६८ लाखमा ठेक्का लिएका छन् ।

प्रकाशित : मंसिर २, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?