फड्के तर्न शुल्क

कान्तिपुर संवाददाता

झापा — दक्षिण झापाको सीमावर्ती गाउँका बासिन्दालाई बर्खामा निकै सास्ती हुन्छ । हिउँदमा पनि सुख छैन । बर्खामा मेचीको भेल उर्लन्छ । मेची पारि भारतीय बजार छ । त्यहाँ किनमेलका जान आउन गाह्रो हुन्छ । हिउँदमा पनि नदी तर्न सकिँदैन । फड्के (बाँसको पुल) तर्नुपर्छ । यसका लागि शुल्क तिर्नुपर्छ ।

‘पैसा नतिरी फड्के तर्नै पाइँदैन’, कचनकवल ५ पाठामारीका शिक्षक विजय हजामले भने, ‘सधै पैसा तिर्दा समस्या हुन्छ ।’ स्थानीयको वारपारको समस्यालाई मध्ये नजर गर्दै कचनकवल गाउँपालिकाले विगतका वर्षदेखि मेची नदीमा निरन्तर फड्के निर्माण गर्दै आएको छ । गाउँपालिकाले यो वर्ष ४ लाख २० हजारमा ठेक्का लगाएको छ । स्थानीय जलाल मिया फड्केका ठेकेदार हुन् ।

जलालका अनुसार गत वर्ष तीन वर्षको ठेक्का रकम एक लाख मात्रै थियो । यो वर्ष एक वर्षकै साढे ४ लाखमा लागेको छ । असारको पहिलो साउनदेखि असारको पहिलो सातासम्म फड्के सञ्चालन हुन्छ । त्यसपछि गाउँपालिकाले डुंगा सञ्चालन गर्ने गरेको छ । पाठामारी प्रहरी चौकीका हवल्दार सुवास यादवका अनुसार फड्के तरेवापत स्थानीयले प्रतिव्यक्ति ५ रुपैयाँ, साइकलसहित १० रुपैयाँ र मोटरसाइकलसहित १५ रुपैयाँ तिर्दै आएका छन् ।

२०७२ मा सुरु गरिएको मेचीपारिको नेपाली गाउँ जोड्ने झोलुंगे पुल ४ वर्षमा पनि बनेको छैन । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती पाएको बताए । उनका अनुसार शिलान्यास भएको लामो समय बित्दा पनि पुल निर्माण भएको छैन ।

‘दुईतिर दुईटा पिलरका लागि रड राखेको पनि वर्षौं बितिसक्यो,’ आलमले भने, ‘त्यसपछि ठेकेदार नै सम्पर्कविहीन छन् ।’ उनका अनुसार पुल निर्माण कम्पनीले गाउँपालिकासँग अहिलेसम्म कुनै समन्वय समेत गरेका छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको करिब २ करोड लागतमा पुल निर्माण सुरु गरेको बताइएको छ । आलमले भने, ‘कसले कति लागतमा पुल बनाउँदैछ हामी बेखवर छौ ।’

प्रकाशित : मंसिर १, २०७६ ०९:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उपनिर्वाचन २०७६ : नाच्दै भोट माग्दै

मंसिर १४ नजिकिँदै गर्दा धरान उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार अरुभन्दा फरक देखिएर जनमत तान्ने कसरतमा
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवारहरू चुनावी मैदानमा आफ्नो प्रचार–प्रसार र घरदैलो अभियानसँगै मतदाताको ध्यानाकर्षणका लागि विभिन्न नौला कार्यक्रम गर्न व्यस्त छन् ।

धरानमा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा भए पनि साना दलहरू समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो, संघीय लोकतान्त्रिक मञ्चका अमर इजम, राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राईलगायत उम्मेदवारहरू सामान्य रूपमा प्रचार–प्रसार र घरदैलो अभियानमा सक्रिय छन् ।

नेकपा र कांग्रेसका उम्मेदवार भने आरोप प्रत्यारोपलाई चिर्ने र प्रचार शैलीलाई प्रोपोगण्डा बनाएर मतदाताको ध्यानाकर्षण गर्न थालेका छन् । कांग्रेसका तिलक राई सडक बालबालिकालाई खाना वितरण गररहेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा नेकपाका उम्मेदवार प्रकाश राई टोलटोलमा पुगेर नाच्दै मतदाताको ध्यान खिच्ने प्रयासमा जुटेका छन् ।

नेकपाका उम्मेदवार प्रकास राईले आफू विजयी भएमा धरान उपमहानगरपालिकाले वृद्धि गरेको विभिन्न करको दर घटाउने आश्वासन दिँदै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । कांग्रेसले नेकपा नेतृत्वको धरान उपमहानगरपालिकाले करवृद्धि गरेर जनताको ढाड सेक्ने काममात्र गरेको आरोपल लगाउँदै घरदैलो अभियान चलाइरहेका बेला नेकपाका उम्मेदवार राईले करदाता र कर विज्ञहरूले दिएको सुझाव अनुसार करको दर घटाउने आश्वासन दिएका हुन् ।

आफू निवार्चित भएर गएपछि पहिलो प्राथमिकता नै धरानबासीको माग र आवाजलाई सम्बोधन गर्ने प्रत्येक मतदातासँग बाचा गरिरहेका छन् । धरान १६ जनपदमा भोटमाग्दै पुगेका उनले भने, ‘स्थानीय सरकारले वृद्धि गरेको करको विषयमा चिन्ता नलिनोस् । कर घटाउने विषयमा पहिलो प्राथमिकतामा राख्नेछु । त्यसका लागि करदाता, विज्ञ र सरोकारवाला सबैसँग छलफल गरेर अघि बढ्नेछु ।’

उनले भोटमात्र नमागेर समयले भ्याएसम्म व्यक्तिपिच्छे अन्तक्रिया गर्न थालेका छन् । संघ र प्रदेशमा नेकपाको सरकार हुँदा स्थानीय तहको प्रमुख पदमा कांग्रेसले जिते भइरहेका विकास निर्माणका योजना अलपत्र हुने दाबी गरे ।चुनाव नजिकिँदै जाँदा उनी विद्यार्थी, शिक्षक, व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी, कर्मचारी, संघसंस्थाका पदाधिकारीलगायत प्रत्येक मतदातासँग प्रश्न गरेर पाएको सुझाव टिप्दै भोट मागिरहेका छन् । उनले भने, ‘उम्मेदवारले आफ्नो एजेन्डामात्र मतदातासँग राखेमा लादेको ठहरिने भएकाले आम मतदाताको चाहना, विचार र सुझावलाई लिएर एउटा अवधारण बनाउन मैले मतदातासँग प्रश्न गरेको हुँ । कतिपय कांग्रेसी मतदाताले समेत मलाई धरानको हितमा राम्रो सझाव र सल्लाह दिएका छन् ।’
उनले मतदाताको उमेर, वर्ग, समुदाय, पेसा, जाति धर्म र लिङ्गका आधारमा प्रश्न गरेर सुझाव लिने गरेको बताए । धरानको मेयरले अब के के गर्नुपर्छ ? युवाका लागि कस्तो कार्यक्रम ल्याउन पर्छ ? महिला बालबालिकाका र गृहिणीहरूका लागि थप के गर्न सकिन्छ ? वृद्धवृद्धाका लागि के गर्न सकिन्छ ? जस्ता सामान्य प्रश्न गरेर सुझाव लिने गरेको बताए ।

कांग्रेसका उम्मेदवार तिलक राई भने नेकपाभन्दा फरक शैली अपनाएर घरदैलो अभियानलाई आक्रामक र प्रचारात्मक बनाइरहेका छन् । उम्मेदवार राई धरान १७ टेम्के मागस्थित धरान उपमहानगर स्वर्गीय प्रमुख तारा सुब्बा घरमा छिरेर श्रीमती इन्दु सुव्वा (राई) बाट विजयको आशीर्वाद र जितको शुभकामना दिन अनुरोध गर्न पुगे । स्वर्गीय सुव्वाकी श्रीमती इन्दु नेकपाका उम्मेदवार प्रकास राईको प्रस्तावक हुन् ।

गत २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तारा सुब्बासँग तिलक पराजित भएका थिए । नेकपाकै उम्मेदवारको प्रस्तावकको घरमा भोटमाग्दै आइपुगेका कांग्रेसका उम्मेदवार राईलाई घरायसी काममा व्यस्त रहेकी इन्दुले मुस्काउँदै स्वागत गरेर आशीर्वादसँगै शुभकामना दिइन् ।
यसअघि कांग्रसका उम्मेदवार राईले धरानको भानुचोकमा भोट माग्ने क्रममै आयोजित एक कार्यक्रममा सडक बालबालिकालाई खाद्यान्न वितरण थिए । तर, उनको यो चुनावी स्टन्ट भने प्रत्युत्पादक रह्यो । सडक बालबालिकालाई ‘कुबेलाको खाद्यान्न वितरण’को समाचार र तस्बिर सामाजिक सञ्जालमा हालेपछि सकारात्मकभन्दा नकारात्मक प्रतिक्रियाले फेशबुकका भित्ता भरिए ।

तिलक राईले अरू दलका उम्मेदवारसँग सुनियोजित जम्काभेट, अंकमाल, भलाकुशारी गरेका तस्बिरहरू सामाजिक संजालमा हालेर प्रचार बटुल्ने प्रयास जारी राखेका छन् । धरानका ग्रामीण क्षेत्र र पहाडी भोगमा घरदैलो गरिसकेर मुख्य सहरी क्षेत्रमा मतदाताको ध्यान तान्न सक्रिय उनी कहिले समाजवादी पार्टीका उम्मेदवार पूर्व गोर्खा लाहुरे गजेन्द्र इस्वोसँग अचानक जम्का भेट गर्छन् त कहिले नेकपाका उम्मेदवार प्रकाश राईसँग अंगालोमा बाँधिन पुग्छन् ।

प्रकाशित : मंसिर १, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT