उपनिर्वाचन २०७६ : नाच्दै भोट माग्दै

मंसिर १४ नजिकिँदै गर्दा धरान उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार अरुभन्दा फरक देखिएर जनमत तान्ने कसरतमा
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवारहरू चुनावी मैदानमा आफ्नो प्रचार–प्रसार र घरदैलो अभियानसँगै मतदाताको ध्यानाकर्षणका लागि विभिन्न नौला कार्यक्रम गर्न व्यस्त छन् ।

धरानमा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा भए पनि साना दलहरू समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो, संघीय लोकतान्त्रिक मञ्चका अमर इजम, राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राईलगायत उम्मेदवारहरू सामान्य रूपमा प्रचार–प्रसार र घरदैलो अभियानमा सक्रिय छन् ।


नेकपा र कांग्रेसका उम्मेदवार भने आरोप प्रत्यारोपलाई चिर्ने र प्रचार शैलीलाई प्रोपोगण्डा बनाएर मतदाताको ध्यानाकर्षण गर्न थालेका छन् । कांग्रेसका तिलक राई सडक बालबालिकालाई खाना वितरण गररहेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा नेकपाका उम्मेदवार प्रकाश राई टोलटोलमा पुगेर नाच्दै मतदाताको ध्यान खिच्ने प्रयासमा जुटेका छन् ।


नेकपाका उम्मेदवार प्रकास राईले आफू विजयी भएमा धरान उपमहानगरपालिकाले वृद्धि गरेको विभिन्न करको दर घटाउने आश्वासन दिँदै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । कांग्रेसले नेकपा नेतृत्वको धरान उपमहानगरपालिकाले करवृद्धि गरेर जनताको ढाड सेक्ने काममात्र गरेको आरोपल लगाउँदै घरदैलो अभियान चलाइरहेका बेला नेकपाका उम्मेदवार राईले करदाता र कर विज्ञहरूले दिएको सुझाव अनुसार करको दर घटाउने आश्वासन दिएका हुन् ।


आफू निवार्चित भएर गएपछि पहिलो प्राथमिकता नै धरानबासीको माग र आवाजलाई सम्बोधन गर्ने प्रत्येक मतदातासँग बाचा गरिरहेका छन् । धरान १६ जनपदमा भोटमाग्दै पुगेका उनले भने, ‘स्थानीय सरकारले वृद्धि गरेको करको विषयमा चिन्ता नलिनोस् । कर घटाउने विषयमा पहिलो प्राथमिकतामा राख्नेछु । त्यसका लागि करदाता, विज्ञ र सरोकारवाला सबैसँग छलफल गरेर अघि बढ्नेछु ।’


उनले भोटमात्र नमागेर समयले भ्याएसम्म व्यक्तिपिच्छे अन्तक्रिया गर्न थालेका छन् । संघ र प्रदेशमा नेकपाको सरकार हुँदा स्थानीय तहको प्रमुख पदमा कांग्रेसले जिते भइरहेका विकास निर्माणका योजना अलपत्र हुने दाबी गरे । चुनाव नजिकिँदै जाँदा उनी विद्यार्थी, शिक्षक, व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी, कर्मचारी, संघसंस्थाका पदाधिकारीलगायत प्रत्येक मतदातासँग प्रश्न गरेर पाएको सुझाव टिप्दै भोट मागिरहेका छन् । उनले भने, ‘उम्मेदवारले आफ्नो एजेन्डामात्र मतदातासँग राखेमा लादेको ठहरिने भएकाले आम मतदाताको चाहना, विचार र सुझावलाई लिएर एउटा अवधारण बनाउन मैले मतदातासँग प्रश्न गरेको हुँ । कतिपय कांग्रेसी मतदाताले समेत मलाई धरानको हितमा राम्रो सझाव र सल्लाह दिएका छन् ।’

उनले मतदाताको उमेर, वर्ग, समुदाय, पेसा, जाति धर्म र लिङ्गका आधारमा प्रश्न गरेर सुझाव लिने गरेको बताए । धरानको मेयरले अब के के गर्नुपर्छ ? युवाका लागि कस्तो कार्यक्रम ल्याउन पर्छ ? महिला बालबालिकाका र गृहिणीहरूका लागि थप के गर्न सकिन्छ ? वृद्धवृद्धाका लागि के गर्न सकिन्छ ? जस्ता सामान्य प्रश्न गरेर सुझाव लिने गरेको बताए ।


कांग्रेसका उम्मेदवार तिलक राई भने नेकपाभन्दा फरक शैली अपनाएर घरदैलो अभियानलाई आक्रामक र प्रचारात्मक बनाइरहेका छन् । उम्मेदवार राई धरान १७ टेम्के मागस्थित धरान उपमहानगर स्वर्गीय प्रमुख तारा सुब्बा घरमा छिरेर श्रीमती इन्दु सुव्वा (राई) बाट विजयको आशीर्वाद र जितको शुभकामना दिन अनुरोध गर्न पुगे । स्वर्गीय सुव्वाकी श्रीमती इन्दु नेकपाका उम्मेदवार प्रकास राईको प्रस्तावक हुन् ।


गत २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तारा सुब्बासँग तिलक पराजित भएका थिए । नेकपाकै उम्मेदवारको प्रस्तावकको घरमा भोटमाग्दै आइपुगेका कांग्रेसका उम्मेदवार राईलाई घरायसी काममा व्यस्त रहेकी इन्दुले मुस्काउँदै स्वागत गरेर आशीर्वादसँगै शुभकामना दिइन् ।

यसअघि कांग्रसका उम्मेदवार राईले धरानको भानुचोकमा भोट माग्ने क्रममै आयोजित एक कार्यक्रममा सडक बालबालिकालाई खाद्यान्न वितरण थिए । तर, उनको यो चुनावी स्टन्ट भने प्रत्युत्पादक रह्यो । सडक बालबालिकालाई ‘कुबेलाको खाद्यान्न वितरण’को समाचार र तस्बिर सामाजिक सञ्जालमा हालेपछि सकारात्मकभन्दा नकारात्मक प्रतिक्रियाले फेशबुकका भित्ता भरिए ।


तिलक राईले अरू दलका उम्मेदवारसँग सुनियोजित जम्काभेट, अंकमाल, भलाकुशारी गरेका तस्बिरहरू सामाजिक संजालमा हालेर प्रचार बटुल्ने प्रयास जारी राखेका छन् । धरानका ग्रामीण क्षेत्र र पहाडी भोगमा घरदैलो गरिसकेर मुख्य सहरी क्षेत्रमा मतदाताको ध्यान तान्न सक्रिय उनी कहिले समाजवादी पार्टीका उम्मेदवार पूर्व गोर्खा लाहुरे गजेन्द्र इस्वोसँग अचानक जम्का भेट गर्छन् त कहिले नेकपाका उम्मेदवार प्रकाश राईसँग अंगालोमा बाँधिन पुग्छन् । प्रकाशित : मंसिर १, २०७६ ०९:३८

प्रतिक्रिया
पठाउनुहोस्

संगमलाई उपाधि

कान्तिपुर संवाददाता

रूपन्देही — सुनौलो संगम युवा क्लबले ज्ञानबहादुर गुरुङको स्मृतिमा आयोजित चौथो सयपत्री नकआउट फुटबलको उपाधि जितेको छ । शनिबार फाइनलमा फर्साटिकर युवा क्लबलाई १–० गोलले पराजित गरेको हो ।

रामनगर मैदानमा फर्साटिकरका आकाश रानाले आत्मघाती गोल गरे । संगमका मोहन थापा सर्वोत्कृष्ट भए ।

सुनौलोका कान्छा गुरुङ स्ट्राइकर, युगल थापा गोलकिपर, आशिष गुरुङ रक्षक, फर्साटिकरका ध्रुव राई मिडफिल्डरमा उत्कृष्ट भए । सुनौलोले २ लाख २ हजार र फर्साटिकरले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : मंसिर १, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×