तरकारी बोक्ने गाडीमा यात्रु कोचाकोच

कान्तिपुर संवाददाता

धनकुटा — गाडीमा झट्ट हेर्दा मान्छेको थुप्रो जस्तै देखिन्छ । घुम्ती सडक त्यसै पनि सवारी साधनको यात्रा जोखिमपूर्ण हुन्छ । त्यसमा क्षमताभन्दा चारगुना बढी यात्रु चढाएर तरकारी बोक्ने पिकअपमा वर्षौंदेखि यात्रु ओसार–पसार गरिँदा नियन्त्रण प्रयास भएको छैन ।

यो दृश्य कोसी राजमार्गको धरान धनकुटा सडक खण्डको भेडेटारदेखि धरानसम्म दिनहुँ नियाल्न सकिन्छ । बाटोमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरीको आँखा छलेर ती सवारी साधन सञ्चालन हुँदै आएको छ ।


सुरक्षा जाँच गरिने स्थान अगावै यात्रु ओरालेर हिंडाउने र केही पर पुनः यात्रु चढाउने नियमित प्रक्रिया नै भएको स्थानीयको गुनासो छ । साँगुरीगढी गाउँपालिकाको महाभारतदेखि धरानसम्म ती सवारी साधन चल्ने गरेका छन् ।


तर, सामान्य तरकारी तथा अन्य वस्तु बोक्ने सवारी साधनमा यात्रु चढाउन निषेध गरिनु पर्नेमा हालसम्म त्यसतर्फ सुरक्षा निकायको चासो गएको देखिन्न ।


को१ज २२६६ नं. को पिकअपका चालकले वर्षौंदेखि यसरी नै यात्रु ओसार–पसार गर्दै आएको बताए । आधाजसो कच्ची बाटो र बाँकी भेडेटारदेखि धरानसम्म दिनहुँ यसरी नै यात्रु ओसारपसार गरिन्छ । भेडेटारदेखि धरानको कृषि बजार हुँदै पुरानो बजार भएर चल्ने गाडी यात्रुले भरिएर देख्न नसक्ने गरी चल्ने स्थानीय दीपक राईले बताए ।


‘दिनहुँ यस्तै दृश्य देखिने गर्छ’, उनले भने, ‘आफू नचढे पनि अरू यात्रुले जोखिमपूर्ण यात्रा गरेको देख्दा डर लाग्ने गर्छ ।’ ट्राफिक प्रहरीले पटक–पटक कारबाही स्वरूप जरिवाना गरेको दाबी गरेको छ । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले पटकेका रूपमा कारबाही गरे पनि चरम लापरबाही हुने गरेको बताए ।


भेडेटारका सुरक्षाकर्मीको मद्दतले कारबाही गर्दै आएको उनको भनाइ छ । ग्रामीण क्षेत्रमा सवारी साधन अभाव भएकाले यात्रुबाहक सवारी साधनबाहेक पनि यात्रु ओसार–पसार गरिनेक्रम नरोकिएको खड्का बताउँछन् । धनकुटाबाट धरान जानेक्रममा क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनले प्रहरी चेक पोष्ट पुग्नु अगावै यात्रुलाई उतारेर पैदल हिँडाउने र फेरि केही पर रोकेर चढाउने गरेका छन् । मुलघाट प्रहरी चौकी अगाडि रहेको चेकपोष्टभन्दा माथिल्लो घुम्तीमा यस्तो कार्य गरिने यात्रुले बताए ।


धनकुटाको हिलेदेखि काठमाडौं जाने दिवा सेवाका माइक्रो बसमा स्थानीय प्रशासनले जाँच कडाइ गरेको छ । धनकुटाको जिरो प्वाइन्टमा प्रशासनले सवारी साधनको छड्के जाँच गरेको जनाएको छ ।


दसैं–तिहार जस्ता पर्व सकिँदा पनि दिवा सेवाका माइक्रो बसले अनियमितता गरेको जनगुनासोका आधारमा छड्के गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताए । जाँचका क्रममा चालकले सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, चालकको छेउमा समेत कोचेर यात्रु राखिएको, यात्रुलाई टिकट नदिने जस्ता समस्या फेला पारिएको उनले जानकारी दिए ।


सवारी ऐन विपरीत माइक्रो बस चलाएको भन्दै ट्राफिक प्रहरीले चारवटा माइक्रो बसलाई जरिवाना गरिएको जनाइएको छ । सवारी साधनमा सिट क्षमताभन्दा बढी राखिएका मुडा हटाइएको छ । यात्रुलाई तोकिएको भन्दा बढी भाडा नदिन, सिट क्षमताभन्दा बढी चढेका यात्रु ओरालिएको र अनिवार्य टिकट लिन सचेत गराइएको छ । अनियमितता गर्ने साधनबाट जरिवाना गरिएको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए ।


प्रकाशित : कार्तिक ३०, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?