कैदीबन्दीको उपचारमा समस्या

विनु तिम्सिना

(विराटनगर) — बैंक कसुर मुद्दामा मोरङ जिल्ला कारागारमा कैद भक्तानी गरिरहेका लेटाङ ३ मोरङका २८ वर्षीय असोक राईको असोज ९ गते मृत्यु भयो । कारागार प्रशासनका अनुसार वैशाखमा जिल्ला कारागार मोरङ आएका उनको स्वास्थ्यमा यसअघि खासै कुनै समस्या थिएन ।

केही दिनदेखि सास फेर्न अलिक गाह्रो भइरहेको कुरा उनले बताइरहेका थिए । कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनको समस्यालाई अन्य कर्मचारीले बुझेनन् । सास फेर्न निकै गारो भएपछि उनलाई असोज ९ गते कोशी अञ्चल अस्पताल विराटनगरको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन साँझमा उनको निधन भयो ।

जिल्ला कारागारमा करिब डेढ वर्षदेखि अहेव पद रिक्त छ । लामो समयदेखि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कार्यालय सहयोगी गौरी राजवंशीले कैदीबन्दीहरूको औषधि ल्याउने काम गरिरहेका छन् । साथै बिरामी कैदीबन्दीहरूलाई डाक्टरको सल्लाह अनुसारको औषधि दिने काम पनि कार्यालय सहयोगी राजवंशीले नै गरिरहेका छन् ।

स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीलाई सामान्य समस्या आउँदा पनि अस्पताल लैजानुपर्ने बाध्यता रहेको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । ‘स्वास्थ्यकर्मी हुँदा समान्य स्वास्थ्य समस्याको प्राथमिक उपचार कारागार भित्रै गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर डेढ वर्षदेखि कारागारमा भएको एउटा अहेवको पद पनि रिक्त छ । कैदीबन्दीहरूलाई सामान्य केही समस्या आयो की अस्पताल कुदाइहाल्नु पर्ने समस्या छ ।’
कारागारमा कार्यरत अहेब अञ्जनीकुमार पोखरेलले २०७५ माघ १० गते राजिनामा दिएपछि हालसम्म उक्त दरबन्दीमा स्वास्थ्यकर्मी नियुक्त गरिएको छैन । आफूहरूले यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङमा जानकारी गराए पनि सुनुवाइ नभएको निमित्त जेलर पोखरेलले बताए ।

‘स्वास्थ्यकर्मी नहुँदा हामीलाई निक्कै समस्या छ । स्वास्थ्यकर्मीको काम कार्यालय सहयोगीबाट गराइरहेका छौं,’ उनले भने, ‘यस विषयमा हामीले प्रमुख जिल्ला अधिकारी र कारागार विभागमा पनि जानकारी नगराएको होइनौं तर अहिलेसम्म पदपूर्ति हुन सकेको छैन ।’

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरूमा सामान्य स्वास्थ्य समस्या आउँदा पनि अस्पताल पुर्‍याउनुपर्ने र साथमा नेपाल प्रहरीका सुरक्षाकर्मी पनि पठाउँदा कारागारकै सुरक्षा व्यवस्थामा चुनौती थपिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

जिल्ला कारागारमा २२ जना नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरीको दरबन्दी छ । तर, हाल करिब १० जना नेपाल प्रहरी र ३५ जना सशस्त्र प्रहरी मात्रै कार्यरत रहेको उनले बताए । साथै हरेक दिन कुनै न कुनै बन्दीको अदालतमा पेसी परिरहेको हुन्छ । त्यता पनि नेपाल प्रहरीका सुरक्षा कर्मी खटाउनुपर्ने हुन्छ । यस्तोमा बिरामी भएका कैदीबन्दीलाई सुरक्षाकर्मीको अभावमा अस्पताल लैजान थप समस्या हुने गरेको छ । ‘एउटा बिरामीलाई अस्पताल लैजान पाँचजना सुरक्षाकर्मी खटाउनु पर्छ,’ उनले भने, ‘दरबन्दी अनुसारको सुरक्षाकर्मी नभएका बेला सामान्य समस्या आउँदा पनि पाँचजना सुरक्षाकर्मी खटाएर कैदीबन्दी अस्पताल पुर्‍याउँदा कारागारकै सुरक्षा व्यवस्थामा चुनौती हुन्छ ।’ कारागार विभागलाई पटक–पटक यो विषय जानकारी गराएको उनले बताए । कारागारमा स्वास्थ्य मन्त्रालयले उक्त पदपूर्ति गर्नुपर्ने हुन्छ ।

क्षमताभन्दा बढी कैदीबन्दी कोचेर राखिएका कारण कारागारमा भएका अधिकांश कैदीबन्दीमा स्वासप्रश्वास र छालाको समस्या छ । यस्ता बिरामीले नियमित रूपमा डाक्टरको सल्लाहबमोजिमको औषधि प्रयोग गर्नुपर्ने हुन्छ । स्वास्थ्यकर्मीको अभावमा सामान्य समस्यामा अस्पताल दौडाइहाल्नुपर्ने झन्झट त छँदैछ तर नियमित रूपमा औषधि खाइरहनुपर्ने अन्य बिरामीलाई दिनुपर्ने औषधि ल्याउन र कुन समयमा कुन औषधि खाने हो त्यो ख्वाउन समेत समस्या छ । यस्तोमा गलत औषधिको प्रयोग हुने खतरा रहेको कारागारका प्रशासनले जनाएको छ ।

२ सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ८ सय ९६ जना कैदीबन्दी छन् । जसलेगर्दा सरुवा रोग छिट्टै सर्ने चौकीदार नवीन राईले बताए । एक त क्षमताभन्दा बढी कैदीबन्दी त्यसमाथि स्वास्थ्यकर्मी समेत नहुँदा निकै समस्या हुने गरेको उनले गुनासो गरे । कारागारमा रहेका ८ जना कैदीबन्दी क्षयरोग र ८ जना मानसिक रोगको औषधि नियमित सेवन गरिरहेका छन् । अन्य अधिकांश कैदीबन्दीमा स्वासप्रस्वास, छाला चिलाउने, हातखुट्टा सुन्निने लगायतका स्वास्थ्यसमस्या रहेको उनले बताए । कारागारमा स्वास्थ्यकर्मी नहुँदा कारागारमै कैद भुक्तान गरिरहेका स्वास्थ्य क्षेत्रका जानकारहरूसँग परामर्स गरेर औषधि ख्वाउने गरेको उनले बताए ।

‘लागु औषध प्रयोग मुद्दामा कैद भुक्तानी गरिरहेका कैदीको कहिले काहीं एक्कासि शरीर सुन्निने समस्या देखापर्छ,’ उनले भने, ‘एक त लागु औषध खान नपाएर विक्षिप्त बनिरहेका हुन्छन् त्यसमाथि शरीर सुन्निएपछि डराउँछन् । यस्तोमा उनीहरूलाई परामर्श दिने कोही नहुँदा समस्या हुन्छ ।’

महिला कैदीबन्दीमा समेत छालाको समस्या विकराल रहेको महिला कैदीबन्दीकी चौकीदार जन्नत खातुनले बताइन् । एकजनालाई भएपछि सबैलाई सर्ने गरेका कारण अहिले महिला कैदीबन्दी सबैजसोलाई छाला छिलाउने, दादको समस्या छ । ५० जना महिला कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा हाल ९१ जना महिला र ७ जना बालबालिका छन् ।

प्रकाशित : कार्तिक २९, २०७६ ०९:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपनिर्वाचन २०७६ : विकासका आश्वासन बाँड्दै उम्मेदवार

धरान नगरपालिकाको प्रमुख पदका लागि राजनीतिक दलका १२  र स्वतन्त्र ११ गरी २३ जनाको उम्मेदवारी
प्रदीप मेन्याङ्बो

(सुनसरी) — मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिस्पर्धी दलका प्रत्यासीले धरानको विकास निर्माणलाई मुख्य एजेन्डा बनाएका छन् । धरानमा ११ स्वतन्त्र र १२ राजनीतिक दलकासहित २३ जनाको उम्मेदवारी दर्ता भए पनि नेकपा र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुनेछ ।

प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवारले धरानको विकास निर्माणको भविष्यसँग जोडिएको स्वच्छ खानेपानी, व्यवस्थित बसपार्क, धरान एयरपोर्ट, तीनकुने सुन्दर बस्ती विकास आयोजना, डम्पिङ साइट, सुकुम्बासी समस्या, सर्दु र सेउती करिडोर निर्माणलगायत विषयमा उम्मेदवारहरूले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

नेकपाका उम्मेदवार प्रकाश राईले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि घरदैलो अभियानलाई निरन्तरता दिँदै भने, ‘धरानको विकास निर्माणमा थुप्रै चुनौती र सम्भावना छन् ।

स्थानीय तहको निर्वाचन भएयता धरानको विकास निर्माणको ढोका खोलिएको छ । धरानलाई अब अरू उपमहानगरभन्दा फरक बनाएर विकास निर्माणको नमुना बनाउनु मेरो एजेन्डा हो ।’ उनले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदका लागि प्रदेश १ को हव बनाउन धरानको विकास निर्माणलाई तिव्रता दिने बताए । उनले नेकपाकै पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङबोको पालामा ०५४ सालदेखि सुरु भएको बसपार्कलाई स्थानीय, प्रदेश र संघको लगानीमा कार्यान्वयन हुँदै गएको र खानेपानी योजना पनि पूरा हुने चरणमा भएको उनले बताए ।

उनले अहिलेको धरान जनसहभागिताले बनेको सहर भएकाले उक्त नीतिलाई पनि निरन्तरता दिने बताए । उनले भने, ‘पार्टीले धरानको विकास निर्माणका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएको छ । ती योजनाहरू पूरा नहुँदै डेढ वर्षसम्म प्रमुखविहीन बनेपछि पेन्डिङ रहेको विकास निर्माणका साझा एजेन्डालाई पूरा गर्ने मेरो अर्को एजेन्डा हो ।’

उनले हालसम्ममा स्थानीय, प्रदेश र संघमा पनि नेकपाकै सरकार भएकाले तीनतहबीच एकआपसमा सहयोग, समन्वय र हातेमालो गरेर विकास निर्माणका चुनौती र सम्भावनालाई पूरा गर्ने बाचा गरे । उनले भने, ‘विपक्षी कांग्रेसले धरानमा कम्युनिस्टले निरन्तर जिते पनि विकास निर्माण गरेन भनेर आरोप लगाउँदै आएको छ । हो– धरानमा बामपन्थीले जित्दा सरकार भने कांग्रेसको थियो । कांग्रेसले कहिले पनि धरानको विकास निर्माणको नाममा रातो किताबमा बजेट छुट्याएन । धरानले केन्द्रको बजेट पाउनका लागि संघीयता नै पर्खिनु पर्‍यो । नेकपाको सत्ता र सरकार नै पर्खिनु पर्‍यो ।’ उनले यसपटक कांग्रेस उम्मेदवारलाई कम्तीमा १० हजार मतको अन्तरले पराजित गर्ने दाबी गर्दै स्वर्गीय मेयर तारा सुब्बाको अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै भोट मागिरहेको बताए ।

कांग्रेसबाट मेयर पदका उम्मेदवार तिलक राईले स्थानीय तहमा देखिएको बेथितिले उपमहानगरका गौरवका आयोजना पूरा हुन नसकेकाले त्यस्ता बेथितिलाई रोक्न कांग्रेसले आफूलाई प्रमुखको पदमा उम्मेदवार बनाएको बताए । उनले आफूले धरानको प्रमुख भएपछि उपमहानगरपालिकामा भएको बेथितिलाई बाहिर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘धरानमा नेकपा सरकारले गरेका भौतिक पूर्वाधारको विकास निर्माणमा अनियमितता भएको आशंका छ । मेरो उम्मेदवारी त्यो सबै जनताको आशंकालाई भोलि यथार्थमा बाहिर ल्याउने पनि प्रतिबद्धता हो ।’ उनले आफू उम्मेदवारका रूपमा मतदाताको घरदैलोमा पुगेर भोट माग्दा जनताले हुने कुरा मागेको तर नहुने र नसकिने कुरा नमागेको बताए । उनले भने, ‘मैले मतदातासँग नसक्ने कुरा पूरा गर्छु भनेर कुनै आश्वासन दिएर भोट मागिरहेको छैन ।’

लामो समयसम्म धरानमा जित्दै आएको तात्कालीन एमाले पछि नेकपा बनेको पार्टीले जनताको चाहनाअनुसार विकास निर्माणका काम नगरेकाले ती बाँकी रहेका काम पूरा गर्न आफूलाई मतदाताले मत दिएर जिताउने दाबी पनि राईले गरे । ०७४ स्थानीय तहको चुनावमा तारा सुव्वासँग ४ हजार ८ सय ७३ मतको फरकले पराजित भएका राईले यसपटक कम्तीमा २ हजार मतको अन्तरले नेकपाका उम्मेदवारलाई जित्ने दाबी गरे ।

धरानमा भएका यसअघिका चुनावमा तेस्रो शक्तिका रूपमा रहेको समाजवादी पार्टीका उम्मेदवार पूर्व गोर्खा गजेन्द्र इस्वोले राजनीतिक दलहरूले धरानमा प्रत्येक निर्वाचनमा गोर्खाहरू लाहुरेहरूलाई भोटबैंकका रूपमा मात्र प्रयोग गरेकाले यसपटक समाजवादी पार्टीका तर्फबाट आफैं उम्मेदवार भएको बताए । उनले भने, ‘यो धरान गोर्खा लाहुरेहरूकै कारणले यतिसम्म बनेको हो । प्रमुख पदमै म जस्ता गोर्खा लाहुरेले जितेमा समग्र धरानको कायापलट गर्ने इच्छाशक्ति भएकाले उम्मेदवारी दिएको हुँ ।’

प्रकाशित : कार्तिक २९, २०७६ ०९:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×