कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आठपहरियाले मनाए वाडाङ्मेट

कान्तिपुर संवाददाता

धनकुटा — धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास गर्ने अल्पसंखयक आठपहरिया जातिको मुख्य पर्व वाडाङ्मेट बुधबार सुरु भएको छ । १५ दिनसम्म मनाइने यस चाडमा पितृको सम्झना गर्दै एक आपसमा शुभकामना साटासाट गर्ने चलन छ । पर्वका अवसरमा धनकुटा नगरपालिकाले बुधबार सार्वजनिक बिदा दियो ।

धनकुटा नगरपालिका क्षेत्रको याक्ते, सान्ताङ्, डाँडागाउँ, देब्रेबास, ठोका, बेलहारा, सेउले, छारागाउँ, भीरगाउँ लगायत क्षेत्रमा आठपहरिया जातिको मुख्य बसोबास छ । यस चाडमा सुनसरीको बराहाक्षेत्रमा गएर नुहाइने र परिवारका सदस्य गुमाएकाले शुद्धशान्ति गरिने चलन रहेको आठपहरिया जातिका पूजारी नयाँलाल होम्बारकले बताए ।


खासगरी यो चाडमा आठपहरिया जातिभित्रको होम्बारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाचिने गरिन्छ । यस्तै परिवारका सदस्यको मृत्यु भएको दुःखको पीडालाई सप्तकोसी, कोकाहाखोला र तमोरमा बगाउने चाडका रूपमा वाडाङ्मीको विशेष महत्त्व रहेको होम्बारकले बताए ।


विभिन्न पाछामा रहेका आठपहरियाले मार्गा, श्रीपञ्चमी लगायत थलोमा विशेष पूजा गरिन्छ । निम सल्ला घरघरमा पठाएर सुख शान्तिको कामना गरिने र भाकल पूजा गरिने आठपहरिया समाजका केन्द्रीय महासचिव स्र्यू आठपहरियाले बताए ।


उनका अनुसार अल्पसंख्यक जातिको संस्कृति, भाषा तथा लिपिको विकासका लागि पछिल्लो पुस्ताले चासो दिएको छ । चाडमा नयाँ लुगा लगाइने तथा मिठो खानेकुरा खाएर घर–घरै गएर नाचगान गर्दै मनाइने गरिन्छ । यसैगरी जेठो छोरो जन्मिएमा विशेष हर्कबढाई गरिने चलन रहेको समाजका केन्द्रीय अध्यक्ष सारकुमारी आठपहरियाले बताइन् । छोरीको पास्नी विशेष रूपमा मनाइने गरिन्छ ।


मौलिक पोसाकका रूपमा महिलाले आफैंले बुनेको मेख्ली र सिन तथा पुरुषले दौरा कछाड लगाउने चलन छ । आठपहरिया जातिले धनकुटा नगरलाई आठपहरिया स्वायत्त क्षेत्रमा सूचीकृत गरिनुपर्ने माग गर्दै आएका छन् । आठपहरिया जातिलाई जनजातिमा समावेश नगरिएको गुनासो उनीहरूको छ ।


प्रकाशित : कार्तिक २९, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?