कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

प्रहरीलाई ‘केटी मिलाउन’ खोज्दा...

विनु तिम्सिना

(विराटनगर) — भारतसँग सीमा जोडिएको विराटनगर महानगरपालिकाको रानी क्षेत्रमा सञ्चालित होटलमा ‘यौनजन्य क्रियाकलाप’ हुने गरेको गुनासो जिल्ला प्रहरी कार्यालय मोरङमा पटक पटक आइरहेको थियो । गुनासो सँगसँगै त्यस क्षेत्रका स्थानीयहरूले प्रहरीकै मिलेमतोमा होटल सञ्चालकले यौन धन्दा चलाइरहेको भन्ने आरोपले मोरङ प्रहरी हैरान बनेको थियो ।

स्थानीयकै गुनासोका आधारमा प्रहरीले रानी क्षेत्र आसपास र विराटनगरका अन्य शंकास्पद ५७ वटा होटलमा छापा मारेको थियो । त्यस क्रममा जोडी पक्राउ परे पनि व्यावसायिक रूपमा यौन धन्दा नै हो भन्ने पुष्टि नहुँदा उनीहरू छुटेर जान्थे तर स्थानीयको गुनासोमा कमी आएन ।

यौन धन्दा नै चलाइएको हो भन्ने प्रस्ट प्रमाण नहुँदा प्रहरीले होटलबाट पक्राउ गरेका जोडीहरू छुट्ने र स्थानीयको गुनासो आउने क्रम पनि नरोकिएपछि मोरङ प्रहरीले प्रमाणसहित पक्राउ गर्ने नयाँ तरिका अपनायो । अवैध यौनधन्दा चलाउने होटल सञ्चालकलाई प्रमाणसहित पक्राउ गर्न मोरङ प्रहरीले फिल्मी शैली अपनायो । विराटनगर महानगरपालिका १५ रानीस्थित हिमालय गेस्टहाउसमा यौन धन्दा चल्ने गरेको कुरा प्रहरीले निकै दिन सूक्ष्म निगरानी गरेर पत्ता लगाएको थियो ।


प्रमाणसहित पक्राउ गर्न मोरङ प्रहरीले आफ्नै प्रहरी कर्मचारीलाई सोमबार साँझ ग्राहक बनाएर पठायो । सादा पोसाकमा ग्राहक बनेर होटल पुगेका प्रहरी कर्मचारीले होटलका कर्मचारी मोहम्मद रियाजलाई ‘केटी पाइन्छ, पाइँदैन’ भनेर सोधे । रियाजले चाहिएमा फोन गरेर जत्ति पनि बोलाउन सक्ने बताए ।


रियाजको कुरा सुनेपछि सादा पोसाकमा गएका प्रहरी कर्मचारीले केटी बोलाउन भन्दै होटलमा कोठासमेत बुक गरे । रियाजले भारतको फारबिसगन्ज घर भएकी २५ वर्षीया एक युवतीलाई फोन गरेर बोलाए । बोलाएको केही घण्टामै यौन धन्दाका लागि युवती होटल आएपछि प्रहरीले कल गर्लका रूपमा काम गर्ने उनलाई र होटलका कर्मचारी मोहम्मद रियाजलाई प्रमाणसहित पक्राउ गरेको छ ।


पक्राउ परेका रियाज पनि भारतीय नागरिक हुन् । उक्त होटलका सञ्चालकसमेत भारतीय नागरिक हुन् । रियाज र युवती पक्राउ परेपछि होटलका मालिक फरार रहेको र उनको खोजी भइरहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । भारतको सीमासँग जोडिएको विराटनगरको रानी क्षेत्रमा भारतीय नागरिकले होटल सञ्चालन गरेर भारतीय युवतीलाई यौनकर्ममा लगाउने र भारतीय युवालाई नै ग्राहकका रूपमा प्रयोग गर्ने धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।


रानी क्षेत्रका अधिकांश होटल तथा गेस्टहाउस भारतीय नागरिकले घर भाडामा लिएर सञ्चालन गर्दै आएको मोरङ प्रहरीका डीएसपी श्रेष्ठले बताए । ‘रानीका अधिकांश होटल र गेस्टहाउसका मालिक भारतीय नागरिक छन्,’ उनले भने, ‘अवैध धन्दा चलाउने र समस्या पर्‍यो कि भाग्न सजिलो हुने भएकाले उनीहरूले सीमा क्षेत्रको नजिकै होटल सञ्चालन गर्ने गरेका छन् ।’


सीमा क्षेत्रका धेरै होटल र गेस्टहाउसमा भारतीय महिलाले कल गर्लका रूपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । प्रहरीले रियाज र होटल सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरिसकेको छ । रानी क्षेत्रका होटलमा प्रहरीले नियमित निगरानी बढाउने र अनैतिक क्रियाकलापलाई निरुत्साहित गर्ने डीएसपी श्रेष्ठले बताए । चालु आर्थिक वर्षको चार महिनामा मात्रै प्रहरीले विराटनगर र रानी क्षेत्रका ५७ होटल तथा गेस्टहाउसमा छापा मारेको छ । होटलमा हुने अनैतिक क्रियाकलापलाई रोक्नुका साथै अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले विभिन्न तरिकाबाट होटलको निगरानी र अनुगमन गर्दै आएको उनले बताए ।


केही दिनअघि मात्रै प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा संलग्न गराउँदै आएकी विराटनगर ८ की पूर्णिमा श्रेष्ठ मल्ललाई पक्राउ गरेको छ । कमजोर आर्थिक अवस्थाकी उनी काम खोज्दै झापाबाट विराटनगर आएकी थिइन् ।


काम खोज्ने क्रममा पूर्णिर्माको सम्पर्कमा पुगेकी बालिकालाई श्रेष्ठले केही दिन आफ्नै घरमा काम गर्न लगाएको र केही दिनपछि केटाहरू बोलाएर घुम्न पठाउने र यौनजन्य क्रियाकलापमा लगाउने गरेको बयान बालिकाले दिएको प्रहरीले जनाएको छ । केही समय बालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएपछि राम्रो कामका लागि भारतको सहरमा लगिदिने भन्दै जोगबनी पुर्‍याएपछि प्रहरीले त्यहींबाट मल्ललाई पक्राउ गरी बालिकाको उद्धार गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले मल्लविरुद्ध पनि मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?