गजुरमुखीमा विदेशी श्रद्धालु बढे

कान्तिपुर संवाददाता

(इलाम) — धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको गजुरमुखी धाममा मेला लागेको छ । माङसेबुङ गाउँपालिका १ स्थित देउमा खोलाको तिरमा मेला लागेको हो ।

गजुरमुखीमा विदेशी श्रद्धालु बढे

परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेलामा देश विदेशका श्रद्धालु पुग्ने गर्छन् । गजुरमुखी माताको दर्शनले सन्तान नहुनेका लागि सन्तान र बोली नफुटेकाहरूको बोली आउने जनविश्वास छ । आसामकी कामरूपकामाक्षकी कान्छी बहिनीका रूपमा गजुरमुखीलाई लिइने गरेकाले त्यस क्षेत्रबाट पनि दर्शनार्थी आउने गरेका छन् । ३ दिनदेखि लागेको मेलामा बिहानैदेखि दर्शनार्थीको बाक्लो उपस्थिति थियो । मेला बुधबार सम्पन्न भएको हो ।


इलाम सदरमुकामदेखि करिब ४० किमि पश्चिममा अवस्थित गजरमुखीलाई ठोस योजनासहित धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ । मेची राजमार्गको नेपालटारबाट मंगलबारेसम्मको १३ किमि कालोपत्रे छिचोल्दै धसेनी हुँदै निर्माण गरिएको ग्राभेल सडकमार्फत गजुरमुखी पुग्न सकिन्छ । धार्मिक पर्यटकीय सम्भावना रहेको गजुरमुखीको विकास र प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गरी अगाडि बढिरहेको माङसेबुङ गाउँपालिकाले जनाएको छ । ‘अघिल्लो वर्ष ५० लाख रुपैयाँ बराबरको पूर्वाधार विकासको काम गरियो,’ अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने, ‘प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ ।’ सडकको अवस्था सुधार हुँदै गएकाले गजुरमुखी पुग्ने थपिँदै गएका छन् । बजारको विकास हुँदै गएको धाम क्षेत्रमा खान र बस्नको राम्रो प्रबन्ध छ ।


‘परापूर्वकालदेखि आस्थाको प्रतीक मानिँदै आएको धाम क्षेत्रको विकासमा स्थानीयवासी पनि लागेका छन्,’ गजुरमुखी धाम व्यवस्थापन समितिका अध्यक्ष डम्बर कार्कीले भने, ‘अब यसको महत्त्वलाई बुझेर देश–विदेशमा प्रचार–प्रसार र आवश्यक पूर्वाधार विकास गरिनु पर्छ ।’ विभिन्न जातजातिको संस्कृति अनुगमनका लागि पनि मेला अब्बल थलो बन्दै गएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?