२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लागूऔषध दुर्व्यसनमा फस्दै युवा

विनु तिम्सिना

(विराटनगर) — २० वर्षीया सोनिका विकको घर सुनसरीको धरान हो । अहिले उनी मोरङ जिल्ला कारागारमा छिन् । १५ महिना भयो उनी यहाँ आएको । उनको साथमा २ वर्षे नाबालक छोरा छन् । 

लागु पदार्थ सेवन गर्ने बानीले सोनिकालार्य जेल पुर्‍यायो । साथी संगतका कारण लागु पदार्थ सेवन गर्ने बानी परेकी सोनिका त्यसको खरिद र सेवनका लागि नियमितजसो भारतीय सीमावर्ती बजार जोगवनी पुग्ने गर्थिन् । ‘सुरुसुरुमा साथीहरूले खाएको देखेर के के न होला भनेर खाएँ,’ उनले भनिन्, ‘पछि बानी परेपछि छोड्नै सकिनँ धरानमा नपाउँदा जोगवनी पुगेर सुई लगाएरै छाड्थे ।’


पाँच महिनाको शिशु घरमा छोडेर लागुपदार्थ खरिद र सेवनका लागि साथीभाइसँग जोगवनी पुगेर फर्कने क्रममा उनी पक्राउ परेकी हुन् । लागु पदार्थ सेवन गर्ने उनको बानीका कारण अबोध बालकले पनि जेल जीवन बिताइरहनु परेको छ । सोनिकाले भनिन्, ‘घरमा त्यति सानो नानी हुँदा हुँदै पनि लागुपदार्थ सेवनकै लागि जोगवनी पुगेर ठूलो गल्ती गरेछु जस्तो लाग्छ अहिले ।’


‘म यहाँ भए पनि मेरो श्रीमानले माया गरिरहेका छन् । बेला–बेला भेट्न आइरहेका छन्,’ उनले भनिन्, ‘अब बाहिर निस्किएपछि त म कहिल्यै खाँदिन ।’


लागु पदार्थ दुर्व्यसनी मुद्दामै कैदी जीवन बिताइरहेकी उमा माझी भविष्य सम्झेर टोलाउँछीन् । १९ वर्षीय उमा जिल्ला कारागार आएको १६ महिना भयो । ताप्लेजुङ घर भएकी उमालाई दुई वर्षको कैद सजाय सुनाइएको छ । उनका श्रीमान पनि लागु पदार्थ सेवन कर्ता नै हुन् । उमा पनि जोगवनीबाट लागुपदार्थ ओसार्दै गर्दा पक्राउ परेकी हुन् ।


उमाले जोगवनीबाट ल्याएको लागुपदार्थ थुप्रैपटक उनका श्रीमानले पनि प्रयोग गरेका थिए । तर, प्रहरीले पक्राउ गरेपछि भने उनका श्रीमान्ले उमालाई बेवास्ता गर्न थाले । अहिले उमाको आफ्ना श्रीमानसँग कुनै सम्पर्क छैन । कैद भुक्तानी गरेर बाहिर आएपछि के गर्ने भन्ने उनीसँग कुनै योजना छैन । श्रीमान्को साथ नपाए पनि छोराका लागि दुर्व्यसनमा अब नफस्ने अठोट उमाले गरेकी छन् ।


नेपाली समाजमा खास गरी साथीभाइको सङ्गत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले लागू पदार्थको दुरुपयोग बढ्दो छ । मोरङ प्रहरीले केही दिनअघि मात्रै सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने राजविराज नगरपालिका २ का २६ वर्षीय कपिल यादवलाई पक्राउ गरेको थियो ।


पक्राउ परेका यादवले स१ब १४१० नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल प्रयोग गरी लागूऔषध ल्याउँदै गर्दा जाँचका क्रममा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको विशेष टोलीले पक्राउ गरेको थियो ।


सरकारी कर्मचारी रहेका आफ्ना बुबाले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको मोटरसाइकलबाट सजिलै लागु औषध ल्याउन सक्ने विश्वासका साथ उनी जोगवनी पुगेका थिए । परिवारका अभिभावकहरूले पनि आफ्ना छोराछोरी कस्तो संगत र रहनसहनमा छन् भन्ने कुरा समयमै ख्याल नगर्दा युवा पुस्ता बढी लागु पदार्थ दुर्व्यसनको सिकार बनिरहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।


जिल्ला प्रहरी कार्यालय मोरङले २०७६ वैशाख २६ देखि साउन ३२ गतेसम्म १३ सय ७६ जना लागु औषध प्रयोगकर्ताबीच गरेको सर्वेक्षणमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका युवापुस्ता लागु औषध दुर्व्यसनीमा फसेको पाइएको डीएसपी श्रेष्ठले बताए । सर्वेक्षणमा १३ सय ७६ मध्ये १६ देखि २५ वर्ष उमेर समूहका ८ सय ३३, २६ देखि ४० वर्ष उमेर समूहका ५ सय ४, ४१ देखि ५० वर्ष उमेरका २४, ५१ वर्षभन्दा माथिका ३ जना र १८ वर्षभन्दा कम उमेरका १२ जना रहेको उनले जनाए ।


यसमध्ये ९८ प्रतिशतले भारतीय सीमावर्ती बजार जोगवनीबाटै लागुऔषध खरिद गर्ने गरेको पाइएको छ । ९५ प्रतिशतले दुर्व्यसनमा फसेका आफ्ना साथीभाइबाटै लागु औषध प्रयोग गर्न सिकेकाले अभिभावकले युवा अवस्थाका आफ्ना छोराछोरीप्रति अलिक बढी ध्यान दिनुपर्ने डीएसपी श्रेष्ठ बताउँछन् ।


सर्वेक्षणका क्रममा धेरैले यसको असरका बारेमा जानेर पनि प्रयोग गरेको बताएको उनले बताए । सर्वेक्षण गरिएकामध्ये ६ सय ६६ जनाले लागुपदार्थ सेवनको असरका बारेमा राम्रो जानकारी हुँदा हुँदै पनि साथीभाइको संगतका कारण फसेको बताएका थिए ।

प्रकाशित : कार्तिक २८, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?