१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एकादशी मेलामा भारतीय भक्तजनको भीड

कान्तिपुर संवाददाता

(इटहरी) — प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा सुरु भएको मेला मंगलबार सकिएको छ । यस वर्ष मेलामा ७ लाख भक्तजनले मन्दिर दर्शन गरेको जनाइएको छ ।

एकादशी मेलामा भारतीय भक्तजनको भीड

कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म मेला लाग्ने गर्छ । कात्तिक २२ देखि सुरु भएको मेलामा भारतीय भक्तजनको भीड लागेको थियो । गत वर्ष ८ लाख भक्तजनले मन्दिर दर्शन गरेका थिए । बराहक्षेत्र संरक्षण मञ्चका कार्यालय व्यवस्थापक गंगा जर्घामगरका अनुसार मेलामा ९० प्रतिशत भारतीय भक्तजन आएका थिए । भारतको विहार र बंगाल राज्यका भक्तजनहरू बढीजसो आउने गरेका छन् । पितृहरूको मोक्ष र मनोकांक्षा पुरा हुने धार्मिक विश्वासका कारण कौशीकी नदीमा स्नान गर्न र बराहको दर्शनका लागि टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।


अन्य वर्षको तुलनामा यस वर्ष मेलालाई व्यवस्थित बनाउने समितिले प्रयास गरेको थियो । मन्दिर दर्शनका लागि प्रवेश र बाहिरिने छुट्टै लाइनको व्यवस्था गरिए पनि अत्यधिक भीडका कारण भक्तजनले मन्दिर दर्शन गर्न निकै समय पर्खन परेको थियो । मंगलबार साँझ ५ बजेसम्म भक्तजनहरूले मन्दिर दर्शन गरेको जनाएको छ । मन्दिर परिसरमा सार्वजनिक शौचालय तथा अस्थाही शौचालयको समेत व्यवस्था गरिएको थियो । यद्यपि हाल सो परिसर निकै दुर्घन्धित छ ।


मन्दिर परिसरमा १० स्थानमा खानेपानी प्रबन्ध गरिएको थियो । सोमबार राति भक्तजनहरू जाग्राम बस्ने भएकाले विद्युतीय बत्तीहरू जडान गरिएका थिए । भक्तजनको सुरक्षाका लागि करिब १८ प्रहरीले सुरक्षा दिएका थिए । तर सुरक्षा व्यवस्था भने निकै फितलो देखिएको थियो । बराहक्षेत्र संरक्षण मञ्चका व्यवस्थापक गंगा मगरले भने, ‘यस वर्ष स्थानीय युवा र अपुग सुरक्षाकर्मीको कारण सुरक्षा व्यवस्था निकै कमजोर भयो । हामीले भन्दा पनि राज्यले व्यवस्था गनुपर्ने हो ।’ बराहक्षेत्र मन्दिरमा एउटा नि:शुल्क धर्मशाला छ भने २ वटा शुल्क लाग्ने धर्मशाला छन् ।


मन्दिरको भौतिक पूर्वाधार संरक्षणका लागि भनेर भक्तजनबाट भेटी संकलन गर्ने गरेको समितीको भनाई छ । यस वर्ष मेला अवधीमा मात्र कुल चार लाख रुपैयाँ भेटी संकलन भएको छ । बराहक्षेत्र मन्दिरका प्रमुख पुजारी किरण भण्डारीका अनुसार मुख्य मन्दिरमा छुट्टै १ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ ।


प्रकाशित : कार्तिक २७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?