१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माइती गुमाएको पीडा भुल्दै

कान्तिपुर संवाददाता

इटहरी — इटहरीकी पद्मा गुरुङका दुई दाजु सडक दुर्घटनामा बिते । २०७३ असोज २२ गते राति १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी हेर्न जाने भनेर स्कुटरमा हिँडेका दाजुहरू सदाका लागि फर्केनन् ।

३७ वर्षीय कुमार गुरुङ र २५ वर्षीय मदन गुरुङले बहिनीलाई चाँडै आउँछौं भनेर घरबाट निस्केका थिए । अबेरसम्म नआएका दाजुहरू बिहान करिब २ बजेतिर धरान इटहरी सडक खण्डको पानीपियामा स्कुटर दुर्घटनामा ज्यान गुमाए । दाजुभाइ सवार स्कुटर तीव्र गतिका कारण सडक छेउको खम्बामा ठोक्किएको प्रहरीको भनाई थियो । ‘दाजुहरूसँग उहाँका चारजना साथीहरू पनि जानुभएको थियो,’ उनले भनिन्, ‘तर मेरो दाजुहरू यस्तो घटनामा पर्नुभयो ।’ ज्यान गुमाउने उनका माइला र साइँला दाजु हुन् ।


उनी ५ वर्षको हुँदा आमा र बुबा एक महिनाको अन्तरमा बिते । दाजुहरूले उनको पालनपोषण र शिक्षा दिएर हुर्काएका थिए । दाजुहरूको मृत्युको खबरले उनी निकै समयसम्म विक्षिप्त बन्न पुगेकी थिइन् । आमाबुवाको सम्झना खासै स्मरण गर्न नसक्ने उनलाई दाजुहरूसँग बिताएका पलहरू ताजै छ । भारतको अरुणाञ्चल प्रान्तको बोलेङबाट उनीहरू नेपाल आएको धेरै भएको थिएन । २०६३ वैशाख १२ गते राति मोरङको बेलाबारी ३ मा स्थानीय सपना गुरुङको बलात्कारपछि हत्या भएको थियो । सोही घटनाको विरोधमा वैशाख १३ गते दोषीलाई कारबाहीको माग गर्दै उत्रिएका भिडलाई लक्षित गरी दिउँसो २ बजे सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो । सोही घटनामा उनको साइला दाजुको मृत्यु भएको थियो ।


७ जनाको परिवारमा अहिले उनी र जेठा दाजुमात्र जीवित छन् । दाजु व्यवसाय गर्ने भएकाले आर्थिक रुपमा समस्या खासै भोग्न परेन । दुई दाजुहरूको मृत्यु हुँदा उनको विवाह भइसकेको थियो । माइला दाजु वैदेशिक रोजगारबाट २ महिना अघिमात्र आएका थिए । कान्छा दाजु जेठा दाजुको व्यवसायमा सघाउने गर्थे । घटनाबारे बताउँदा उनी निकै भावुक भएकी थिइन् । आमाबुवा र दाजुहरूको सम्झना आइरहने उनले बताइन् । उनले भनिन्, ‘आमाबुवाको माया पाउन सकिन । माइतीहरूले पनि अकालमा ज्यान गुमाउनुपर्‍यो । सम्झँदा निकै दुःख लाग्छ ।’ परिवारको धेरै सदस्य गुमाउन पुगेकी पद्मा अचेल भने मनलाई सम्हाल्दै आफ्नो जीवन अघि बढाउँदै छिन् ।


प्रकाशित : कार्तिक २७, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?