लाटोकोसेरो जोगाउने विद्यार्थी अभियान

मझुवागढी–१२ मा गत वर्ष आयोजित लाटोकोसेरो महोत्सवको प्रभावले स्कुले विद्यार्थी संरक्षणमा लाग्दै 
कान्तिपुर संवाददाता

(खोटाङ) — खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविका विद्यार्थी लाटोकोसेरो जोगाउने अभियानमा लागेका छन् । गत वर्ष आयोजित लाटोकोसेरो महोत्सवको प्रभावले बालबालिका संरक्षणमा लागेका हुन् । 

‘उलुलुलु...उलुलुलु गर्ने उल्लु चरा प्रकृतिको साथी हो,’ ज्योति मावि कक्षा–५ मा अध्ययरत सायाहाङ राईले भने, ‘यसलाई मार्नु हुन्न, जोगाउनुपर्छ ।’ उनीजस्तै थुप्रै बालबालिका लाटोकोसेरो जोगाउनुपर्छ भन्नेबारे ज्ञान राख्ने गरेको विद्यालयका प्रधानाध्यापक टीकाबहादुर श्रेष्ठले बताए । लाटोकोसेरो प्रकृतिका लागि अति उपयोगी पन्छी भएकाले यसको संरक्षणबारे यो विद्यालयमा अध्ययनरत बालबालिकाले जानेको श्रेष्ठले सुनाए ।

‘लाटोकोसेरो प्रकृतिका लागि उपयोगी पन्छी हो भन्ने बुझेका छन्,’ प्रअ श्रेष्ठले भने, ‘त्यसैले बालबालिकाले संरक्षण गर्न थालेका छन् ।’ श्रेष्ठले भने, ‘बालबालिकामा यो चेतना पलाएपछि संरक्षण त हुने नै भयो ।’ उक्त विद्यालयमा दुई सय ८७ जना विद्यार्थी अध्ययनरत छन् ।

बालबालिकामा लाटोकोसेरो तथा प्रकृतिका बारेमा ज्ञान प्राप्त भएपछि त्यसले संरक्षणमा सकारात्मक प्रभाव परेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सामाजिक विकास संयोजक तथा वडा १२ का वडाध्यक्ष विकास राईले बताए । ‘चेतना महत्त्वपूर्ण पक्ष हो ।’ राईले भने, ‘चकचक गर्ने उमेरका बालबालिकामा यत्तिको ज्ञान भएपछि सुनौलो भविष्यको संकेत देखापरेको छ ।’

लाटोकोसेरो संरक्षणबारे चेतना दिन गत वर्ष लाटोकोसेरो उत्सव नै आयोजना गरिएको थियो । यसका कारण बालबालिकामा सकारात्मक प्रभाव परेको वडाध्यक्ष राईले सुनाए । बालबालिकाले लाटोकोसेरो जोगाउन थालेपछि आफू खुसी भएको गत वर्ष आयोजित लाटोकोसेरो उत्सवका आयोजक राजु आचार्यले बताए ।

विद्यार्थीलाई प्रभाव परोस् भनेर नै उत्सव आयोजना गरिएको थियो,’ आचार्यले भने, ‘यसको प्रभावले बालबालिका लाटोकोसेरो संरक्षणमा जुटेको खबरले खुसी छु ।’ उक्त उत्सवको विभिन्न १७ विद्यालयका करिब तीन हजार विद्यार्थीसहित झन्डै १० हजारले अवलोकन गरेका थिए ।

उत्सवमा हुचिलको स्तम्भ अनावरण, लाटोकोसेरोको अस्थायी संग्रहालय अवलोकन, लोपोन्मुख सांस्कृतिक कार्यक्रम संगिनी, हाकपारे, मारुनी, लाखे, साकेला, सालैजो, बालन, भोटेसेलोलगायत प्रस्तुत गरिएको थियो । लोपोन्मुख खेलहरू गिर, लाथ्रो काट्नेलगायत पनि प्रदर्शन गरिएको थियो ।

उत्सवमा पाँचबुँदे घोषणापत्रसमेत पारित गरिएको थियो । उक्त घोषणापत्रमा रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटोकोसेरो तथा हुचिल संरक्षण गर्दै त्यसलाई वडा पन्छी घोषणा गरिएको थियो ।

लाटोकोसेरो तथा हुचिल उत्सव प्रत्येक वर्षको फेब्रुअरीको पहिलो शुक्रबार र शनिबार जालपामा मनाउने घोषणा गरिएको थियो । यसैअनुसार यो वर्ष पनि आयोजना गरिने वडाध्यक्ष राईले सुनाए । उत्सवमा वडामा गुलेली निषेधित क्षेत्र घोषणा गरिएको थियो । यस क्षेत्रमा पाइने सम्पूर्ण जैविक विविधताको अध्ययन अनुसन्धान तथा संरक्षण गर्ने घोषणापत्रमा उल्लेख गरिएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७६ ११:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हराउँदै एकराते बजार

कुम्भराज राई

(ककनी, ओखलढुंगा) — हरिबोधनी एकादशीको राति चम्पादेवी ९, ककनी बजारमा तामाङसेलो गाउँदै थियो रामबहादुर तामाङ र लोकमाया तामाङको समूह । ६५ वर्षीय रामबहादुर तामाङले ०२० सालदेखि नियमित यसै गरी गीत गाउँदै आएका छन् । एकदिनको पैदल यात्रापछि आइपुगिने पोकलीकी लोकमायालाई पनि आफूले थाहा पाएदेखि ककनी बजार आएको अनुभव छ ।

चाडबाडका बेला एकराते बजार लाग्ने धेरै धार्मिकस्थलमा अहिले बजार लाग्न छोडेको छ । मादल, बाँसुरी बजाउँदै गाउँदेखि लर्को लागेर बजार जाने अनि रातभरि जुहारी (दोहोरी) गाउने चलन हट्दै गएको छ । ‘अहिले त राति बजारमा आउने, गीत गाउने चलन हराइसक्यो भने पनि हुन्छ,’ रामबहादुरले भने, ‘यसको खास कारणचाहिँ ठिटाहरू डिस्कोमा लाग्न थाले त्यही भएर हो ।’ उनका अनुसार एकराते बजारमा पनि स्पिकर बजाएर नाच्ने चलन बढेको छ ।

ककनीमा पनि झुन्डझुन्ड बनाएर युवाहरू होहल्ला गर्दै स्पिकरमा बजेको गीतमा नाचिरहेका थिए । विद्युत् र सडकदेखि तीन घण्टाको दूरीमा रहेको स्थानमा पनि चार्ज गरेर बजाउन मिल्ने स्पिकरको आवाज रातभरि गुन्जिरहेको थियो । मादल बजाएर दोहोरी गाउनेको समूह सानो थियो । जिल्लाका दर्जनौं स्थानमा एकादशी, माघेसंक्रान्ति, बालाचतुर्दशी, शिवरात्रिमा एकराते बजार लाग्ने गर्थे तर ती सबै लोप भइसकेका छन् । एकराते बजार लोप हुनुको एउटा कारण सडकको विस्तार हुनु पनि हो ।’ स्थानीय झनक कार्की भन्छन्, ‘गाडीबाटै आउने, पूजाआजा गर्ने र फर्किने दर्शनार्थीहरू बढेका छन् । पहिले पो बाटो थिएन । गाडी जाँदैनथ्यो । हिँडेर जानुपर्ने, फर्किन नभ्याउने भएपछि बजारमै रात काट्ने चलन थियो ।’ एकराते बजारमा गीतकै माध्यमबाट मायाप्रेम गरेर बिहे गर्ने पुराना दम्पती अझै प्रशस्त भेटिन्छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ ११:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×