कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हराउँदै एकराते बजार

कुम्भराज राई

(ककनी, ओखलढुंगा) — हरिबोधनी एकादशीको राति चम्पादेवी ९, ककनी बजारमा तामाङसेलो गाउँदै थियो रामबहादुर तामाङ र लोकमाया तामाङको समूह । ६५ वर्षीय रामबहादुर तामाङले ०२० सालदेखि नियमित यसै गरी गीत गाउँदै आएका छन् । एकदिनको पैदल यात्रापछि आइपुगिने पोकलीकी लोकमायालाई पनि आफूले थाहा पाएदेखि ककनी बजार आएको अनुभव छ ।

हराउँदै एकराते बजार

चाडबाडका बेला एकराते बजार लाग्ने धेरै धार्मिकस्थलमा अहिले बजार लाग्न छोडेको छ । मादल, बाँसुरी बजाउँदै गाउँदेखि लर्को लागेर बजार जाने अनि रातभरि जुहारी (दोहोरी) गाउने चलन हट्दै गएको छ । ‘अहिले त राति बजारमा आउने, गीत गाउने चलन हराइसक्यो भने पनि हुन्छ,’ रामबहादुरले भने, ‘यसको खास कारणचाहिँ ठिटाहरू डिस्कोमा लाग्न थाले त्यही भएर हो ।’ उनका अनुसार एकराते बजारमा पनि स्पिकर बजाएर नाच्ने चलन बढेको छ ।


ककनीमा पनि झुन्डझुन्ड बनाएर युवाहरू होहल्ला गर्दै स्पिकरमा बजेको गीतमा नाचिरहेका थिए । विद्युत् र सडकदेखि तीन घण्टाको दूरीमा रहेको स्थानमा पनि चार्ज गरेर बजाउन मिल्ने स्पिकरको आवाज रातभरि गुन्जिरहेको थियो । मादल बजाएर दोहोरी गाउनेको समूह सानो थियो । जिल्लाका दर्जनौं स्थानमा एकादशी, माघेसंक्रान्ति, बालाचतुर्दशी, शिवरात्रिमा एकराते बजार लाग्ने गर्थे तर ती सबै लोप भइसकेका छन् । एकराते बजार लोप हुनुको एउटा कारण सडकको विस्तार हुनु पनि हो ।’ स्थानीय झनक कार्की भन्छन्, ‘गाडीबाटै आउने, पूजाआजा गर्ने र फर्किने दर्शनार्थीहरू बढेका छन् । पहिले पो बाटो थिएन । गाडी जाँदैनथ्यो । हिँडेर जानुपर्ने, फर्किन नभ्याउने भएपछि बजारमै रात काट्ने चलन थियो ।’ एकराते बजारमा गीतकै माध्यमबाट मायाप्रेम गरेर बिहे गर्ने पुराना दम्पती अझै प्रशस्त भेटिन्छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?