१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

कान्तिपुर संवाददाता

तेह्रथुम — गुराँस क्षेत्र तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्यटकीय पूर्वाधार नहुँदा सरकारले आगामी वर्ष मनाउने तयारी गरिरहेको नेपाल भ्रमण वर्षलाई असर पर्ने देखिएको छ । २० लाख पर्यटक भित्र्याउने योजना घोषणा गरेको सरकारले पर्यटकीय पूर्वाधार निर्माणमा भने खासै ध्यान पुगेको छैन । 

तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको टिएमजे क्षेत्रमा सडक, सुरक्षा, स्वास्थ्य, सञ्चार, होटल लगायतका कुनै पनि पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टिएमजेलाई सरकारले हालै नयाँ पर्यटकीय गन्तव्य सूचीमा समेत समेटेको छ ।


कुम्भकर्ण, मकालु र कञ्चनजंगा हिमालको आधार शिविर जाने मुख्य पदमार्ग टिएमजे क्षेत्रमा पर्यटकका लागि नभई नहुने आधारभूत सुविधासमेत नभएको गुफा बजारकी हिमा खनालले बताइन् । गुफा बजार टिएमजे क्षेत्रको पदमार्गमा पर्छ । बर्सेनि हजारौं पर्यटक आउने यो क्षेत्रमा सामान्य पूर्वाधार समेत नहुँदा आएका पर्यटकलाई बास बसाएर खुवाउन समेत नसकिएको पर्यटक पदमार्गमा रहेको चौकी बजारमा होटल व्यवसाय सञ्चालन गरेर बसेका उदयकुमार तामाङले बताए । चौकी बजारमा एकदमै थोरै मात्र होटल रहेको र यी होटलमा १ सय जना पर्यटक पनि अटाउन नसक्ने अवस्था रहेकाले पर्यटकको संख्या बढ्दा समस्या हुने गरेको तामाङको भनाइ छ ।


भारतको विहार, पश्चिम बंगाल र पूर्वी तराईबाट नजिकको दूरीमा रहेको यो क्षेत्रमा पर्यटकका लागि आधारभूत सेवा सुविधा निर्माण गर्ने तर्फ स्थानीय तहले समेत ध्यान दिएका छैनन् । पूर्वाधार निर्माणमा थोर बहुत रकम खर्च गरिए पनि त्यो पर्याप्त नभएको टिएमजे क्षेत्रमै पर्ने मेन्छ्यायाम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए । क्षेत्र ठूलो भएको र तीन जिल्लाको संगम स्थल भएकाले एउटा मात्र स्थानीय तहले खर्च गर्न सक्ने अवस्था नै नरहेको अध्यक्ष खापुङको भनाइ छ ।


प्रकाशित : कार्तिक २६, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?