सामाजिक विभेदविरुद्ध फाल्गुनन्द जयन्ती

बलिप्रथा, महिला विभेद र छुवाछूतविरुद्ध लागेका सामाजिक अभियन्ता ०६६ मा राष्ट्रिय विभूति घोषित भएका हुन्
कान्तिपुर संवाददाता

(इलाम) — राष्ट्र्रिय विभूति महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती ताप्लेजुङ, पाँचथर र इलाममा विविध कार्यक्रमका साथ मनाइएको छ । किराँत धर्मको प्रवर्द्धनसँगै सामाजिक विभेदविरुद्ध फाल्गुनन्दले पुर्‍याएको योगदानको कदरस्वरूप तीनै जिल्लाका विभिन्न स्थानमा उनको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो । 

सामाजिक विभेदविरुद्ध फाल्गुनन्द जयन्ती

जन्मजयन्तीको अवसरमा इलामको फाकफोकथुमको रुपाटार, फूएतप्पा, माङसेवुङको लारुम्बा, सन्दकपुरको जमुना, मावु, माइनगरपालिका, पाँचथरको लव्रकुटी, मिक्लाजुङलगायत क्षेत्रमा विविध धार्मिक, सांस्कृतिक, खेलकुदलगायतका कार्यक्रम आयोजना गरिए । विसं २०६६ साल मङ्सिर १६ गते सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।


महागुरु फल्गुनन्दले सांस्कृतिक रूपमा प्रयोग गरिने मदिरा, बलिप्रथा, महिला विभेद र जातीय विभेदविरुद्ध राणा शासन कालमा नै अभियान सुरु गरेको र त्यसको सान्दर्भिकता अहिले प्रष्ट भएको अभियान्ताहरू बताउँछन् ।

‘माहागुरुको दर्शनले कुनै एक समुदाय र जातिको मात्र हितको कुरा उठाएको छैन,’ सिद्ध किरात हाँङसाम युमा माङहिमका अध्यक्ष पञ्च योङहाङले भने, ‘उहाँको दर्शन र सन्देशले सबै मानवजातिको हित र उत्थानको परिकल्पना गरेको छ ।’


फाकफोकथुम गाउँपालिकास्थित रुपाटारमा उहाँले प्रतिपादन गरेको धर्मअनुसार बृहद मन्दिरसमेत निर्माण गरिएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले काम भइरहेको हो । त्यस्तै लारुम्बा लगायत विभिन्न क्षेत्रमा पनि धार्मिक स्थल निर्माण गर्ने काम भइरहेको छ ।


धार्मिक क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम अघि बढाएको फाकफोकथुमको रुपाटारमा आयोजित कार्यक्रममा प्रदेश सभासद धिरेन्द्र शर्माले बताए । कार्यक्रममा सहभागीले महागुरु जन्मजयन्तीको अवसरमा राज्यले बिदा नदिएकोमा दुखेशो गरे । इलामका माइनगरपालिका, माङसेवुङ र फाकफोकथुम गाउँपालिकाले मात्र सार्वजनिक बिदा दिएका छन् ।


इलामको इभाङस्थित चुक्चिनाम्बामा विसं १९४२ सालमा जन्मिएका फाल्गुनन्दले ७ वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किराँत धर्मालम्बीको विश्वास छ । भारतीय सेनामा समेत काम गरेका फाल्गुनन्द फर्केर धर्म प्रचारमा लागेको इतिहास छ । महागुरु फाल्गुनन्दले पाँचथरको लब्रे र सिलौटी, ताप्लेजुङको कावेली, निगुरादिन, कुम्भकर्ण, इलामको जितपुरलगायत स्थानमा किराँत मन्दिर बनाएका थिए ।


समाज सुधारकसँगै किराँत धर्मालम्बी धर्मगुरुलाई दैवी शक्ति प्राप्त व्यक्तिका रूपमा सम्झन्छन् । धर्मगुरुको सम्मान र स्मृतिमा किराँत बाहुल्य क्षेत्रमा मन्दिर निर्माण गरेर सामाजिक सुधार र धार्मिक बाटोमा हिंड्नेहरूको संख्या बढ्दो छ । किराँतीहरूले प्रयोग गर्ने मुन्धुमलाई लिपिबद्ध गर्ने काम पनि उनले गरेको जानकार बताउँछन् । फाल्गुनन्दले प्रतिवादन गरेको धर्मलाई किराँत हाङसाम साम्यो भनिन्छ । सत्य र शान्तिको मार्गमा लाग्न धर्ममार्फत् अभियान चलाएकाले यो धार्मालम्बीलाई सत्यहाङवा पनि भनिन्छ ।


महागुरु फाल्गुनन्दको निधन २००५ सालमा पाँचथरको सिलौटीमा भएको हो । तपस्या गरेका स्थान, जन्मस्थान, निधन भएको स्थान र महत्त्वपूर्ण काम गरेका क्षेत्रलाई अहिले तीर्थस्थलका रूपमा लिइने गरेको छ ।

१९८८ वैशाख २४ गते पाँचथरको लव्रेमा पूर्वका किराँत जम्मा गरी गुरुले सत्यधर्म मुचुल्का तयार पारेर प्रचार गर्दै महिला विभेद, बलिप्रथा, प्राकृतिक सम्पदाको संरक्षण र सामाजिक र जातिय विभेदको विरूद्धमा शान्तिपूर्ण ढङ्गले अभियान चलाएको पाइन्छ ।


यसैगरी ताप्लेजुङ सदरमुकाम फुङलिङमा किराँत धर्म तथा साहित्य उत्थान संघको आयोजनामा विभिन्न कार्यक्रम गरिएको छ ।


फुङलिङको काहुलेस्थित किराँत हाङसाम माङहिममा आयोजित कार्यक्रममा शुभकमना आदान–प्रदान गरिएको थियो । फाल्गुनन्दको जीवनी यहाँ प्रस्तुत गरिएको थियो । त्यसअघि फुङलिङ बजारमा जातीय झाँकीसहितको र्‍याली निकालिएको थियो । संघले आइतबार कविता प्रतियोगिता आयोजना गरेको थियो ।


दिवसको अवसरमा ताप्लेजुङका फुङलिङ नगरपालिका, फक्ताङलुङ, मेरिङदेन, आठराइ त्रिवेणी र सिदिङवा गाउँपालिका सार्वजनिक बिदा दिए । पालिका र वडा कार्यालय, शैक्षिक संस्था र पालिका अन्तर्गतका स्वास्थ्यसंस्थाहरू बन्द रहे । पाँचथरका भने सबै स्थानीय तहले बिदा दिएको बताएका छन् । फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाले भने गत वर्षदेखि नै बिदा दिन थालेका हुन् ।


स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकासका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?