कन्काई क्याम्पसमा पठनपाठन प्रभावित

कान्तिपुर संवाददाता

(बिर्तामोड) — प्राध्यापक राजनीतिक रूपमा विभाजित भएपछि कन्काई बहुमुखी क्याम्पसमा विवाद चर्किएको छ । प्राध्यापक हरि तिम्सिनाले प्रशासनको निर्देशनविरुद्ध काम गरेको भन्दै क्याम्पस सञ्चालक समितिले असोज १६ देखि लागू हुनेगरी सेवाबाट बर्खास्त गरेपछि विवाद सुरु भएको हो । 

विवादले तालाबन्दी र कालोमोसो दल्नेसम्मको अवस्थामा पुगेपछि क्याम्पसको पठनपाठन प्रभावित भएको छ । कन्काई नगरपालिका ३ र ४ सुरुंगास्थित क्याम्पसमा कार्यरत प्राध्यापक नेकपा र कांग्रेस गुटमा विभाजित भएका छन् । राजनीतिक हस्तक्षेपका कारण क्याम्पस सञ्चालक समिति गठन, क्याम्पस सभा, विकास निर्माण, प्राध्यापकको नियुक्ती तथा बर्खास्ती प्रक्रिया विवादित बन्दै आएको छ । दलगत प्राध्यापकले आफूअनुकूल गतिविधि गर्न थालेका छन् ।

आफू पक्षीय प्राध्यापकलाई बर्खास्त गरेको भन्दै नेकपा निकटका प्राध्यापक असन्तुष्ट छन् । तिम्सिनाको पुनर्बहालीको माग गर्दै नेकपा निकट प्राध्यापक र अनेरास्ववियुका विद्यार्थीहरू आन्दोलित छन् । अनेरास्ववियुका विद्यार्थीले क्याम्पस प्रमुख विकास उप्रेतीको कक्षमा तालाबन्दी गर्नुका साथै सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाललाई कालोमोसोसमेत दलेका छन् । चाडपर्व बिदा सकिएपछि कात्तिक १४ देखि लागेको क्याम्पसको पठनपाठन विवादका कारण प्रभावित बनेको छ ।


क्याम्पसमा दुई वर्षअघि राजनीतिक भागबन्डाको आधारमा १७ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरिएको थियो । समितिमा कांग्रेस, राप्रपा, समाजवादी पार्टी र त्रिवि प्रतिनिधि एउटा समूहमा तथा प्राध्यापक संघ, कन्काई नगरपालिकाका प्रतिनिधि र नेकपाको तर्फबाट निर्वाचित/मनोनीत प्रतिनिधि अर्को समूहमा थिए । आफू अनुकूलको शक्ति सन्तुलन मिलाउन दुवै पक्ष क्रियाशील रहेपछि गत वर्षको मंसिर २९ मा भएको १२ औं क्याम्पस सभा विवादित बनेको थियो । उक्त विवादका कारण नेकपा निकटका ६ जना सदस्यले ०७५ फागुन २६ मा सञ्चालक समितिबाट सामूहिक राजीनामा दिएका थिए । उनीहरूको राजीनामापछि प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिना र नगरपालिकाका प्रतिनिधि सञ्चालक समिति बैठकमा आउन छोडेको अध्यक्ष प्रकाश चुडालले बताए ।


राजीनामा पछि नेकपा निकटका प्राध्यापकले समिति अध्यक्ष चुडाल र क्याम्पस प्रमुख विकास उप्रेतीले आफूखुसी गरेको आरोप लगाउँदै आएका छन् । प्राध्यापकलाई नियमित तलब नदिएको, तलब खुवाउनुपर्ने रकम अन्यत्र खर्च गरेकोलगायतका आरोप उनीहरूको छ । ०७५ चैतदेखि तलब नपाएको भन्दै दसैंअघि आफूहरूले पाउने तलब भुक्तानी गर्न नेकपा निकटका प्राध्यापकले क्याम्पस प्रशासनमा दबाब दिएका थिए । तलब नपाएको विषयलाई ‘निहुँ’ बनाए प्राध्यापकहरूलाई उक्साएको आरोप लगाउदै क्याम्पस प्रशासनले प्राध्यापक तिम्सिनालाई बर्खास्त गरेको हो ।


प्राध्यापक तिम्सिनाको पुनर्बहालीको माग गर्दै कन्काई नगरपालिका– ४ का वडा सदस्य रोशन सुवेदीसहितका अनेरास्ववियुका विद्यार्थीले बिहीबार क्याम्पस परिसरमै अध्यक्ष चुडाललाई कालोमोसो दलेका थिए । कालोमोसो दल्ने ९ जनाविरुद्ध चुडालले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सार्वजनिक दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्ववियुले लगाएको ताला प्रहरीले फुटाएको छ ।


५ बिघा जमिनमा रहेको क्याम्पस भौतिक पूर्वाधारले सुविधा सम्पन्न छ । कक्षा ११ देखि स्नातकोत्तर (डिग्री) सम्म अध्यापन हुने क्याम्पसमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् । ४० प्राध्यापक र १० कर्मचारी कार्यरत रहेका छन् । ‘क्याम्पसमा राजनीति छिरेकै हो’ प्रमुख उप्रेतीले भने,‘प्राध्यापक क्याम्पसको हितभन्दा पार्टीगत रूपमा अघि बढ्दा यो अवस्था आएको हो ।’ उनले पार्टीका कार्यकर्ता क्याम्पस हाताभित्र प्रवेश गरेर अध्यक्षलाई कालोमोसो दलेको आरोप लगाए । बर्खास्त गरिएका प्राध्यापक तिम्सिनाले आफूले कुनै राजनीति नगरेको दाबी गरे । ‘तालाबन्दी, कालोमोसो दल्नेसम्मको घटना हुनुमा क्याम्पस प्रशासन जिम्मेवार छ,’ उनले भने, ‘क्याम्पस नीतिगत निर्णयबाट चल्न नसक्दा अहिलेको विवाद सिर्जना भएको हो ।’


प्रकाशित : कार्तिक २४, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?