कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

यात्रु अलपत्र

विनु तिम्सिना

(विराटनगर) — सप्तरीको सप्तकोशी नगरपालिका १ की २१ वर्षीय विनिता सुवेदीले धरानबारे आफन्त र साथीभाइबाट धेरै सुनेकी थिइन् । धरान हेर्ने चाहना उनमा तिब्र थियो । 

विराटनगरमा रहेका आफन्तलाई भेट्न आएकी विनिताले त्यही मौकामा धरान घुम्ने आफ्नो चाहना पूरा गर्ने सोच बनाइन् र शुक्रबार धरान जाने निधो गरिन् । आन्तरिक पर्यटनको प्रवर्द्धन पनि हुने र आफ्नो चाहना पनि पूरा हुने भएपछि उनी केही आफन्त र साथीहरूसँग सार्वजनिक बस चढेर धरान तर्फ लागिन् ।


बस पुरानो भए पनि उनी सकुसल धरान पुगिन् । धरानमा रहेका धार्मिक र अन्य पर्यटकीय क्षेत्रको अवलोकले पुलकित बनेको विनिताको मन फर्किएर इटहरी आइपुग्दा निराश बन्यो । धरान बसपार्कबाट विराटनगरसम्मका लागि भनेर चढेको को१ख ५३४३ नम्बर रोयल आयुस नामको बसले विनितालगायत धेरैजना यात्रुलाई बेलुका इटहरीमा ल्याएर अलपत्र छाडिदियो । यातायात व्यवसायीको यो दुर्व्यवहारले उनी लगायत अन्य यात्रुको मन पनि खिन्न बन्यो । ‘विराटनगरकै लागि भनेर धरान बसपार्कमा बस चढेका थियौं,’ उनले भनिन्, ‘तर इटहरी आइपुगेछि बसले रिजबर्ए छ भनेर ओराल्यो ।’


झमक्कै साँझ परिसकेको र साथमा सानो बच्चा पनि रहेकाले उनी लगायतका उनका आफन्तले विराटनगरसम्म पुर्‍याउन सहचालकलाई अनुरोध गरे । तर सहचालकले अर्को बसमा जान भन्दै दुर्व्यवहार गरेको उनको गुनासो छ ।


सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । प्रदेश १ मा मात्रै ५ लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य छ । तर यातायात व्यवसायीको यस्तै दुर्व्यवहार र रबैया रहने हो भने सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल हुने कुरामा उनको आशंका छ ।


विनिता मात्रै होइन विराटनगर १४ की मीरा कोइराला पनि धनकुटाको कुरुलेमा रहेका आफन्तलाई भेट्न सार्वजनिक बसमै जाने गर्छिन् । मनपरी भाडा लिने र गन्तव्यमा नपुर्‍याइ आधा बाटोमै छाड्ने सार्वजनिक बसको प्रवृत्तिले हैरान बनेको उनी बताउँछिन् । ‘मेरो माइती कुरुले हो आमाबुबालाई भेट्न गइरहन्छु,’ उनले भनिन्, ‘सधैजसो सार्वजनिक बसमै गइन्छ तर जहिलै फरक–फरक भाडा तिर्नुपर्छ । अझ कहिलेकाही त फर्कंदा विराटनगरसम्म भनेर चढाउँछन् अनि इटहरीमै ल्याएर सिट नभएको बसमा जानुस् भनेर अलपत्र पार्छन् ।’


भ्रमण वर्ष सफल बनाउन आन्तरिक पर्यटकको पनि महत्त्वपूर्ण भूमिका हुने र यसमा यातायात व्यवसायीको उत्तिकै भूमिका हुने पर्यटन व्यवसायी पुण्य भट्टराईको भनाइ छ । सार्वजनिक यातायातका साधनले गन्तव्यसम्म यात्रुलाई नपुर्‍याउने, दुर्व्यवहार गर्ने मनपरी भाडा लिने गरेको गुनासो धेरै पर्यटकले गर्ने उनले बताए ।


‘पर्यटन भ्रमण वर्ष सफल बनाउन सर्वप्रथम त हामीले आन्तरिक पर्यटनमा जोड दिनुपर्छ । हामीले आफ्नै क्षेत्रको घुमघाम गर्ने र त्यसको प्रचार गर्ने गरेको खण्डमा मात्रै विदेशी पर्यटकहरूको आगमन बढ्छ,’ उनले भने, ‘आन्तरिक पर्यटकहरू सार्वजनिक यातायातको प्रयोग गरेर पनि गन्तव्यमा पुग्न चाहन्छन् । तर, यातायात व्यवसायीले गन्तव्यमा नुर्पाइ आधा बाटोमै छाड्ने गैरजिम्मेवारपूर्ण हर्कतले आन्तरिक पर्यटन प्रवर्द्धनमा असर गर्छ ।’


चालु वर्षमा सार्वजनिक बसले बढी भाडा लिएको, जेष्ठ नागरिकलाई छुट नदिएको, यात्रुलाई गन्तव्यमा नपुर्‍याइ बीचबाटोमै अलपत्र पारेको लगायतका विषयमा ७६ वटा गुनासा प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीमा आएका छन् । प्रदेश एक ट्राफिक प्रहरी कार्यालय सुनसरीका एसपी भीम दाहालले सार्वजनिक बसका विषयमा यात्रुहरूको गुनासो दैनिकरूपमा आइरहने बताए । गन्तव्यमा नपुर्‍याई बीच बाटोमै छाड्ने गरेका घटना धेरै हुन्छन् तर यात्रुहरूले हतारमा ट्राफिक प्रहरीलाई गुनासो नगर्दा पनि बस चालकहरूको मनोबल बढेको उनको भनाइ छ ।


गन्तव्यमा नपुर्‍याइ बीच बाटोमै छाड्ने सवारी साधनविरुद्धमा ट्राफिक प्रहरीलाई घटना भएको तुरुन्तै उजुरी गर्न उनले आग्रह गरे । ‘काँकडभिट्टाबाट विराटनगरसम्म जाने भनेर यात्रु चढाउने अनि इटहरीसम्म ल्याएर यात्रु छाड्ने सार्वजनिक बसको गैरजिम्मेवारीपूर्ण व्यवहार अझै सुध्रिएको छैन्,’ उनले भने, ‘यस्ता घटना हुनासाथ १०३ मा जोसुकैले फोन गरे पनि हामी तुरुन्त एक्सन लिन्छौं ।’


प्रदेशसभाबाट प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेको छ । प्रदेश सरकारले बनाएको कानुनमा पनि सार्वजनिक यातायातका धनी र चालकले यात्रु तथा मालसामान सुरक्षितसाथ तोकिएको समयसीमामा गन्तव्यमा पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ । साथै तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नमिल्ने, यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने लगायतका धेरै व्यवस्था गरिएको छ । प्रदेशसभाले विधेयक पास गरे पनि कानुन भने कार्यान्वयनमा नल्याउँदा सार्वजनिक यातायातका साधनको सुधार हुन सकेको छैन ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?