२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पाथीभराको भेटी एक वर्षमा २ करोड

कान्तिपुर संवाददाता

(ताप्लेजुङ) — ताप्लेजुङमा रहेको धार्मिक स्थल पाथीभरामा १६ महिनामा २ करोड ५ लाख ५२ हजार रुपैयाँ भेटी संकलन भएको छ । यो २०७५ असार मसान्तदेखि २०७६ कात्तिक १५ गतेसम्म संकलित रकम हो ।

तिर्थयात्रीले चढाएको नगद भेटी १ करोड ८० लाख ५५ हजार र सिक्काको १८ लाख ५० हजार भएको भेटिपाती व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । मादेनका अनुसार अघिल्लो वर्ष १ करोड १२ लाख १५ हजार रहेको थियो ।


यो अवधिमा पाथीभराको विकासका लागि दाताले ६ लाख ४७ हजार १ सय ९५ रुपैयाँ सहयोग गरेको मादेनले बताए । संकलित भेटी जिल्लाका विभिन्न बैंकमा संकलन गरिन्छ । संकलित भेटीको व्याजवापत ३ लाख ६७ हजार ४ सय १२ रुपैयाँ आय भएको छ ।


भेटिपाती समितिको खातामा १६ वर्षमा ३ करोड २१ लाख ३५ हजार ४ सय ९७ रुपैयाँ जम्मा भएको समितिले जनाएको छ । समितिले आर्थिक वर्षमा सबैभन्दा बढी सुकेटारदेखि काफ्लेपार्टीसम्मको सडक मर्मतमा खर्च गरेको छ । यहाँ ७९ लाख ९१ हजार खर्च भएको मादेनले बताए । १२ किमि यो सडक कच्ची छ । यसमा ढुंगा लगाएर सोलिङ गर्ने काम गरिएको छ । सडकमा पानी पर्न नदिन दैनिक ज्यालादारमीा हेरालु राखिएको छ ।


मन्दिरका पूजारी, सरसफाइ गर्ने कर्मचारीका लागि २८ लाख ३४ हजार, माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीको भत्ता वापत १ लाख ९५ हजार, भेटी गणना ज्याला २ लाख ९८ हजार र भेटी ढुवानीमा २ लाख ३४ हजार खर्च भएको छ । पाथीभरा जाँदा बिरामी भएकाको उद्धारमा १ लाख खर्च भएको छ ।


कार्यालय सञ्चालन, सीसी क्यामरा जडान, पाथीभरा सद्भाव दूत सम्मान लगायतका गतिविधिमा खर्च भएको समितिले शुक्रबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । समितिले खर्च गरे पनि अब १ करोड ८० लाख २७ हजार रुपैयाँ खातामा रहेको मादेनले बताए ।


यता, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले आजीवन र विशिष्ट सदस्यताबाट १२ लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ । कोषाध्यक्ष मात्रिकाप्रसाद नेपालका अनुसार विशिष्ट सदस्यबाट ११ लाख ५ हजार र आजीवन सदस्यबाट १ लाख ६३ हजार संकलन भएका हो । नागरिक स्तरबाट गठित समितिले आजीवन र विशिष्ट सदस्यता वितरण गर्दै आएको छ । यो रकम यहींको विकास निर्माणमा खर्च हुने नेपालले बताए । पाथीभरामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पाथीभरा क्षेत्र विकास समिति, नागरिक स्तरबाट गठित संरक्षण समिति र भेटिपाती व्यवस्थापन गरी तीनवटा समिति क्रियाशील छन् ।


सरकारले गठन गर्नुअघि नागरिक स्तरबाट गठित समितिले काम गर्दै आएको थियो । क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेका अनुसार मन्दिरमा नियमित बस्ने पूजारी, तीर्थयात्रीले चढाएको भेटी संकलन गर्ने कर्मचारी, स्वास्थ्यकर्मी राखिएको छ । पाथीभरामा संकलित भेटी प्रहरीको रोहवरमा प्रत्येक दिन लाहाछाप गरी माथिल्लो फेदीमा ल्याएर राखिन्छ ।


फेदीबाट अनुकुलताअनुसार सदरमुकाम ल्याएर गणना गरिन्छ । संकलित रकम समितिको निर्णयअनुसार यहाँको निर्माणमा खर्च हुन्छ । यो रकमबाट धर्मशाला बनाउने, पाथीभरामा विद्युतीकरण गर्ने, पानी संकलन तथा व्यवस्थापन गर्ने, पैदलमार्ग निर्माण तथा मोटरबाटो मर्मत गर्ने लगायतका काम हुँदै आएका छन् ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?