१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

५ जिल्लामा लेखा एकाइ

कान्तिपुर संवाददाता

(विराटनगर) — प्रदेश १ सरकारले प्रदेशका पाँच जिल्लामा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा एकाइ स्थापना गर्ने भएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । झापा, मोरङ, पाँचथर, धनकुटा, ओखलढुंगा र उदयपुरमा लेखा एकाइ स्थापना गरिने भएको छ । 

बैठकले छिन्ताङ घटनाका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । २०३६ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको हो ।


यस्तै धरानमा स्थापित वन निर्देशनालयमा दशौं तहका रविन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने, प्रदेश यातायात निर्देशनालय गठन नभइसकेकाले मन्त्रालयले नै सो काम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले कात्तिक २९ गते अन्तर्राष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्ने, प्रदेश योजना आयोग–गठन तथा कार्य सञ्चालन आदेश– ०७५ को अनुसूची–२ थप गर्ने, प्रदेश समपुरक अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्ने, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन संशोधन गर्ने र सामाजिक विकास मन्त्रालय योजना तथा कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले बर्खास्त गरेको तत्कालीन प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।





प्रकाशित : कार्तिक २३, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?