१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मनकामनामा गंगा आरती

कान्तिपुर संवाददाता

(संखुवासभा) — स्वर्गीय गायक खेमराज गुरुङको वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना बोलको लोकभाकाबाट ख्याती कमाएको एक नम्बर प्रदेशको प्रशिद्ध धार्मिक तीर्थ स्थल मनकामनामा तीन दिनदेखि ठूलो जमघट छ । मनकामनामा पूजा गरेर वर माग्दा मन:कामना पूरा हुने, आफूले चिताएको पुग्ने र दीर्घायु हुने लगायतका मान्यता छन् । प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा मेला लाग्ने गर्छ ।

मनकामनामा गंगा आरती

हरिबोधिनी एकादशीको अवसरमा यहाँको खाँदबारी नगरपालिका ९ स्थित अरुण किनारमा रहेको मनकामना मन्दिरमा बिहीबार रातिबाट मेला लाग्न सुरु भएको हो । यहाँ लागेको मेला तीन दिन अर्थात् शनिबारसम्म चल्छ । यो वर्ष मनकामनामा गंगा आरती समेत गरिएको छ । जसका कारण पनि तीर्थालुको भीड निक्कै छ । बनारसबाट पण्डित झिकाएर गंगा आरती गरिएको यो पहिलो पटक हो । प्रचारप्रसारका लागि आयोजकले यो वर्षबाट फरक ढंगले मेला लगाएको जनाए ।


मेला भर्न, पूजा पाठ गर्न र युवा जोस देखाउँदै बजारमा रमाइलो गर्न वृद्धवृद्धादेखि युवायुवतीको घुइँचो लागेको छ । वैदेशिक रोजगारका लागि र लाहुर जाने भनेर घर छोडेर जान सयौं युवाले मन:कामना र यात्रा पूरा होस् भनेर भाक्ने गर्छन् । विशेष गरेर मेलामा युवा युवतीको निक्कै जमघट बढेको छ ।


बिहीबार बिहानैबाट मादल बजाएर एकादशी बजारैमा भन्ने गीतको तालमा रमाइलो गर्दै युवा युवती जोसका साथ मनकामना बजारतर्फ लागिरहेका थिए । अरुण नदीको बगर र मनकामनाको चौरमा रात भर भक्तजन जम्मा हुने र जाग्रम बस्ने गर्छन् । वृद्धवृद्धा, केटाकेटी र युवायुवती सबै जना बजार हेर्न र एकादशीका तालमा मादल बजाउँदै नाचगानमा व्यस्त हुन्छन् । एकादशीको लोक भाकामा केटा र केटी पक्ष मिलेर दोहोरी खेल्नेको भीड जताततै देख्न सकिन्छ । यो पुरानै चलन हो ।


भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा लगायत तराईका विभिन्न जिल्लाका र विदेशी पर्यटकको समेत मेलामा भीड लाग्ने गरेको छ । एकादशीका अघिल्लो दिन बिहानैबाट मनकामना दर्शन गर्न आउने र मेला भर्नेहरू प्रत्येक वर्ष यहाँ आउने गर्छन् ।


जिल्लाको विशेष महत्त्व बोकेको यो धार्मिक तीर्थ स्थलको संरक्षण अभावमा कतै यसको अस्तित्व नै गुम्ने डर पनि उत्तिकै रहेको खाँदबारी नगरका प्रमुख मुरारीप्रसाद खतिवडा बताउँछन् । उनका अनुसार मन्दिर तथा मनकामना बजार व्यवस्थापन समितिले समेत यसको संरक्षणमा ध्यान नपुर्‍याउँदा समस्या उत्पन्न भएको हो । अब नगर प्रमुखको अध्यक्षतामा बृहत्तर मनकामना विकास समिति गठन भएको छ, उनले भने, अब संरक्षणमा जुट्ने छौं । मनकामनामा बर्सेनि एकादशीका बेलामा २० हजारभन्दा बढी भक्तजन आउने गर्छन् ।


मेलामा सहभागी भएपछि दर्शनार्थीले अरुण नदीमा नुहाएर व्रत लिने चलन रहेको तुम्लिङटार स्पोटिङ क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले बताए । उनका अनुसार तिहारका बेला भाइटीका लगाउन नपाएका चेली र माइतीले समेत मनकामना मन्दिर परिसरमा रातभर जाग्रम बसेर आफ्नो दाजुभाइलाई तिहारको फूलका माला लगाइदिने चलन पनि छ । ५ सयभन्दा बढीले यो वर्ष यसरी टिका लगाएको उनले बताए ।


यसरी नै चेलीको हातबाट टीका थाप्न नपाएका माइतीले समेत बजारमा आएका युवतीहरूसँग बहिनीको नाता गाँसेर फूलमाला र टीका थाप्ने गर्छन् । दुवै पक्षले दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै बिहान अरुण नदीमा स्नान गरेर घर फर्कने चलन छ ।


मनकामनामा रातभर जाग्रम बसेर भोलिपल्ट बिहान वा एकदशीका दिन व्रत बस्नाले मन:कामना पूरा हुन्छ भन्ने विश्वास छ । विस १९३२ सालमा स्थापना भएको यो मन्दिरमा त्यो बेलादेखि नै भक्तजनको भीड भने लाग्ने गरेको स्थानीय बसिन्दाले बताए ।

प्रकाशित : कार्तिक २३, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?