माईपोखरीमा १८ वर्षपछि मेला

कान्तिपुर संवाददाता

इलाम — हरिबोधनी एकादशीको अवसरमा इलामको माइपोखरीमा मेला लागेको छ । धार्मिक, जैविक र पर्यटकीय महत्त्वको माइपोखरीमा १८ वर्षपछि यो पटक औपचाररिकरूपमा मेलाको आयोजना गरिएको हो । अघिल्ला वर्षमा अघोषितरूपमा मेला लाग्ने गरेको थियो । 

माईपोखरीमा १८ वर्षपछि मेला

रामसार क्षेत्रमा सूचीकृत इलामको माइपोखरीमा एकादशी मेला भर्नेको शुक्रबार बिहानैदेखि घुइचो लागेको थियो । धार्मिक परम्पराअनुसार लाग्दै आएको एकादशी मेलाको अवसरमा पाठपूजा गर्ने र नुहाउने उज्ञेश्यले श्रद्धालु पुग्ने गर्छन् ।


मेलाको अवसरमा वडास्तरीय महिला फुटबल र पुरुष भेट्रान फुटबलको समेत अयोजना गरिएको छ । त्यस्तै यहाँको मौलिक मारुनी नाचसहित विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरिएको थियो ।


धार्मिक क्षेत्रको प्रवर्धन र प्रचार गर्दै सिंगो सन्दकपुर क्षेत्रको पर्यटकीय गतिविधि बढाउने उद्देश्यले मेलाको आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले जानकारी दिए । ‘यस क्षेत्रका पर्यटकीय स्थलहरू सन्दकपुर, टोड्के झरना, ढापपोखरी, हाँगेथाम, छिन्टापु, मावुथाम, जौवारीलगायत समग्र पर्यटकीय क्षेत्रमा भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरिनेछ,’ उनले थपे, ‘सडकलगायत पूर्वाधार विकासका कामलाई अघि बढाइकाले घुमघामका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुनेछ ।’


स्थानीय उत्पादनका विभिन्न स्टल रहेको मेलामा स्थानीयस्तरमा उत्पादन भएका खाद्यबालीबाट बनेका खानाका परिकार, दुग्धपदार्थका सामग्री, किवी, सुन्तलालगायत फलका स्टल राखिएको छ । गाउँपालिकाले एकादशी मेलाकै अवसरमा शुक्रबार सार्वजनीक बिदा समेत दिएको छ । गाउँपालिकाको सहयोगमा सुरु भएको मेलामा स्वदेशी तथा विदेशी गरी १५ हजारभन्दा बढी पर्यटक भित्रिने आयोजकको भनाइ छ ।


मेलाकै अवसर पारेर माईपोखरी नजिकै गाउँपालिकाले निर्माण गरेको पोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले संरक्षण गरेको पोखरीमा २ वटा डुंगा सञ्चालनमा ल्याइएको छ । माइपोखरी पुगेका पर्यटकले अब डुंगामा शयर गरी आनन्द लिन पाउने छन् । २ वर्ष अघिदेखि नै सन्दकपुर गाउँपालिका ५ जमुनाको ढाप पोखरीमा डुंगा सञ्चालन हुँदै आएको छ ।


सदरमुकाम इलामबाट १५ किमि उत्तरमा पर्ने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसारमा सूचीकृत गरिएपछि माइपोखरीले विश्वव्यापी पहिचान बनाएको हो । साक्षात देवीका रूपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिए पनि बलिप्रथा भने निषेध छ ।


हिन्दु, बौद्ध, र किराँतलगायत सबै धर्मको आस्थाको केन्द्र माइपोखरीमा वैशाख १ गते नयाँ वर्ष र हरिबोधनी (ठूली) एकादशीका दिन विशेष पूजा र मेला लाग्ने प्रचलन छ ।


प्रकाशित : कार्तिक २३, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?