धानबाली रुङ्न रूखको बास

कान्तिपुर संवाददाता

(बाहुनडाँगी, झापा) — भारतीय सीमावर्ती झापा मेचीनगर १ बाहुनडाँगीका किसान विनोद राईको बास रूखमा छ । घर नभएर होइन । हात्तीबाट धान जोगाउन उनी चार महिनादेखि रूखमा कटेरो बनाएर बसेका हुन् । 

धानबाली रुङ्न रूखको बास

अर्का किसान जीवन सारु मगर पनि रूखमै रात काट्छन् । ‘धान रोपेको महिना दिनदेखि रूखमै रात बिताउन थालेका हौं,’ उनले भने, ‘घरमा नसुतेको महिनौं भइसक्यो ।’ धान रोपेदेखि नभित्र्याएसम्म रूखमै बास बस्छन् ।

यो वडाका गाउँले सधैं हात्तीबाट पीडित छन् । धान, मकैजस्ता बाली भित्र्याउने बेलामा गाउँलेलाई कष्ट हुने गरेको छ । किसान अमर तामाङका अनुसार हात्ती आएपछि रूखमाथि बसेर धपाउनु पर्छ । ‘पटका र पुल्ठोको सहारामा धपाउँछौं,’ उनले सुनाए, ‘नत्र बाली स्वाहा पारिहाल्छ ।’


अर्का किसान बिर्ख खातीका अनुसार साँझ परेपछि मेचीपारिको भारतीय जंगल टुक्रे फरेष्टबाट हात्तीको लस्कर आइपुग्छ । विद्युतीय तार समेत भत्काएर बाली खान छिर्छन् । खातीका अनुसार अहिले दैनिक ४, ५ वटाको संख्यामा हात्ती आइरहेका छन् ।


समुदायमा आधारित मानव–हात्ती द्वन्द्व व्यवस्थापन परियोजना अन्तर्गत सरकारले चार वर्षअघि इलामको जिर्मले ३ दुधेदेखि झापाको मेचीनगर ६ नकलबन्दा क्षेत्रसम्म करिब १८ किमि क्षेत्रमा तारबार गरेको थियो । तारबार निर्माणपछि हात्ती आतंक रोकिने अनुमान सरकारको थियो । तर, स्थानीयले अझै मुक्ति नपाएको स्थानीय रामबहादुर भुजेलले बताए । ‘तारबारले हन्जा हात्ती चै रोकेको सही हो’, भुजेलले भने, ‘तर एक्ले दुक्ले हात्ती चै रोक्न सकेन ।’ उनका अनुसार रातको समयमा तारमा विद्युत् प्रवाह हुन्छ । तर, हात्ती करेन्टको पर्वाह नगरी छिर्ने र बाली नष्ट गर्छन् ।


भारतबाट आएका हात्तीले बाहुनडाँगी मात्रै होइन, छिमेकी गाउँहरू शान्तिनगर, बुधबारे, शनिश्चरेमा समेत उपद्रो गर्छन् । यो क्षेत्रका बासिन्दा झन्डै आधा शताव्दीभन्दा लामो समयदेखि जंगली हात्ती आतंकको पीडा खपिरहेका छन् । ‘बाली पाक्ने बेलामा हात्तीको आतंक अरू बेलाभन्दा दोब्बर बढ्छ,’ स्थानीय जमानसिंह तामाड भन्छन्, ‘बालीभन्दा पनि ज्यान चाउनै मुस्किल पर्छ ।’


सरकारले विश्व बैंकको सहयोगमा १ करोड ३० लाखको लागतमा विद्युतीय तारबार लगाएको हो । तर, मर्मत नहुँदा हात्तीलाई छिर्न सहज भएको अनुमान स्थानीयको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?