३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोसीमा डुंगा चलाउँदै तेस्रो पुस्ता

सुम्निमा चाम्लिङ

(इटहरी) — सुनसरी बराहक्षेत्र ९ का देवनारायण मण्डल अढाई दशकदेखि कोसी नदीमा डुंगा खियाउँदै आएका छन् । डुंगा चलाउनु पुर्ख्यौली पेसा भएकाले निरन्तरता दिंदै आएको मण्डलले बताए ।

कोसीमा डुंगा चलाउँदै तेस्रो पुस्ता

‘मेरा बाजे र बुबाले पनि डुंगा चलाउनुहुन्थ्यो,’ उनले भने, ‘पुर्खाको सीप मास्न भएन । त्यसैले हामी दाजुभाइ डुंगा चलाउँछौं ।’ यस पेसालाई उनका भाइले पनि अंगालेका छन् । सिसौला घाट र राजावास घाटमा यी दाजुभाइ डुंगा चलाउने गर्छन् । कृषि र डुंगा उनीहरूको जीवन निर्वाह गर्ने माध्यम हो । बुवाले डुंगा चलाउने भएकाले उनलाई यस पेसा सिक्न त्यति गाह्रो भएन ।


बुवालाई सानैदेखि डुंगा चलाउन सघाउने गर्थे । सानैदेखि पला चलाउन खुबै रहर गर्ने उनले आजसम्म पुर्ख्यौली पेसालाई माया मार्न सकेका छैनन् । बिहान आठदेखि साँझसम्म यात्रुलाई वारि र पारि गन्तव्यमा पुर्‍याउनु उनको दैनिकी हो ।


प्रायजसो उनी राजावास घाटमा डुंगा चलाउने गर्छन् । यहाँबाट करिब एक घण्टाको डुंगा यात्रापछि श्रीलंका टापु पुग्न सकिन्छ । टापुसम्म पुग्न प्रतिव्यक्ति ५० रुपैयाँ लिने गरेका छन् । दुई दशकअघि सुरुका दिनमा डुंगा चलाउँदा एकजना यात्रु बराबर टापु पुग्न १० रुपैयाँ लिने गर्थे । सानो र ठूलो गरी उनको पाँच वटा डुंगा रहेको छ । यात्रुको क्षमता हेरेर डुंगा प्रयोग गर्ने गरेको उनले बताए । उनको सबैभन्दा ठूलो डुंगा करिब २ लाख रुपैयाँ लगानीमा बनेको छ । एक सय यात्रु अटाउने डुंगाको क्षमता छ । दैनिक ५ सयदेखि ५ हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । उनले भने, ‘डुंगा चलाउन एक्लैले सकिँदैन । मलायहरू (सहयोगी) चाहिन्छ । सबै खर्च कटाएर ठिकै आम्दानी भएको छ ।’


राजावास घाटमा यात्रु ओसार्ने दुईवटा मात्र डुंगा छन् । त्यसमा एउटा डुंगा देवनारायणको हो । असार र भदौ महिनामा डुंगा बन्द हुने गर्छ । सोही समयमा उनी खेतीपाती गर्ने गर्छन् । डुंगा चलाउने मानिस सधैं होसियार हुनुपर्ने उनको सुझाव छ । ‘डुंगाको बाटो (रुट) थाहा हुनुपर्छ,’ उनले भने, ‘नदीको छाल आउँदा डुंगा पल्टन सक्छ । डुंगा पल्टिहालेमा यात्रुलाई कसरी बचाउन सकिन्छ ज्ञान हुन जरुरी छ ।’ यतिका वर्षसम्म डुंगा चलाएका उनको आजसम्म डुंगा दुर्घटना भने भएको छैन । दुई छोरा, चार छोरी, श्रीमती र आमाको हेरचाह कृषि र डुंगाबाट आएको आम्दानीबाट गर्ने गरेका छन् । सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन र औषधि उपचार खर्च पुगेको उनी बताउँछन् । कोसीका छालहरूसँग खेल्ने बानी भएकाले होला, आजका दिनसम्म उनको मन कुनै छालले उथलपुथल गराउन सकेको छैन । उनीसँगैका साथीहरू कोही विदेशिए । कोही भविष्य खोज्दै सहर पुगे । उनलाई भने अझै डुंगा खियाउने रहरले छाडेको छैन । ‘यतिका वर्षसम्म डुंगा चलाए । अझै उमेरले साथ दिएसम्म डुंगा चलाउँछु,’ उनले भने । सधैं हातको भरमा मात्र डुंगा चलाउने उनी विगत पाँच वर्षदेखि भने पम्पसेट मेसिनमार्फत डुंगा चलाउने गरेका छन् ।


मेसिनमार्फत डुंगा चलाउँदा निकै सहज हुने उनको भनाइ छ । पहिलोपल्ट डुंगा चढ्नेहरू निकै डराउने गरेको रमाइलो अनुभव सुनाए । यात्रुलाई समयमा पुर्‍याउन नसके गालीसमेत सहनुपर्ने उनी बताउँछन् ।


डुंगा प्रयोग गरेबापत राजावास घाटको तीनदेखि पाँच लाख र सिसौला घाटको सात लाखसम्म नगरपालिकालाई कर बुझाउने गरेका छन् । दिनभरि पानीमा यात्रा गर्नुपर्ने भएकाले निकै थकान लाग्ने गरेको उनले बताए । आजसम्म कति जना यात्रुलाई तारे उनीसँग कुनै लेखाजोखा छैन ।


उनले नदी तारेका सयौं मानिसहरू कुन–कुन स्थानमा पुगे होला । तर उनी भने आज पनि त्यही किनारमा उभिएर यात्रु तारिरहेका छन् । डुंगा खियाउँदा उनले कहिल्यै पनि आफ्नो मन खियाएनन् । उल्टै डुंगामा हुन सक्ने जाखिमलाई पन्छाउँदै आफ्नो जीवन अघि बढाउँदै छन् । यो घाट छाडेर कतै जाने रहरसमेत नपालेका उनले यही नदीमा आफ्नो ऊर्जाशील समय बिताए । उही पुरानो काठे डुंगा चलाउन पाउँदा उनी आफ्नो पुर्खाको चिनो सम्हाल्न पाएको अनुभूति गर्छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?