उपनिर्वाचन : मतदाता रिझाउन रोड शो

कान्तिपुर संवाददाता

(सुनसरी) — राजनीतिक दलहरूले मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गरी प्रमुख पदको उम्मेदवार घोषणा लगत्तै धरान उपमहानगरमा चुनावी अभियानलाई तीव्र बनाएका छन् । 

दुई ठूला प्रतिस्पर्धी दलमध्ये नेकपाले २१ सय सदस्यीय र कांग्रेसले ३३ सय सदस्यीय निर्वाचन परिचालन मूल कमिटी बनाएका छन् । दुवै दलले चुनावी कार्यक्रमका तालिका सार्वजनिक गरेका छन् । मतदाताको ध्यानाकर्षण गर्न प्रचारात्मक अभियानसँगै र्‍याली, रोड शो, घरदैलो, टोलसभा गर्ने प्रतिस्पर्धा दुई पार्टीबीच चलेको छ । धरानमा प्रमुख पदका लागि एक स्वतन्त्रसहित सात जनाले उम्मेदवारी दिएर आफ्नो एजेण्डासहित प्रचारमा जुटेका छन् । उपनिर्वाचनमा प्रमुख पदका लागि नेकपाबाट प्रकाश राई, कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र इस्वो, साझा पार्टीबाट राजकुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्र मगर, संघीय लिम्बुवान मञ्च नेपालबाट अमर इजम, स्वतन्त्रबाट हर्क साम्पाङ मैदानमा उत्रिएका छन् ।


उपनिर्वाचन नजिकिएपछि विभिन्न दलहरूले उम्मेदवारी घोषणा गरेपछि धरानमा राजनीतिक सरगर्मी बढेको छ । नेकपाले पुरानो राजनीतिक विरासतलाई कायम राख्न जिल्ला सचिव रमेश बस्नेतको संयोजकत्वमा २१ सय सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यीय धर्म निरौलाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । उक्त समितिमा केन्द्रीय, प्रदेश र स्थानीय नेताहरू छन् ।


नेकपाका निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतले भने, ‘उम्मेदवारी घोषणासँगै चुनावी अभियान तातिएको छ । विपक्षीले लगाएका आरोपलाई चिर्दै मतदाताको घरदैलो पुग्ने क्रम बाक्लिएको छ ।’ उनले नेकपाले धरानमा चुनाव जित्ने आधार धेरै भएको दाबी गर्दै कांग्रेसलाई कम्तीमा ७–८ हजारको फरक मतले जित्ने बताए ।


कांग्रेस सत्तामा रहेको बेलादेखि नै धरानबाट आधा दर्जन बढी क्षेत्रीयस्तरका सरकारी कार्यालयहरू, आधा दर्जन अञ्चल र जिल्लास्तरीय सरकारी निकायहरू रातारात सारिएकाले धरानको विकास निर्माण सुस्त हुँदाहुँदै पनि धराने जनताले आफ्नै मिहिनेत र श्रमले धरानको विकास निर्माण गरेको बताए । उनले भने, ‘जनताका अपेक्षा धेरै छन् । कतिपयमा आक्रोश पनि छ । ती अपेक्षा पूरा गर्न र उनीहरूका आक्रोश शान्त पार्न जनताले फेरि धरानमा नेकपालाई जिताउनेछन् ।’ उनले पहिलेका चुनावहरूमा केन्द्रीय सत्ता कांग्रेसको हुँदा धरानमा वामपन्थीले जित्ने गरेकाले धरानको विकास निर्माणमा कांग्रेसले बेवास्ता गर्ने गरेको उल्लेख गर्दै अहिले केन्द्र र प्रदेशमा नेकपाकै सत्ता भएकाले धरानको तीव्र विकास निर्माणका लागि जनताले नेकपालाई नै जिताउनुपर्ने बताए ।


कांग्रेसको निर्वाचन मूल परिचालन स्टेयरिङ कमिटीका सदस्य तथा नगरसचिव श्याम पोखरेलले दसैंअगाडि नै धरान कांग्रेसले सर्वसम्मतले उम्मेदवारी सिफारिस गरिसकेकाले बजार क्षेत्रबाहेक गाउँक्षेत्रमा एक चरण घरदैलो अभियान सकिएको बताए । उनले भने, ‘०४६ पछि लगातार वामपन्थीले जितेको धरानमा वामपन्थीले जनताको हितमा कुनै काम नगरेकाले यसपटक कांग्रेसलाई मत दिनेहरूको संख्या बढेको घरदैलो अभियानबाट बुझियो ।’ उनले तात्कालीन एमाले जनप्रतिनिधिले धरानको बसपार्क, खानेपानी, एयरपोर्ट र सुकुम्बासी समस्या समाधान गर्न नसकेकाले धरानका मतदाताले विकल्प खोजेको बताए । झन् पछिल्लो समयमा स्थानीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेकाले नेकपाप्रति मतदाताको रुझान घटेको दाबी पनि पोखरेलले गरे । जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार २० वटा वडा रहेको धरान उपमहानगरपालिकामा ०७४ मा मतदाता संख्या ७९ हजार २ सय ९० थियो । अहिले मतदाता संख्या बढेर धरानमा ९२ हजार ८ सय ५३ जना पुगेका छन् ।


०७४ असार १४ गतेको स्थानीय तहको निर्वाचनमा धरान उपमहानरपालिकामा तात्कालीन एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर जितेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । एमालेसँग फराकिलो मतान्तरले पराजित भएका कांग्रेसका राई उपनिर्वाचनमा फेरि प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसबेलाको चुनावमा माओवादी केन्द्रले संघीय समाजवादीसँग तालमेल गरेर उठेका संयुक्त उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत पाएका थिए ।


पाँचथरमा ३१ मतदान केन्द्र

ताप्लेजुङ– उपनिर्वाचनका लागि पाँचथरका तीनवटा स्थानीय तहमा १७ वटा मतदानस्थल रहने भएका छन् । तिनमा ३१ मतदान केन्द्र हुनेछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अध्यक्ष पदका लागि निर्वाचन हुने फाल्गुनन्द गाउँपालिकामा १३ वटा मतदानस्थल र २३ मतदान केन्द्र तोकिएको छ । सदरमुकाम फिदिम नगरपालिका वडा १ मा १ मतदानस्थल र ४ वटा मतदान केन्द्र र हिलिहाङ गाउँपालिका ७ मा ३ वटा मतदानस्थल र ४ वटा मतदान केन्द्र तोकिएको छ ।


फिदिम नगरपालिका वडा १, हिलिहाङ गाउँपालिका वडा ७ मा वडाध्यक्ष र फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७, फिदिम नगरपालिका १ मा ३ हजार ६ सय ७६ र हिलिहाङ गाउँपालिका ७ मा २ हजार ६ सय मतदाता छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट फाल्गुनन्द अध्यक्षमा निर्वाचित अम्बरकुमार नेम्वाङ र फिदिम नगरपालिका १ मा कांग्रेसबाटै निर्वाचित हर्कबहादुर मोक्तान र हिलिहाङ ७ मा तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष तीर्थ तिम्सिनाको निधन भएपछि पद रिक्त थियो । निर्वाचनका लागि दलहरूले तयारी तीव्र बनाएका छन् । तीनवटै स्थानीय तहमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तीबाहेक समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्च र राप्रपासहितका दलले उम्मेदवार टुंगो लगाउँदै मतदाताबीच भेटघाटलाई तीव्र बनाएका छन् ।


कास्कीमा तात्यो माहोल


पोखरा – उम्मेदवारको टुंगोसँगै कास्की– २ को प्रतिनिधिसभा उपनिर्वाचनमा राजनीतिक दल होमिएका छन् । हालसम्म कांग्रेसबाहेक सबैजसो पार्टीले उम्मेदवार टुंग्याइसकेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले मंगलबार चुनावी योजना सार्वजनिक गरेको छ ।


पोखरामा सोमबार बसेको जिल्ला समितिको पाँचौं बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कृष्ण थापाले आक्रामक चुनावी योजना बनाएको बताए । ‘वैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचारसहित कास्की २ मा पार्टीका उम्मेदवार विद्या भट्टराईलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनेछ,’ उनले भने । नेकपा कास्कीले जिल्ला इन्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा निर्वाचन मूल कमान्ड कमिटी बनाएको छ । जिल्ला अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा २ हजार ६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जिल्ला नेताको संयोजकत्वमा चुनाव हुने महानगरका ११ वटै वडामा वडास्तरीय निर्वाचन कमान्ड टिम बनेको छ । कात्तिक २१ मा क्षेत्र नम्बर २ उपनिर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने, उम्मेदवार र जुलुससहित उम्मेदवारी दर्ता गर्न जाने, कात्तिक २३ मा निर्वाचनसँग सम्बन्धित जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण गर्ने, प्रशिक्षणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले सम्बोधन गर्ने, कात्तिक २४ मा निर्वाचन क्षेत्रमा पर्ने ११ वटै वडा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने नेकपा कास्कीको योजना छ ।


साझा पार्टीले तिहारदेखि नै प्रचारप्रसार थालेको छ । निर्वाचन क्षेत्रमा तिहारमा देउसीभैलो खेलेको साझा पार्टीले हाल मतदातासम्म पुग्न घरदैलो गरिरहेको छ । उम्मेदवार रजनी केसीले वैकल्पिक राजनीतिको मुद्दासहित मत मागिरहेकी छन् । घरदैलोमा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र सहभागी छन् ।


समाजवादी पार्टी नेपालले कास्की–२ मा इन्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । पार्टीले मंगलबार पत्रकार सम्मेलनमार्फत चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्‍यो । गुरुङले देशले राजनीतिक विकल्प खोजेको र उक्त विकल्प समाजवादी पार्टी बन्ने दाबी गरे । विवेकशील नेपाली दलले पनि मंगलबार नै उम्मेदवार घोषणा गरेको छ । उक्त पार्टीले कास्की–२ मा जमुना शर्मा र बागलुङ २(२) मा सन्तोष भण्डारीलाई उठाउने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पोखरा–६ कि जमुना शर्मा महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् । राप्रपाले यसअघि रोमनाथ भण्डारीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।



प्रकाशित : कार्तिक २०, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?