पाथीभरामा १६ हजार किलो तामाको द्वार

कान्तिपुर संवाददाता

(ताप्लेजुङ) — पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो । 

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको छ । निर्माण समितिका संयोजक सुरेश लिम्बूका अनुसार पाथीभराको उत्पत्ति कथा झल्कने गरी द्वार निर्माण गरिएको छ । यो पहिला सयौंको संख्यामा भेडाको गोठ राख्ने क्षेत्र हो । गोठहरू अहिले पनि राखिन्छन् ।

द्वार निर्माणमा २४ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यो रकम ढुवानी र कला भर्न बढी रकम लागेको उनले बताए । मन्दिरबाट तामाका सामग्री काठमाडौं पुर्‍याएर त्यसलाइ उजिल्याएर पाता/पाता बनाएर ल्याएर जडान गरिएको हो । पाथीभरा जाने तीर्थयात्रीका लागि तामाको द्वार फोटो खिचाउने आकर्षण बनेको छ । यसअघि मन्दिर, कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमशृंखलासँगै तस्बिर लिनेहरूले अहिले स्वागतद्धारप्रति आकर्षित भएका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०९:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एक टोल एक उत्पादन कार्यक्रम सुरु

कान्तिपुर संवाददाता

(तेह्रथुम) — गाउँपालिकाभरका किसानलाई उत्पादन र बजारीकरणसँग जोड्न छथर गाउँपालिकाले ‘एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै किसानसम्म पुग्ने गरी सञ्जाल गठन गरेर गाउँपालिकाले कार्यक्रमको सुरुआत गरेको हो ।

त्यसका लागि चालु आवमा खर्च गर्ने गरी ६० लाख रुपैयाँ बजेट नै व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । प्रत्येक वडाका प्रत्येक टोलमा हावापानी सुहाउँदो कृषिउपज, पशु र पन्छीपालनका लागि विनियोजित बजेट खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि माटो परीक्षण, पशुपालनका लागि घाँसको परीक्षण र पन्छी र माछापालनका लागि समेत अध्ययन भैरहेको छ । त्यसका लागि विज्ञसहितको टोलीले टोल बस्तीमै पुगेर अध्ययन गरिरहेको प्रवक्ता नेपालीले जनाए । कुन टोल बस्तीमा कुन कृषिउपज उत्पादन हुन्छ भन्ने विज्ञ समूहले पहिचान गरी गाउँपालिकासमक्ष सिफारिस गरेका छन् । पशुपालनमा गाई, भैंसी र बाख्रापालनलाई प्राथमिकतामा राखिएको छ । माछा, मौरी, कुखुरा, हाँस, टर्की, कालिजलगायतका पन्छीपालनका लागि समेत प्राथिमिकतामा राखेर अध्ययन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । अकबरे खुर्सानीलाई गाउँपालिकाको मुख्य मसलाबाली उत्पादनको रूपमा लिइएको छ । कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाकै सक्रियतामा सबै वडा समेटिने गरी १ सय २७ वटा टोल विकास संस्थासमेत गठन गरिएको छ । कार्यक्रम कार्यान्वनको जिम्मा गाउँपालिका मातहत रहेको कृषि र पशु सेवा शाखामार्फत टोल विकास संस्थालाई दिइएको अध्यक्ष लिम्बूले बताए ।

पहिलो वर्ष टोलस्तरमा उत्पादन हुने मुख्य/मुख्य कृषि उत्पादनको प्रवर्द्धनमा समेत किसानलाई सहयोग गरिने गाउँपालिकाले जनाएको छ । ‘कृषि, पशुपालन र पन्छीको उत्पादन र बजारीकरणमा सहयोग गर्न कार्यक्रम लागु गरेका हौं,’ अध्यक्ष लिम्बूले भने ।

स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक, प्राविधिक र बजारीकरणमा समेत सहयोग गरिदिएपछि व्यावसायिक कृषिमा लागेका किसान हौसिएका छन् । ‘बजारको सुनिश्चित र रोजव्याधी समाधानमा सहयोग हुने भएपछि फार्ममा थप लगानी बढाउने तयारी गरिरहेको छु,’ छथर गाउँपालिका १ हमरजुङमा गाई फार्म सञ्चालन गरिरहेका सबिन भट्टराईले भने ।

अन्न उत्पादनमा विशेषगरेर मकै, कोदो, धान, गहुँ, तोरी र फापरलाई प्राथमिकतामा राखिएको छ । तरकारी उत्पादनमा बन्दा, काउली, रायोको साग, मुला, मटरकोसा, टमाटर र आलुलाई प्राथमिकता दिइएको छ । त्यस्तै खुर्सानी, धनिया, अदुवा, अलैंची, अम्लिसो, विभिन्न प्रजातिका रूख उत्पादनसमेतलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । फलफूलमा स्याउ, सुन्तला, अनार, कागती, जुनार छनोटमा परेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT