कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एक टोल एक उत्पादन कार्यक्रम सुरु

कान्तिपुर संवाददाता

(तेह्रथुम) — गाउँपालिकाभरका किसानलाई उत्पादन र बजारीकरणसँग जोड्न छथर गाउँपालिकाले ‘एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै किसानसम्म पुग्ने गरी सञ्जाल गठन गरेर गाउँपालिकाले कार्यक्रमको सुरुआत गरेको हो ।

त्यसका लागि चालु आवमा खर्च गर्ने गरी ६० लाख रुपैयाँ बजेट नै व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । प्रत्येक वडाका प्रत्येक टोलमा हावापानी सुहाउँदो कृषिउपज, पशु र पन्छीपालनका लागि विनियोजित बजेट खर्च गरिने गाउँपालिकाले जनाएको छ ।


कार्यक्रम कार्यान्वयनका लागि माटो परीक्षण, पशुपालनका लागि घाँसको परीक्षण र पन्छी र माछापालनका लागि समेत अध्ययन भैरहेको छ । त्यसका लागि विज्ञसहितको टोलीले टोल बस्तीमै पुगेर अध्ययन गरिरहेको प्रवक्ता नेपालीले जनाए । कुन टोल बस्तीमा कुन कृषिउपज उत्पादन हुन्छ भन्ने विज्ञ समूहले पहिचान गरी गाउँपालिकासमक्ष सिफारिस गरेका छन् । पशुपालनमा गाई, भैंसी र बाख्रापालनलाई प्राथमिकतामा राखिएको छ । माछा, मौरी, कुखुरा, हाँस, टर्की, कालिजलगायतका पन्छीपालनका लागि समेत प्राथिमिकतामा राखेर अध्ययन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । अकबरे खुर्सानीलाई गाउँपालिकाको मुख्य मसलाबाली उत्पादनको रूपमा लिइएको छ । कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाकै सक्रियतामा सबै वडा समेटिने गरी १ सय २७ वटा टोल विकास संस्थासमेत गठन गरिएको छ । कार्यक्रम कार्यान्वनको जिम्मा गाउँपालिका मातहत रहेको कृषि र पशु सेवा शाखामार्फत टोल विकास संस्थालाई दिइएको अध्यक्ष लिम्बूले बताए ।


पहिलो वर्ष टोलस्तरमा उत्पादन हुने मुख्य/मुख्य कृषि उत्पादनको प्रवर्द्धनमा समेत किसानलाई सहयोग गरिने गाउँपालिकाले जनाएको छ । ‘कृषि, पशुपालन र पन्छीको उत्पादन र बजारीकरणमा सहयोग गर्न कार्यक्रम लागु गरेका हौं,’ अध्यक्ष लिम्बूले भने ।


स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक, प्राविधिक र बजारीकरणमा समेत सहयोग गरिदिएपछि व्यावसायिक कृषिमा लागेका किसान हौसिएका छन् । ‘बजारको सुनिश्चित र रोजव्याधी समाधानमा सहयोग हुने भएपछि फार्ममा थप लगानी बढाउने तयारी गरिरहेको छु,’ छथर गाउँपालिका १ हमरजुङमा गाई फार्म सञ्चालन गरिरहेका सबिन भट्टराईले भने ।


अन्न उत्पादनमा विशेषगरेर मकै, कोदो, धान, गहुँ, तोरी र फापरलाई प्राथमिकतामा राखिएको छ । तरकारी उत्पादनमा बन्दा, काउली, रायोको साग, मुला, मटरकोसा, टमाटर र आलुलाई प्राथमिकता दिइएको छ । त्यस्तै खुर्सानी, धनिया, अदुवा, अलैंची, अम्लिसो, विभिन्न प्रजातिका रूख उत्पादनसमेतलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । फलफूलमा स्याउ, सुन्तला, अनार, कागती, जुनार छनोटमा परेका छन् ।


प्रकाशित : कार्तिक २०, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?