१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रतिशोधले पुर्‍यायो कारावास

विनु तिम्सिना

(विराटनगर) — बहुविवाहको मुद्दामा उनी पुर्पक्षका लागि कारागार थिइन् । उमेरले ४० कटेकी तालमुन शाहले गत साउनमा मोरङ जिल्ला कारागारभित्र छोरी जन्माइन् । तालमुनलाई बहुविवाहको मुद्दामा पुर्पक्षका लागि कारागार पठाइएको हो । 

सुनसरी भोक्राहाकी उनी श्रीमान्को छिमेकी अताबुल मियाँकी श्रीमतीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएर भित्रभित्रै कुण्ठामा थिइन् । माइतीमा आमाबुबा नहुनु, दु:खपीर पर्दा सुनाउन आफन्त पनि नभएकाले रिस उठे पनि उनको जाने ठाउँ थिएन । घरमा भन्दा बाहिर नै धेरै समय बिताउने, आफूलाई बेवास्ता गर्ने श्रीमान्को बानीले उनी आजित थिइन् । १० वर्षकी छोरीको मुख हेरेर रिस खपेर बसेकी उनको जीवनमा प्रतिशोधको ध्येयले नसोचेको स्थिति आइलाग्यो । ‘बूढा अर्कै महिलासँग लागेकाले मलाई रिस उठेको थियो, त्यसैले मैले पनि अर्को बिहे गरें,’ उनी भन्छिन्, ‘झोंकमा चालेको त्यही कदम मेरा लागि आज गलपासो भइदियो ।’


तालमुनजस्तै छटपटी अताबुल मियाँलाई पनि थियो । आफ्नी श्रीमतीको सम्बन्ध तालमुनका श्रीमान्सँग रहेको थाहा पाएर आक्रोशित थिए । उनी श्रीमतीसँग बदला लिने ताकमा थिए । यस्तोमा तालमुन र अताबुलले विवाह गर्ने योजना बनाए । अताबुलले तालमुनलाई भगाएर भारतमा रहेकी आफ्नी दिदीको घर लिएर गए ।


श्रीमान्ले आफ्नै प्रेमीको श्रीमती भगाएपछि अताबुलकी श्रीमती उनीहरूलाई भेट्न उतै पुगिन् । ‘जे भयो भयो अब मिलेर बस्ने’ भन्दै उनले अताबुल र तालमुनलाई फकाएर नेपाल ल्याइन् । आएको केही दिनमै उनले अताबुल र तालमुनविरुद्ध प्रहरीमा बहुविवाहकको उजुरी दर्ता गराइन् । दुवै पक्राउ परे ।


जिल्ला अदालत सुनसरीमा ५० हजार धरौटी तिरेर अताबुल त रिहा भए । तर तालमुनले धरौटी तिर्न नसक्दा गर्भावस्तामै जेल जानुपर्‍यो । पहिलेका श्रीमान् र १० वर्षकी छोरीपछि अब आफ्नो भन्ने उनको अताबुल मात्रै थिए । दोस्रो विवाह गरेपछि पहिलो श्रीमान्ले त बेवास्ता गरे । अताबुलले समेत वास्ता गरेनन् । ‘धरौटीमा छुटाएर लैजान्छु भन्थ्यो,’ उनले भनिन्, ‘८ महिना भयो म यहाँ आएको । भेट्न आएनन्, सम्पर्क नै राख्न छाडे ।’ तालमुनले गत साउनमा कारागारभित्रै छोरी जन्माइन् । उनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । तालमुनले आफ्नो प्रतिशोधको परिणाम यस्तो आउला भनेर कल्पनासमेत नगरेको बताइन् । धरौटी तिरिदिने आफन्त भएको भए उनले अबोध छोरीसँग जेल जीवन बिताउनु पर्दैनथ्यो । यो सम्झेर उनको मन झन् अमिलो भएर आउँछ ।


श्रीमान्को धोकाका कारण प्रतिशोध साध्न अर्को विवाह गरेकी तालमुन अताबुलको समेत धोकाको सिकार बनिन् । ‘अब धरौटीमा छुट्ने पनि चाहना छैन । छुटेर पनि कहाँ जानू,’ उनी भन्छिन्, ‘अब सजाय पनि लामै होस् । कम्तीमा यहाँ मेरी छोरीले खान त पाएकी छे ।’ नेपालको कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम एक वर्षदेखि तीन वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । सामान्य लेखपढसमेत गर्न नजान्ने मुस्लिम धर्मावलम्बी तालमुन आफ्नो धर्ममा बहुविवाहलाई सामान्य रूपमा लिइने हुँदा सजायको भागीदार बन्नुपर्ला भनेर कल्पना पनि नगरेको बताउँछिन् ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि बहुविवाहको उजुरीहरू बढ्न थालेको देखिन्छ । आव २०७३/७४ मा १५, २०७४/७५ मा २३ र ०७५/७६ मा ३८ वटा त्यस्ता उजुरी दर्ता भएका छन् । चालु वर्षको असोजसम्ममा १२ वटा बहुविवाहको उजुरी परेका छन् । यी घटनामा धेरैजसो महिलालाई आफूले विवाह गरेको व्यक्ति विवाहित हो भनेर जानकारी नभएको देखिने गरेको डीएसपी घनश्याम श्रेष्ठ बताउँछन् । विभिन्न सामाजिक सञ्जाल साथै छोटो समयमा भएको चिनजानका आधारमा प्रेमविवाह गर्ने र पछि मात्रै विवाहित भएको थाहा पाएका घटना धेरै रहेको उनले बताए ।

प्रकाशित : कार्तिक २०, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?