२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोकिएन बलात्कार घटना

प्रदीप मेन्याङ्बो

(सुनसरी) — घरमा एक्लै खेलिरहेकी आफ्नै छ वर्षीया छोरीलाई सनमान परियारले बोलाए । बाबुले माया गरेर बोलाएपछि सानी बालिकाले बाबुको मुखतिर हेरिन् केही खेलौना वा चकलेट किन्ने पैसा दिई पो हाल्छन् कि भन्ने आशाले तर ३८ वर्षीय परियार बाबुको स्थानमा हिंस्रक बलात्कारी भएर अबोध छोरीको अगाडि नग्न भएर उभिएका थिए । 

बालिकाकी आमा तरकारी किन्न चोकतिर निस्केकी थिइन् । आफ्नै बाबुलाई नग्न अवस्थामा देखे पनि अबोध बालिकाले खासै ख्याल गरिनन् । कात्तिक १३ मा साढे चार बजे परियारले घरमा अरू कोही नभएको मौका पारेर छोरीमाथि घृणित अपराध गरे ।


चोकबाट तरकारी किनेर घरभित्र पस्दा आफ्नै श्रीमान् छ वर्षीया छोरीलाई बलात्कार गरिरहेको देखेपछि मनमाया परियारको दिमागले एकछिन केही सोच्न सकेन । पीडाले रोइरहेकी छोरीबाट लोग्नेलाई हटाउँदै ‘कतै सपना त देखिरहेको छुइन’ भन्ने सोचेर आफ्नै शरीरलाई चिमोटिन् ।


यसैबीच उनका देवर पनि आइपुगे । त्यहाँ आफ्नो दाजु नग्न अवस्थामा बसेका थिए । उता भतिजी पीडामा छटपटाइरहेकी थिइन् । सनमानले आफूले गल्ती गरेको भन्दै माफी माग्न थाले तर हाडनाता करणीजस्तो जघन्य अपराधको सजाय माफी नहुने हुँदा कात्तिक १४ मा प्रहरीको जिम्मा लगाए । भोजपुर घर भए पनि धरान १७ मा डेरा लिएर परिवारसहित बस्दै आएका परियारविरुद्ध प्रहरीले जबर्जस्ती हाडनाता करणी मुद्दा चलाएको छ ।


कात्तिक १३ गते साँझकै बेला इटहरी उपमहानगरपालिका ८ गैसार बस्ने २१ वर्षीया युवती बलात्कृत भइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ‘भनेको नमाने ज्यान नै लिने र परिवारको सदस्यलाई समेत मार्ने धाकधम्की दिएर मोटरसाइकलमा बसाएर जंगलमा लगी ती युवतीलाई विजय राईले बलात्कार गरेका थिए ।


भोलिपल्ट युवतीले आफू बलात्कृत भएको उजुरी दिएपछि प्रहरीले विजय राईले प्रयोग गरेको को ३८ प ८५४ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिए । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दीपावलीको रमझम सुरु भएका बेला कात्तिक १२ मा धरान उपमहानगरपालिका १६ बस्ने ३५ वर्षीय गिरेन्द्र राईले १२ वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गरे । राईले बालिकालाई हातमा समाएर तान्दै आफू बस्ने घरको कोठामा थुनेर बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएर राई फरार भए । राईबाट आफू बलात्कृत भएको जानकारी बालिकाले तत्कालै अभिभावकलाई बताइन् । अभिभावकले पनि तत्कालै किटानी जाहेरी दिए । खोजतलास गरेको तीन दिनपछि मात्र राई पक्राउ परे । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।


असोज दोस्रो साता एक युवतीलाई धरानबाट को १ ख ४६२६ नम्बरको बसमा हालेर इटहरी पुर्‍याई सडक छेउमा सामूहिक बलात्कार गरे । धरान–विराटनगर सडकखण्डको साथी पेट्रोल पम्प नजिकै युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।


पाँच युवाले युवती बलात्कार गरेको जानकारी स्थानीय समुदायले दिएपछि सुन्दरहरैंचा–१२ बस्ने बसचालक विकास कसई, झापा सुरुंगा–४ बस्ने सुरज थापा र सिरहा बस्ने सुजेन्द्र भुजेल तत्काल पक्राउ परे । बलात्कार घटनामा संलग्न मोरङ बेलबारी बस्ने नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यसअघि, भदौ १८ को साँझ धरान ५ देउराली बस्ने १९ वर्षीय मिलन राईले १३ वर्षीया बालिकालाई बलात्कार गरे । धरान १५ स्थित बगरकोट घुमाउने बहानामा बगरकोट नजिकैको सेउती खोलामा लगेर बलात्कार गरेको बालिकाले उजुरीमा उल्लेख गरेकी छन् । बलात्कारपछि ती बालिकालाई राईले विजयपुरको बुढासुब्बा मन्दिर छेउमा छाडेर फरार भए पनि भदौ २६ मा पक्राउ परेका छन् ।


साउन यता मात्र सुनसरीमा २२ जना महिला तथा बालिका बलात्कृत भएको र ६ जनामाथि बलात्कार प्रयास भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रनाउ शर्माले भने, ‘उजुरी परेका मध्ये साउनमा ८ जबर्जस्ती करणी र ३ उद्योग, भदौमा ४ जबर्जस्ती करणी र ३ उद्योग, असोजमा ७ जबर्जस्ती करणी र कात्तिक दोस्रो सातासम्ममा तीन जबर्जस्ती करणी रहेका छन् ।’


सुनसरीमा आर्थिक वर्ष ०७४/७५ को तुलनामा आव ०७५/७६ मा ७० प्रतिशत बलात्कार घटना बढेको छ । आव ०७४/७५ मा सुनसरीमा ६३ बलात्कार घटना र ३६ बलात्कार प्रयास भएका थिए तर आव ०७५/७६ मा १०५ बलात्कार र २२ बलात्कार प्रयासका घटना भएका छन् । यी संख्या प्रहरीमा उजुरी परेका मात्र हुन् । बलात्कृत भए पनि सामाजिक, पारिवारिक लाज, डरका कारणले उजुरी नगर्नेको संख्या पनि उत्तिकै हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


दृष्टिकोण परिवर्तन नहुँदा बढ्यो : मनोविद्

धरान । समाज मनोविज्ञानी र मनोचिकित्सकहरूले बलात्कार घटना बढ्नुलाई सामाजिक/पारिवारिक उद्दण्डता र उच्छृखलता बढेको संकेत मानेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्राडा निदेश सापकोटाले समाजमा बलात्कार घटना बढ्नुमा सामाजिक विचलन भएको बताए । उनले बलात्कार घटना बढ्नुमा छोरा र छोरीमा विभेदकारी मूल्यमान्यता अभिभावकले दिमागमा राख्नु पनि प्रमुख कारण रहेको बताए । उनले भने, ‘घरबाट छोरी कतै जान लागेकी छ भने कता, किन, कोसँग भनेर प्रश्न गर्छौं तर छोरा जता गए पनि खासै सोधीखोजी गर्दैनौं । हो, यो विभेदकारी मनोविज्ञानले पनि समाजमा छोरीलाई हेर्ने दृष्टीकोण बनाएको छ ।’


उनले पछिल्लो समयमा परिवार विखण्डित हुँदै गएको र आफन्तबाटै छोरीचेली बलात्कृत हुन थालेको बताए । उनका अनुसार समाजमा ९० प्रतिशत मानिस राम्रा मानसिकताका हुन्छन् तर १० प्रतिशत मानिसको स्वभाव र आचारणमा केही न केहीमा खराबी भएका हुन्छन् । मानसिक रूपमा खोट भएका यस्तालाई मनोचिकित्सा शास्त्रले ‘एन्टी सोसल पर्सनालिटी’ भन्छ ।


पर्सनालिटी डिस्अर्डरका कारण पनि समाजमा बलात्कारका घटनाले प्रश्रय पाइरहेका छन् । एन्टी पर्सनालिटी डिस्अर्डर भएका व्यक्तिले समाज, घरपरिवारमा आफूले गरेको परिणामप्रति भोलि के हुन्छ भन्ने ख्याल नराख्ने पनि मनोचिकित्सक प्राडा सापकोटाले बताए ।


उनले मुलुकमा बढ्दो बलात्कार घटनापछिको न्यायिक प्रणाली, प्रहरीको अनुसन्धान प्रणाली र पीडितलाई समाज र परिवारले हेर्ने दृष्टिकोणमा खोट रहेकाले बलात्कारीको मनोबल बढ्ने गरेको बताए । समाज र परिवारमा महिलाप्रति बनाइने अपमानजनक माहोलले पुरुषलाई बलात्कार गर्ने दुस्साहस बढाउने र उत्प्रेरणाको काम गर्ने गरेको उनले बताए ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?