२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हुर्राको भाकामा छमछमी

कान्तिपुर संवाददाता

(धनकुटा) — यति बेला धनकुटाका मगर बाहुल्य गाउँबस्ती हुर्राको भाकाले गुञ्जिएको छ । तिहारलगत्तै सुरु हुने हुर्रा नृत्य तिहारपछिका केही दिनसम्म जारी रहन्छ । 

हुर्राको भाकामा छमछमी

वारि गाउँ हेर्‍यो हौ सिमसिमे पानी

पारि गाउँमा हौ घमाइलो, देशै रमाइलो

सोमबार औंसी हौं खेलिजाउँ देउसी

गरि जाउँ रमाइलो, देशै रमाइलो


धनकुटाको मुढेबासबाट हुर्रा नाचको सुरुवात भएको मगर समुदायका अग्रजको दाबी छ । यसर्थ यतिबेला विशेषत चौबिसे क्षेत्रमा मादल, बासुरी, खैजडीसहित हुर्राको आकर्षक भाका ‘हुर्रा हा..हा...’ र ‘देशै रमाइलो...’ ले रौनकता छाएको छ । गाउँबस्तीमा जोर मादल र बाँसुरीको साथमा हुर्राको रौनक सुरु भइसकेको मगर संघका जिल्ला अध्यक्ष जेवी घले बताउँछन् ।


जिल्लाको चौबिसेको वसन्तटार, भेडेटार, राजारानी साथै साँगुरीगढी, सहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिका क्षेत्रमा मगर समुदायको बाहुल्य बस्तीमा प्रत्येक वर्ष हुर्रा नृत्यले रमाइलो प्रदान गर्ने मगर संघका पूर्व सचिव इन्द्र सारु मगर बताउँछन् । खासगरी मुलुकको पूर्वी केही जिल्लामा लोकप्रिय हुर्रा नाच धनकुटासँगै सुनसरी, मोरङ लगायतका जिल्लामा पनि विस्तार हुँदै गएको मगरले बताए ।


हुर्राको अर्को भाका देशै रमाइलो थेगोमा गाइन्छ । आफ्नै मौलिक पहिरनमा युवा युवती नृत्य र बाध्यबादनमा सहभागी हुने र वृद्धवृद्धा भने गीतको भाका हाल्न व्यस्त छन् । हुर्रामा चेली र माइतीबीचको भ्रातृत्व प्रेम दर्शाउने गरिएको वसन्तटारका मनप्रसाद मगरको भनाइ छ ।


एकापसमा हात समाएर गोलो घेरा लगाउँदै नाचिने हुर्रामा नाच्दा नाच्दै दिन र रात बितेको समेत पत्तै नहुने उनले बताए । हुर्रा भाकाको उद्गमस्थल चौबीसे गाउँपालिका १ ठूलो मुक्ताराका युवा जमातले त केही दिनदेखि प्रस्तावित कोपिला युवा क्लबमार्फत जिल्लाका विभिन्न स्थानमा पुगेर हुर्रा नृत्य प्रस्तुत गर्दै क्लबका अध्यक्ष दिवश मगरले बताए ।


भीमकुमारी मगर पनि हुर्राको भाका हाल्न निकै सिपालु मानिन्छिन् । मादल, बासुरी बजाउने र भाका हाल्नेहरू नृत्य गर्नेको गोलो घेराभित्र रहन्छन् । नृत्य गर्नेहरू बिस्तारै गीतको भाकामा चालमा चाल मिलाएर घुम्दै नाचिने गरिएको हुर्रामा सबै उमेर समूहका सहभागी हुन्छन् । तर नृत्यमा युवा युवतीको आकर्षण बढी रहने सहभागी सुवास मगर बताउँछन् ।


मगर मुक्ति मोर्चाका संयोजक सुवासले मादल र झ्यालीको ताल तथा गीतको भाका नाच्नका लागि जोसिलो हुने हुनाले मगरबाहेक अन्य समुदाय पनि हुर्रामा झुम्न आउने गरेको बताए । हुर्रा नृत्यलाई व्यवस्थित गर्न इन्द्र सारु, जेबी घले, मनबहादुर आले, डम्बर राना लगायतका युवा जमात अग्रसर छन् ।

प्रकाशित : कार्तिक १९, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?