२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गोलभेंडा किलोको २५०

कान्तिपुर संवाददाता

खोटाङ — खोटाङमा गोलभेंडाले भाउ पाएको छ । प्रतिकेजी २ सय ५० रुपैयाँसम्म गोलभेंडा किनबेच भएपछि किसान खुसी भएका छन् । उपभोक्ता भने किनिनसक्नुको मूल्य बढेपछि चिन्तित छन् । 

गोलभेंडा किलोको २५०

गोलभेडाले मूल्य पाएपछि किसान हर्षित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का गंगाबहादुर विश्वकर्माले बताए । दसैं र तिहार आसपासमा बोटमै प्रतिकेजी ९० रुपैयाँले बिक्री गरेको विश्वकर्माले सुनाए । बोटमा प्रतिकेजी ९० रुपैयाँमा बिक्री गरेको गोलभेडा बजारमा पुग्दा २ सय ५० रुपैयाँले किनबेच भएको थाहा पाएपछि झनै खुसी भएको विश्वकर्माले बताए ।


विश्वकर्माले सात वटा ट्रनेलमा उत्पादन गरेको गोलभेडा दैनिक ४० किलो प्रतिकेजी ९० रुपैयाँका दरले बिक्री गरेको सुनाए । दसैं–तिहारमा मात्र १ लाख ७५ हजार आम्दानी गरेको उनले सुनाए । आफूले उत्पादन गरेको गोलभेडा दिक्तेल, हलेसी, जयरामसम्म पुगेको विश्वकर्माको भनाइ छ ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं २ सोल्मालाई अर्गानिक तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएपछि उत्पादनमा समेत वृद्धि भएको विश्वकर्माले जनाए । उनका अनुसार सोल्ममा घरपिच्छे गोलभेडा, तरकारी लगायतका नगदेबालीप्रति किसान आकर्षित छन् ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ झिसेपुका भरत राईले पनि गोलभेडाबाट मनग्गे आम्दानी गरेका छन् । उनले यो वर्ष करिब बीस हजारको हाराहारीमा गोलभेडा उत्पादन गरेको राईले सुनाए । बजार मूल्य अस्थिर भएकाले कहिले प्रतिकेजी ९० रुपैयाँ, कहिले प्रतिकेजी २ सय ४० रुपैयाँसम्म बिक्री गरेको राईले जनाए । ‘गोलभेडाको मूल्य अस्थीर छ,’ राईले भने, ‘दसै–तिहारमा राम्रो भाउ पायो, त्यसपछि फेरि घट्दै गएको छ ।’ जिल्लामा गोलभेडा खेती बढे पनि कति उत्पादन हुन्छ भन्ने विवरण आउँन नसकेको खोटाङस्थित कृषि ज्ञान केन्द्रका हरिनारायण राईले बताए ।


प्रकाशित : कार्तिक १९, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?