कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहायकका भरमा अस्पताल

५० शय्याको जिल्ला अस्पताल एचए र अहेबकै भरमा, सरकारी चिकित्सक, कर्मचारी र व्यवस्थापनबीच समन्वय अभाव
कान्तिपुर संवाददाता

(संखुवासभा) — जिल्ला अस्पतालको ओपिडी कक्षमा सोमबार स्वास्थ्य सहायक विजय पराजुली बिरामी जाँच्न बेस्त थिए । अस्पतालको बाहिरी भागमा सयजनाभन्दा बढी बिरामी लाममा थिए । एकपछि अर्को गर्दै उनले ती बिरामीको सामान्य स्वास्थ्य परीक्षण गरे । यो अस्पताल ५० शय्याको हो ।

सहायकका भरमा अस्पताल

तर, चिकित्सक अभावमा पराजुली र केही अहेवले ओपिडीमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका हुन्छन् । सदरमुकाम खाँदबारीमा रहेको ५० शय्या क्षमताको जिल्ला अस्पताल हेल्थ असिस्टेन्ट (एचए) को भरमा छ । २ जना करारका चिकित्सक कार्यरत छन् । दरबन्दीका कोही चिकित्सक बिदामा बसेका छन् भने कोही सरुवा भएर हिँडिसकेका छन् । कर्मचारी समायोजनपछि जिल्ला अस्पताल चिकित्सकविहीन छ ।


अस्पतालमा संखुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पासिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत बिरामी आउने भएकाले सधैं भीड हुन्छ । यहाँ दैनिक ३ सयभन्दा बढी बिरामी उपचारका

लागि आउँछन् ।


एचए र अहेवलाई उनीहरूको स्वास्थ्य परीक्षण गर्न भ्याईनभ्याई हुने गरेको पराजुलीले बताए । दक्ष चिकित्सक नहुँदा अस्पताल पुगेका बिरामी सामान्य जाँचपछि फर्किनु पर्छ । जटिल प्रकारका बिरामीलाई सहरका अस्पतालमा उनीहरूले सजिलै रिफर गरिदिन्छन् ।


तातोपानीले शरीर पोलिएर आइतबार अस्पताल पुगेकी खाँदबारी नगरपालिका १ की लक्ष्मी कार्कीले चिकित्सक नहुँदा राम्रो सेवा नपाएको गुनासो गरिन् । ‘सरकारले ५० शय्याको अस्पताल घोषणा गरे पनि सेवा स्वास्थ्य चौकीको जनि पनि पाइएन,’ उनले भनिन्, ‘एचए र अहेवका भरमा चलेको अस्पतालले सामान्य बिरामीलाई पनि धरान र विराटनगर रिफर गरेको छ ।’


लक्ष्मीका अनुसार इमरजेन्सीमा भर्ना भएका बिरामीलाई जाँच गर्न चिकित्सक आउँदैनन् । ‘आठ घन्टाको फरकमा लगाउनुपर्ने सुई १२ घन्टा बितिसक्दा पनि लगाउन आउँदैनन् ।


‘अस्पतालको बाहिरी आवरण हेर्दा सुविधा सम्पन्न लाग्छ, तर भित्री सेवा केही पाइएन उनले भनिन्, ‘गाउँगाउँबाट आएका बिरामी त्यसै फर्किनु परिरहेको छ ।’ केही विदेशी संस्थाले नियुक्ति गरेका चिकित्सक, सरकारी चिकित्सक, कर्मचारी र व्यवस्थापन पक्षको कमजोरीका कारण बिरामीले सेवा नपाएको उनले गुनासो गरिन् । व्यवस्थापन पक्षले नियुक्ति गरेका दक्ष चिकित्सक र तल्लो तहका कर्मचारी बीच तालमेल पनि खासै छैन । समन्वय हुन नसक्दा अधिकांश चिकित्सक हाजिर भएको केही दिनमै जिल्ला छाडेर फर्किने गरेको घटना यो अस्पतालका लागि नौलो होइन, उनले भनिन्, कर्मचारीको आआफ्नो घमण्डका कारण अस्पतालको अवस्था बिग्रिएको उनले बताइन् ।


चिकित्सक बीच तालमेल नहुँदा निक साइमनले निःशुल्क सञ्चालन गरेको २४ सै घण्टा शल्यक्रिया सहितको प्रसूति सेवा पनि बन्द छ । ग्रामीण भेगका गर्भवती महिलालाई मध्यनजर गरेर सेवा सञ्चालनमा ल्याए पनि गर्भवती ठूलो रकम खर्चेर सहरका अस्पताल जान बाध्य छन् । निक साइमनका चिकित्सकले सरकारी चिकित्सक र कर्मचारीले असहयोग गरेको आरोप लगाएका छन् ।


यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निक साइमन संस्थाले बिदामा बस्दा अर्का चिकित्सक उपलव्ध गराउने सम्झौता अस्पताल प्रशासनसँग गरेको छ । तर, उसले सेवा प्रभावित हुँदा समेत बेवास्था गरिरहेको छ । दुई चिकित्सकमध्ये एक जना घर बिदामा गएका कारण सेवा अवरुद्ध भएको हो । अहिले दैनिक ५ जनाभन्दा बढी प्रसूति सेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्यांकमा उल्लेख छ । अस्पताल व्यवस्थापन समितिका सदस्य सरोज वज्राचार्यले निक साइमनसँग चिकित्सक ल्याउने पहल भइरहेको बताउँछन् । उनले चिकित्सक नहुँदा समस्या भएको स्विकारे । केही दिनमा सबै चिकित्सक आउने र सबै प्रकारका सेवा सुचारु हुने उनले बताए । करारका मेडिकल अधिकृतले नभ्याएपछि एचए र अहेवले ओपीडीमा जाँच गरिरहेको उनले बताए । उनले ५० बेडको अस्पताल डेढ वर्ष अघिबाट मेडिकल अधिकृतका भरमा चलिरहेको पनि बताए ।


प्रकाशित : कार्तिक १९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?