कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तेस्रोलिंगीका कथा : ‘परिवारबाटै तिरस्कृत छौं’

सुम्निमा चाम्लिङ

(इटहरी) — धरानकी तेस्रोलिंगी निशा परिवारका तीन दाजुभाइमध्ये कान्छा छोरा हुन् । उनको जन्म पुरुषका रूपमा भए पनि सानैदेखि हाउभाउ छोरीको । उनले धरानै निजी विद्यालयबाट कक्षा १० सम्म मात्रै अध्ययन गर्ने अवसर पाइन् ।

पुरुषप्रतिको आकर्षणका कारण आफैंमा द्विविधामा रहेकी निशा ब्लु डायमन्ड सोसाइटीको सम्पर्कमा आएपछि मात्रै तेस्रोलिंगी भएको थाहा पाइन् । परिवाररमा तेस्रोलिंगी भएको बताएपछि अनेक ताडना भोग्नुपरेको उनको अनुभव छ । ‘परिवारबाट कुटपिट गर्ने, घरमा थुन्ने गर्नुहुन्थ्यो,’ उनले गुनासो पोखिन्, ‘छ महिनासम्म कडाइ गरेका कारण मानसिक तनाव झेल्नुपर्‍यो ।’


बुवा पेसाले इन्जिनियर भए पनि तेस्रोलिंगीबारे बुझ्न नसकेको उनी गुनासो गर्छिन् । ‘दाजुहरू बेलायतमा सेटल हुनुहुन्छ । म पनि कुनै पेसामा सेटल होस् भन्ने उहाँहरूको चाहना । तर, मेरो पहिचान छुट्टै छ,’ उनी भन्छिन् । परिवारबाट तिरस्कृत भएपछि उनी घरबाट भागेर साथीहरूसँग बस्न थालिन् । घरबाट बाहिरिएपछि परिवारले घर आउन बन्द गरिदिएको छ ।


‘जागिरको खोजीमा अनेक अन्डर खाएँ । कोटा भए पनि काम नपाइने । वेटरमा, डान्सबारमा कतै काम पाइनँ । त्यसैले यौन पेसा रोज्न बाध्य भएँ,’ उनले भनिन् । उनी दुई दशकदेखि यौन व्यवसायमा संलग्न छिन् । निशालाई राज्यबाट समेत खासै सहयोगको आशा छैन । उनी भन्छिन्, ‘परिवारले त हामीलाई हेप्छ भने सरकारको के आश गर्नु । भोको पेट पाल्न यो पेसा राजेकी छु ।’ तेस्रोलिंगीहरू धेरै बलात्कारको सिकार हुनुपरेको उनले बताइन् । ‘यो पेसामा हुनेहरूले अनेकौं पीडा भोग्नुपर्ने हुन्छ । तर, पनि सहन बाध्य छौं,’ उनले भनिन् । सरकारले तेस्रोलिंगीका लागि दीर्घकालीन रोजगारीको व्यवस्था गरिदिए तेस्रो लिंगीले यस्तो पेसा छाड्न तयार रहेको उनी बताउँछिन् ।


तेह्रथुमकी तेस्रोलिंगी गोरी लिम्बूको कथा पनि निशाको जीवनसँग मेल खान्छ । २२ वर्षीया उनी विगत पाँच वर्षदेखि इटहरी बस्दै आएकी छन् । कुनै समय मालपोत कार्यालय तेह्रथुमममा करारमा कार्यरत उनी सरकारी कर्मचारीबाटै यौन हिंसामा परिन् । ‘देख्दा पुरुष भए पनि अनुहार राम्रो बनाउने चाहना हुन्थ्यो,’ उनी भनिछन्, ‘मेरो क्रियाकलाप महिलाको जस्तो भएर होला, ती कर्मचारीले ममाथि यौन हिंसा गरे ।’ तेह्र वर्षको उमेरमा बुवाआमा गुमाएकी उनी काका र हजुरआमासँग हेर्केकी हुन् । ‘मेरो हिँडाई र रहनसहन परिवारले रुचाउन छाडे,’ उनले गुनासो पोखिन्, ‘छोरा मान्छे जस्तो व्यवहार गर्न भन्थे । तर, सकिन ।’ परिवारको दबाबको कारण सोह्र वर्षको उमेरमा आत्महत्याको प्रयास समेत गरेको उनी बताउँछिन् । तेस्रोलिंगी एक साथीसँग चिनजानपछि उनी घरबाट निक्लेकी हुन् । जिविकोपार्जनका क्रममा मजदुरी, होटलमा भाडा माझ्नेजस्ता काम गर्न बाध्य भइन् । निजी विद्यालयमा एसएलसीसम्म अध्ययन गरेकी उनी जागिरबाट भने वञ्चित भइन् । ‘मेरो आनिबानीका कारण मैले जागिर पाउन सकिन । त्यसैले गुजारा चलाउनका लागि यो पेसा गरिरहेको छु,’ उनले भनिन् । परिवारबाट टाढिए पनि आफ्नो अस्तित्वका लागि लड्दा उनी खुसी छिन् ।


‘मलाई परिवारले बेवास्ता गर्‍यो तर मेरो चाहना अनुसार जिउन पाएकी छु,’ उनी भन्छिन् । यो पेसा गर्न त्यति सहज भने नभएको उनको भनाइ छ । गैरकानुनी पेसा भएकाले सर्तक अपनाउनुपर्ने उनी बताउँछिन् । राज्यले तेस्रोलिंगीका लागि छुट्टै रोजगारको व्यवस्था गरिदिए यो पेसा रोज्नुनपर्ने उनको बुझाई छ । यो पेसा छाडेर अन्य व्यवसाय गर्ने योजनामा रहेको उनले बताइन् ।


इटहरीकी पायल चौधरी पनि तेस्रोलिंगी हुन् । पाँच दाजुभाइ, दुई दिदिबहिनीमध्ये उनी कान्छो छोरा । नौ वर्षको उमेरमा आफूमा फरक महसुस भएको उनले बताइन् । स्नातक पढाइका क्रममा आफ्नै समूहका साथी भेटाएपछि उनी ब्लु डायमन्ड सोसाइटीमा जोडिन पुगिन् । तेस्रोलिंगीको बारेमा बुझ्ने मौका पाएकोमा उनी खुसी थिइन् । एक्लो महसुस गर्न परेन । संस्थामा लागेपछि सहज भएको उनको भनाइ छ । पुरुषको पहिरनमा देखिने पायल महिलाको पहिरनमा देखा पर्न थालिन् । बुवा र दाइहरूबाट निकै दबाब झेल्न पर्‍यो । विगत पाँच वर्षदेखि उनी यौन व्यवसायमा संलग्न छिन् । तेस्रोलिंगीलाई जागिर पाउन मुस्किल रहेकाले यो पेसा रोज्न बाध्य भएको उनी बताउँछिन् । ‘मैले प्लसटु पढाई पूरा गरेकी छु । तर मेरो हाउभाउका कारण कतै काम पाउँदिन । बाध्यतावश यो पेसामा छु,’ उनले गुनासो पोखिन् । रातिको पेसा भएकाले निकै चुनौती रहेको उनी बताउँछिन् । ‘रातको समयमा घरबाट निस्कने गर्छु । ज्यानको बाजी राखेर हिंड्नुपर्ने हुन्छ,’ उनले भनिन् । राज्यले रोजगारको ग्यारेन्टी गरिदिए यस्तो पेसा गर्न नपर्ने उनको भनाइ छ ।


सुनसरीमा यौनिक तथा लैगिंक अल्पसंख्यक कुल २ हजार ८ सय ४६ जना रहेका छन् । नील हिरा समाज इटहरीका अध्यक्ष रवि श्रेष्ठका अनुसार परिवारबाट अपहेलित तेस्रोलिंगी महिला यौन पेसामा संलग्न छन् । तेस्रोलिंगी भनेर पहिचान भएपछि समाजमा स्थापित हुन गाह्रो भएको उनले बताए । राज्यले रोजगारीको ग्यारेन्टी गरिदिए तेस्रोलिंगी महिलाले यस्तो पेसा रोज्नु नपर्ने उनको भनाइ छ ।


प्रकाशित : कार्तिक १६, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?