२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भारतीय फूलकै भर

तिहारका बेला अन्य समयभन्दा सयपत्री फूलको माग बढी हुन्छ । फूलको व्यावसायिक खेती नहुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । 
विनु तिम्सिना

(विराटनगर) — पुष्पगुच्छा बनाएर उपहार दिने, विवाह, विभिन्न कार्यक्रम तथा सभा समारोहमा फूलको सजावट गर्ने र फूलको माला प्रयोग गर्ने चलन बढ्दो छ । पर्व होस् या कुनै सभासमारोह त्यसमा प्रयोग हुने सयपत्री फूलका लागि भारतबाट आयात गर्नुपर्छ । फूलको व्यावसायिक खेती नहुँदा भारतीय फूलकै भर पर्नुपरेको हो । 

भारतीय फूलकै भर

तिहारमा माग बढी भए पनि सयपत्री फूलको माग अन्य समयमा पनि भइरहन्छ । विभिन्न सभा समारोहको सजावट या विवाह तथा अन्य प्रयोजनका लागि सयपत्री फूलको मालाको बिक्री भइरहने व्यवसायी बताउँछन् । साथै सजावट र पुष्पगुच्छाका लागि अन्य विभिन्न प्रकारका फूलको प्रयोग पनि भइरहेको हुन्छ । तर प्रदेशमा यी फूलको पर्याप्त व्यावसायिक खेती नहुँदा विराटनगरका व्यवसायीले भारतको कोलकाताबाट आयात गर्ने गरेका छन् ।


उपहार दिन र सजावटमा प्रयोग हुने अधिकांश फूलमा भारतको भर पर्नुपर्ने अवस्था रहेको विराटनगर बजारका व्यवसायी चन्दनकुमार यादव बताउँछन् । विराटनगर आसपास फूलखेती नभएकाले आफूले कोलकाताबाट फूल आयात गर्ने गरेको उनले बताए । सिजनअनुसार फूलको आयातमा वृद्धि हुने गरेको उनको भनाइ छ । तिहारलाई लक्षित गरेर ५० बोरा सयपत्री फूलको माला आयात गरेको उनले सुनाए । एउटा बोरामा ८० पिस माला हुन्छ । गतवर्ष धेरै माला एकै पटक ल्याउँदा मूल्य घटेकाले घाटा भएको बताउँदै उनले यस वर्ष कम मगाएको बताए ।


सयपत्रीसँगै मोगरा, रजनीगन्धा, लिली, अर्किड, जारवेरा, गुलाब, एरिका, गेडिलसलगायतका विभिन्न प्रकारका फूलहरू कोलकाताबाट आउने गरेको छ । यहाँ यस खालका फूलको खेती नहुने हुँदा आफूहरू कोलकाताबाटै मगाउने गरेको उनले बताए । २० वर्षदेखि जयमा काली फूल डेकोरेसनमा काम गरिरहेका कुमार राजवंशीले स्थानीय उत्पादन नहुँदा भारतबाट फूल आयात गर्नुपरेको बताए । सयपत्री, गुलाबलगायतका फूलहरू थोरै मात्रामा खेती हुने गरे पनि त्यसले पर्याप्त माग धान्न नसक्ने भएकाले भारतकै भर पर्नुपरेको उनको भनाइ छ ।


तिहारका बेला पूर्वी पहाडी जिल्ला इलाम तथा धनकुटाबाट पनि कहिलेकाहीं विराटनगरसम्म फूल आउँछ । पहाडी क्षेत्रबाट केही मात्रामा सयपत्री फूल आए पनि यसको व्यावसायक खेती नहुँदा अन्य समयमा नपाइने हुँदा आफूहरूले पर्वका बेला पनि स्थानीय फूलको भर पर्नुभन्दा भारतबाटै आयात गर्ने गरेको उनको भनाइ छ । ‘तिहारमा अलिअलि आउँछ पहाडतिरबाट सयपत्री फूल,’ राजवंशीले भने, ‘तर हामिलाई बाह्रै महिना फूल चाहिन्छ, एउटा सिजनमा खरिद गरेर मात्रै पुग्दैन त्यसैले भारतबाटै मगाउँछौं ।’


विराटनगर नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाभित्र मात्रै पाँच लाख ३४ हजार मूल्य बराबरको ६ हजार ४६ केजी ताजा फूल आयात भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्षमा पनि यो नाका हुँदै भारतबाट ३५ लाख १३ हजार मूल्य बराबरको ६० हजार एक सय ८६ केजी ताजा फूल आयात गरिएको थियो । त्यस्तै आव ०७४/७५ मा २९ लाख ९५ हजार मूल्यको ६७ हजार ५ सय ७५ किलो फूल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।


त्यस्तै काँकडभिट्टा नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा २ लाख ६१ हजार तीन सय ६० मूल्य बराबरको ११ हजार दुई सय ४३ किलो ताजा फूल आयात गरिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी किरण अर्यालले जानकारी दिए ।


प्रकाशित : कार्तिक ८, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?