पण्डित समुदाय दियो बनाउन व्यस्त

सुम्निमा चाम्लिङ

(इटहरी) — तिहारको पूर्वसन्ध्यामा माटोका सामग्री बनाउन पण्डित समुदाय व्यस्त भएका छन् । यस समुदाय अन्य बेलाभन्दा तिहारको समयमा चटारोमा हुने गर्छ । 

पण्डित समुदाय दियो बनाउन व्यस्त

इनरुवा बिहीबारे हटियाका ५० वर्षीय सुदमलाल, श्रीमती र छोरा माटोका सामग्री बनाउन व्यस्त छन् । चाडपर्वको समयमा भने पूरै परिवार सक्रिय हुने गरेका छन् । विगत ३५ वर्षदेखि उनी माटोका सामग्री बनाउँदै आएका छन् । ‘तिहारमा सबैभन्दा बढी दियो बिक्ने गर्छ,’ उनले भने, ‘माग धेरै हुने भएकाले परिवार दिनरात खटिरहेका छौं ।’ माटोको दियो विशेषतः शुभकार्यमा प्रयोग गरिने गरिन्छ ।


उनीहरूले सानो दियो २० रुपैयाँ दर्जनमा बिक्री गर्ने गरेका छन् । दुई जनाले एक दिनमा करिब तीन हजार वटा दियो बनाउन सक्छन् । यस वर्ष बीस हजार रुपैयाँ बराबरको सामग्री बेच्ने लक्ष्य राखेका छन् । तिहारमा विशेषतः माटोको दियो, कलश, धुपौरो, खुत्रुकेलगायतका सामग्रीको माग उच्च हुने गरेको छ ।


तिहारको समयमा विगतका केही वर्षदेखि माटोको दियो बाल्ने क्रम घटेको उनका छोरा २८ वर्षीय जागिश्वर पण्डितले बताए । ‘विद्युतीय दियोको कारण ५० प्रतिशत व्यापार घटेको छ,’ उनले भने । माटोका सामग्री बेच्न धरान, इटहरी, इनरुवा, झुम्का पुग्ने गर्छन् ।


व्यापारीहरू घरमा आएरसमेत खरिद गर्ने गरेका छन् । उत्पादन भएका सामग्री बिक्री गर्न कुनै समस्या नभएको उनले बताए । माटोका भाँडा बनाउन हाल उनीहरूले विद्युतीय चक्र प्रयोगमा ल्याएका छन् । कुनै समय उनीहरू काठको चक्रबाट सामग्री बनाउने गर्थे ।


यता, बिहीबारे हटियाकै ५० वर्षीया मानुदेवी पण्डित परिवारलाई समेत उस्तै चटारो छ । तीस वर्षदेखि माटोको सामान बनाउँदै आएकी उनी र उनका दुई छोरासमेत यस पेसामा संलग्न छन् ।

उनीहरूले करिब ३५ हजार रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेक छन् । तिहारका लागि भनेर कलश, दियो, घैला तयारी अवस्थामा राखेका छन् ।


इनरुवा आसपासका हटियामा उक्त सामग्री बेच्ने गरेको उनले बताइन् । घरमा व्यापारी आएरसमेत खरिद गर्ने गर्छन् । उनले सानो दियो २० रुपैयाँ दर्जन, सानो घैला २० रुपैयाँ प्रतिगोटा, धुपौरो तीस रुपैयाँमा बेच्ने गरेकी छन् । ‘तिहारमा दियोको माग बढी छ । त्यसैले हाम्रो परिवार खटिएका छौं,’ उनले भनिन् ।


विगत आधा दशकदेखि उनीहरूले समेत विद्युतीय चक्र प्रयोग गर्ने गरेका छन् । लगानीको आधा प्रतिशत मुनाफा हुने उनले बताए । उनले १० वर्षको उमेरदेखि माटाका सामान बनाउन थालेका हुन् । माटोको भाँडा बनाउने पण्डित समुदायले तिहारमा कम्तीमा ३० हजारदेखि माथिको आम्दानी गर्ने गर्छन् । लक्ष्मीपूजादेखि भाइटीकासम्म दियो बालिने हुँदा यस्ता सामग्री बढी बिक्री हुन्छ ।


प्रकाशित : कार्तिक ८, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?