१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चन्द समूहका ताप्लेजुङ इञ्चार्जसहित चार जनाले पार्टी छाडे

आनन्द गौतम

काठमाडौँ — ताप्लेजुङ नेत्रविक्रम चन्द नेतृत्वको नेकपा ताप्लेजुङका इञ्चार्ज, सेक्रेटरीसहितका ४ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले मंगलबार साँझ सादा कागजमा प्रेस विज्ञप्ति प्रकाशित गरी चन्द समूह छोडेर नेकपाको सदस्य भएको उल्लेख गरेका छन् । साउन ३२ गते पक्राउ परेका उनीहरु मंगलबारै झापा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए ।

चन्द समूहका ताप्लेजुङ इञ्चार्जसहित चार जनाले पार्टी छाडे


गरिब र निमुखाको भाग्य र भविष्यको फैसला गर्छ भन्ने विश्वास नभएको भन्दै पार्टी परित्यागको घोषणा गरेको उनीहरुले बताएका छन् । पार्टी छोड्नेमा इञ्चार्ज सागर लिम्बू (सक्कल), सेक्रेटरी नगरपति पौडेल, जिल्ला सदस्य योगेश लिम्वू र जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का मेची, कोसी संयोजक गणेश कार्की छन् ।


चारै जनाले संयुक्त रुपमा प्रेषित संयुक्त विज्ञप्तिमा हरेक दु:ख कष्ट झेले पनि नेकपाले नेपाली जनताको हित गर्ने कुरामा विश्वसनीय वातावरण नरहेको उल्लेख गरेका छन् । ‘आजैका मितिबाट विप्लव समूहको सम्पूर्ण जिम्मेवारी छोडी साधारण सदस्यसमेत नरहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा छ, ‘अबका दिनहरु संविधान, कानुन, विधिको शासन, संघीयता, धर्मनिरपेक्षताप्रति सतिशाल भएर उभिएको नेकपाको सदस्य भइ सामाजिक जीवनमा आफूलाई अब्बल साबित गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।’


उनीहरुलाई नेकपाका झापा जिल्ला इञ्चार्ज रविन कोइराला, केन्द्रीय सदस्य नरेश सञ्जाल लगायतले पार्टी प्रवेश गराएको पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष गणेश पोख्रेलले वताए ।


दमकबाट पक्राउ परेका चारैजना झापाको चन्द्रगढी कारागारमा थिए । उनीहरु झापा जिल्ला अदालतमा जनही ५० हजार धरौटीमा रिहा भएका थिए ।


उनीहरुसँगै पक्राउ परेका ताप्लेजुङका पाँचथर इञ्चार्ज राजु दास भनिने प्रहरी नियन्त्रणमै छन् । उनको मुद्दा किनारा लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?