कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

१० वर्षमा पनि पूरा भएन त्रियुगा नदीको पुल

डिल्लीराम खतिवडा

(उदयपुर) — अन्तिमपटक थपिएको म्याद सकिँदा पनि चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बन्न सकेको छैन । १० वर्षअघि सुरु भएको पुल पटकपटक म्याद थप्दा पनि अधुरो रहेको हो ।

समयमा पुल नबन्दा उदयपुरको मुख्य व्यापारी केन्द्रमध्ये पर्ने बेल्टार बजार र आसपास क्षेत्रका बासिन्दा प्रभावित बनेका छन् । बेल्टारसँग जोडिएको दक्षिण खोटाङका चिसापानी, सिमपानी र खोटाङ बजारलाई समेत असर परेको छ ।


सिवाई पुल निर्माणसँगै यी बजारहरू छोटो दूरीमा तराईसग जोडिँदै पूर्वपश्चिम राजमार्ग भएर राष्ट्रिय सडक सञ्जालमा जोडिन्छन् । सप्तरीको कन्चनपुर/फत्तेपुर/उदयपुरको सिवाई/बेलटार हुँदै खोटाङको चिसापानी बजार जोड्ने गरी चौदण्डीगढी नगरपालिका–५ त्रियुगा नदीको सिवाईमा २०६७ सालबाटै पुल निर्माण सुरु गरिएको हो । कञ्चनपुर हुँदै पूर्वपश्चिम राजमार्ग गएको छ ।


२०६७ सालयता निर्माण हुँदै आएको पुलको अन्तिमपटक थपिएको म्याद पनि असार २० गते नै सकिएको हो । पटकपटक थप गरिएको म्याद सकिँदासमेत पुल भने निर्माण सम्पन्न हुन सकेको छैन । ठेकदारको लापरबाहीको कारण दशक पुग्दा पनि पुल निर्माण कार्य नसिकएको हो ।


समयमै पुल निर्माण सम्पन्न नहुँदा आवत्जावत्मा समस्या भएको छ । त्रियुगा नदी उदयपुरको सबैभन्दा ठूलो नदी हो । ‘वर्षको दुई स्थान मात्रै बनाएको भए पनि साढे ५ वर्षमा पुल निर्माण भइसक्ने थियो,’ स्थानीय राधेश्याम प्रसाईले भने, ‘ठेक्कदार आफूले लगानी गर्न चाहेको छैन, स्थानीसँग ब्याजमा पैसा लिएर काम गरिरहेको छ ।’ स्थानीयसँग ऋण लिएर पुल बनाउने र सरकारबाट आउने वार्षिक बजेट मात्रै खर्च गर्ने गरेकोले पनि काममा ढिलाइ भएको उनले बताए ।


सरकारी उदासीनता र ठेकेदारको लापरबाहीका पुल निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण रहेको स्थानीयले बताए । ‘ठेकेदारको काम गराइ र आवश्यक बजेट नहुँदा कार्यमा ढिलाइ हुँदै आएको छ,’ चौदण्डीगढी नगरपालिका ५ वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘ठेकेदारको लापरबाही गर्दा काम ढिलाइ भएको हो ।’ सडक विभागले वास्ता नगर्दा पनि पुल निर्माणमा समस्या भएको उनले बताए ।


पुल निर्माणको ठेक्का महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले लिएको हो । तर सुरुसुरुमा ठेक्का लिएको महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकाले पनि ढिलाइ भएको स्थानीयले बताए । पुल निर्माण सुरु गर्दा महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनको मालिक आफैं भएको भन्दै रामेछापका कमलविक्रम कार्की काम गरेका थिए ।


तर उनले महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनसँग सब—कन्ट्राक्टर भएर काम गरेको र घाटा भएपछि काम अलपत्र पारेर भागेकाले पनि निर्माण कार्यमा ढिलाइ भएको वडाध्यक्ष चौधरीले बताउँदै आएका छन ।

पुलको लागत करिब १३ करोड रुफैयाँ रहेको गाईघाट दित्तेल सडक आयोजका इन्जिनियर प्रवीण चौधरीले बताए । ११ स्पान २ सय ८० मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) हुने इन्जिनियर चौधरीले बताए । ‘पुल गएको असार २० गते नै सम्पन हुनुपर्ने हो’ इन्जिनियर चौधरीले भने, ‘तर विभिन्न कारण देखाउँदै ठेक्कदारले काम गर्न नसक्दा ढिलो भएको छ ।’ पुल निर्माण अन्तिम चरणमा रहेकोले काम सुरु गर्ने ठेकेदारलाई पटकपटक लिखित मौखिक पत्राचार गरिएको उनले बताए ।


पुल निर्माणको सुपरिवेक्षण, नियन्त्रण र अनुगमन गाईघाट–दिक्तेल सडक आयोजनाले गर्दै आएको छ । पुलको निर्माण आर्थिक वर्ष ०७०/७१ सम्पन गर्ने गरी काम सुरु ठेक्का बन्दोबस्ती गरिएको थियो । तर विभिन्न बहानामा निर्माणको समयसीमा लम्बिँदै गएको हो । ९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत करिब १३ करोड पुगेको आयोजनाले जनाएको छ । पहिलेको डिजाइन परिर्वतन गरेर नयाँअनुसार गर्दा काम ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीले जनाएको छ । कन्स्ट्रक्सन कम्पनीका अनुसार पुल निर्माणका लागि तीनवटा पिल्लर बनाउने स्थानमा नदीभित्र रूखको ठूलो ठुटा भेटिएपछि निर्माण कार्य प्रभावित भएको हो ।


पुल निर्माण अन्तिम चरणमा पुगेको गाईघाट–दित्तेल सडक आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए । ‘११ मध्ये अब दुई स्पानको मात्रै काम बाँकी छ,’ प्रमुख ज्ञवालीले भने, ‘वैशाखसम्म पुल निर्माण सम्पन हुनेछ ।’ असारसम्ममा पुलन हस्तान्तर हुने गरी काम गर्न ठेकेदारलाई पत्राचार गरिएको उनले बताए ।


पुल निर्माणमा लापरबाही गरेका कारण निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड जरिवाना गरिएको आयोजनाले जनाएको छ । ६९ लाख रुपैयाँ जरिवाना तिरेको र बाँकी रकम तिर्न बाँकी रहेको आयोजना प्रमुख ज्ञवालीले बताए । ‘अहिले पुलका लागि रकम अभाव छैन,’ ज्ञवालीले भने, ‘गत आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियाजन गरिएको थियो ।’


प्रकाशित : कार्तिक ६, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?