१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

म्याद थपियो, पुल बनेन

दुई वर्षमै निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि वर्षौं भइसक्दासमेत ठेकेदारले बनाएनन् 
कुम्भराज राई

(ओखलढुंगा) — विकास गर्ने निकायमा निर्वाचित मेयरले ठेक्का लिएको पुल ६ वर्षमा पनि पूरा हुन सकेको छैन । मोलुङ र सुनकोसी गाउँपालिका जोड्ने मोलुङ खोलाको पक्की पुल निर्माणको जिम्मा ‘राजेन्द्र लोकप्रिय जेभी’ का मालिक तथा डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदले पाएको हो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको ठेक्काको दुईपटक म्याद थप भइसकेको छ । फेरि म्याद थप गर्ने मिति नजिकिँदै गर्दा समेत काम हुन सकेको छैन । 

म्याद थपियो, पुल बनेन

कम्पनी प्रतिनिधिका रूपमा धेरै जना फेरिइसकेका छन् तर उनीहरू काम सुरु गरेको केही महिनामै छाडेर जाने गरेका छन् । दुई वर्षअघि कम्पनीका प्रतिनिधिका रूपमा आएका रवीन्द्र लामाले वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । लामा आफैं काम छोडेर हिँडे । अहिले विदुर कँडेल प्रतिनिधिका रूपमा आएका छन् ।


०७० असार ३० मा दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ लागतमा सम्झौता भएको पुलको रकम पछिल्लो डिजाइनपछि ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ पुर्‍याइएको छ । स्विस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का तत्कालीन जिल्ला विकास समितिले लगाएको हो । समिति नरहेपछि हाल प्रदेश सरकारअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय मातहतमा पुगेको छ । मोलुङ पुल ८० मिटर लम्बाइ र ५ मिटर चौडाइको निर्माण हुने सम्झौतामा उल्लेख छ । यो पुल ठेक्का लागेपछि एलआरबीपीले जिल्लाका विभिन्न स्थानमा आठवटा पक्की पुल निर्माण गरिसकेको छ तर सरकारी निकायअन्तर्गतकै पुल निर्माण हुन नसक्दा स्विस सरकारले अन्य पुलको निर्माण सहयोग रोकेको छ ।


पुल निर्माणको पहिलो चरणमै चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्नै १८ महिना लागेको थियो । त्यसपछि ०७४ असार ३० र ०७५ फागुन ३० मा गरी दुईपटक म्याद थप भइसकेको छ । ठेकेदार कम्पनीले काम गर्न नसकेपछि सरोकारवालाको दबाबमा पेस्कीबापत् दिइएको ३३ लाख २५ हजार रकम तत्कालीन जिल्ला विकास समितिले तीन वर्षअघि फिर्ता लिएको थियो । हालसम्म ५७ लाख ४७ हजार ४ सय ३७ रुपैयाँ कामको आधारमा ठेकेदारलाई भुक्तानी भइसकेको छ ।


सम्झौता लगत्तै दिइएको पेस्की रकम निर्माण कम्पनीको बैंक ग्यारेन्टी रकमबाट जफत गरी फिर्ता लिएको थियो तर पनि कम्पनीले विभिन्न बहानामा कामलाई निरन्तरता दिएनन् । सुरुमा ठेकेदार कम्पनीको तर्फबाट सीताराम भट्टराई र हर्कबहादुर श्रेष्ठ प्रतिनिधि रहेर ठेक्काको जिम्मा लिएका थिए । उनीहरूले काम नगरेपछि सब–कन्ट्र्याक्टरका रूपमा रहेका रवीन्द्र लामाले जिम्मा दिएका थिए । लामाले समेत काम नगरेपछि फर्मवाला कम्पनी आफैंले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।


कार्यसूची बनाउन निर्देशन

पूर्वाधार विकास कार्यालयको आयोजनामा मोलुङ पुलका ठेकेदारका प्रतिनिधि र सरोकारवालाको बैठक बुधबार मात्रै बस्यो । बैठकमा संघीय सांसद यज्ञराज सुनुवार, प्रदेश सांसद मोहनकुमार खड्कालगायत सहभागी थिए । उनीहरूले ठेकेदार कम्पनीलाई काम सक्ने कार्यसूची एक साताभित्र पेस गर्न निर्देशन दिएका छन् । ठेकेदारले पेस गरेको कार्यसूचीका आधारमा आगामी फागुनभित्र ठेक्काको म्याद थप गर्ने वा कारबाही गर्ने भन्ने टुंगो लाग्ने सांसदहरूले बताए । पूर्वाधार विकास कार्यालयका प्रमुख दीपनारायण साहले आफूले कार्यालयको तर्फबाट काम सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने बताए । पटकपटकको प्रतिबद्धता पूरा नगरेका कारण जिल्ला प्रशासन कार्यालयले ठेकेदार कम्पनीका प्रमुख भीमबहादुर साउदलाई नै उपस्थित हुन अनुरोध गरेको थियो ।


तर मेयरसमेत रहेका साउदले प्रमुख जिल्ला अधिकारीको अनुरोधलाई लत्याउँदै प्रतिनिधिका रूपमा विदुर कँडेललाई पठाए । ‘म पुलिस लगाएर पक्राउ गरी ल्याउन त सक्दिनँ तर तपार्इं आफैंले बुझेर आउनुभएन भने राम्रो हुँदैन भनेर टेलिफोन गर्दा पनि उहाँले पत्याउनुभएन ।’ प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘उहाँ मेयर मात्र नभएर एउटा निर्माण व्यवसायी पनि हो तर कामप्रति जवाफदेही भएको पाइएन ।’ प्रतिनिधिका रूपमा आएका कँडेलले एक साताभित्र कार्यसूची पेस गरी त्यसको भोलिपल्टैबाट कामदारलाई फिल्डमा उतारेर काम थाल्ने प्रतिबद्धता जनाएका छन् । संघीय सांसद यज्ञराज सुनुवारले समेत आफूले टेलिफोन नै गरेर साउदसँग कुरा गर्दा गम्भीर भएर जवाफ दिने तर काम नगर्ने गरेको बताए । अब भने काम नगरे जोकसैको कम्पनी भए पनि कानुनबमोजिमको कारबाहीका लागि सिफारिस गर्ने सांसद सुनुवारले बताए ।


पन्छिन्छन् साउद

कम्पनीका मालिक रहेका मेयर भीमबहादुर साउद प्राय सधैं आफूले विश्वास गरेर जिम्मा दिएको प्रतिनिधिबाटै ठगिएको भन्दै पन्छिने गरेका छन् । छ महिनाअघि टेलिफोनमा लिएको प्रतिक्रियामा उनले पुल नबन्नुको कारणबारे सबै काम गर्छु भनेर विश्वासमा जिम्मा दिएका प्रतिनिधिले काम नगर्दा ढिलो भएको बताएका थिए । उनले स्काभेटर नै उपलब्ध गराउँदा समेत उल्टै काम नगरेर अलपत्र पारेको बताएका थिए । उनले आफ्नो कम्पनीका नामको ठेक्का भएकाले आफैं आएर काम गर्ने बताएका थिए तर हालसम्म उनी नआएको विषयमा बुझ्नका लागि टेलिफोन गर्दा नेटवर्कका कारण नबुझिएको भन्दै फोन काटे ।


भूतप्रेत पनि मन्छाइयो

पुल निर्माणका लागि जग खन्नेबित्तिकै चट्टान भेटिएपछि डिजाइन फेर्नै दुई वर्ष लाग्यो । नयाँ डिजाइनसँगै जगको काम गर्न खोलामा पुगेको एक्साभेटर खन्न थाल्नेबित्तिकै बिग्रियो । एक्साभेटरसँगै अन्य मेसिन पनि त्यसैगरी बिग्रिने गरेको बहानामा दुई वर्ष काम हुनै सकेन । त्यसपछि धेरैले यो त मसानघाट भएको र यहाँ भूतप्रेतलाई मन्छाउनुपर्ने सुझाव दिए । सुझावकै आधारमा ०७४ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको उपस्थितिमा भूतप्रेत मन्छाउने पूजासँगै ठेक्का लागेको चार वर्षपछि पुलको शिलान्यास गरियो ।


त्यसपछि निरन्तर काम हुने आशा थियो तर ठेकेदार साउदले सबकन्ट्र्याक्टरका रूपमा रवीन्द्र लामालाई काम दिए । लामाले काम गर्न नसकेपछि जिल्ला प्रशासनको निर्देशनमा पक्राउ गरियो । पक्राउपश्चात् पुन: काम थाल्ने सहमतिमा छुटे । त्यसपछि उनी पनि काम छोडेर हिँडे । ठूला नेतासँगको पहुँचकै कारण मेयरसमेत भएका साउदलाई यहाँका स्थानीय तहका प्रमुखले ठेकेदारमाथि प्रश्न उठाउन सकेका छैनन् ।


को हुन् मेयर साउद ?

पर्शुराम नगरपालिका डडेल्धुराका मेयर भीमबहादुर साउद नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी निर्वाचित भएका थिए । उनी शेरबहादुर देउवा निकट भएको कांग्रेस कार्यकर्ता बताउँछन् । आफ्नै नगरपालिका क्षेत्रभित्र रहेको रंगुनखोलाको पुल निर्माण उनैले ठेक्का लिएका थिए । उनले ठेक्का लिएको ५ वर्षमा पनि पुल नबनाएपछि खोला तर्न प्रतिव्यक्ति ५० रुपैयाँ पैसा लागेको विषयमा समेत विवादित बनेका थिए । अन्य पुल लगायत ठेक्का पनि समयमा निर्माण नगरी पटकपटक विवादित बन्दै आएका छन् ।


जिल्लाकै महत्त्वपूर्ण पुल

यो पुल निर्माण हुन सकेमा जिल्लाबाट रामेछाप र खोटाङ जोड्ने सबैभन्दा छोटो मार्ग स्थापित गर्न सकिन्छ । जिल्लाबाट राजधानी जान मध्यपहाडी राजमार्गको वैकल्पिक राजमार्गका रूपमा समेत यो सडक सहज बनाउन मोलुङ खोलाको पक्की पुल आवश्यक छ । पुल नहुँदा वर्षातको छ महिना सवारीसाधन आवतजावत ठप्प हुँदै आएको छ ।


प्रकाशित : कार्तिक ६, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?