सयपत्रीका बिरुवा धमाधम बिक्री 

विनु तिम्सिना

(विराटनगर) — तिहार भन्नेबित्तिकै झिलमिल बत्ती र सयपत्री फूल सम्झने गरिन्छ । दाजुभाइलाई माला लगाउन होस् या घर सजाउन सयपत्रीको प्रयोग तिहारमै बढी हुने गर्छ । विगतका वर्षमा आफ्नै घरमा सयपत्री फूल रोप्ने चलन थियो । तर पछिल्लो समयमा भने नर्सरीबाट फुल्ने बेला भएका सयपत्री फूलको बिरुवा किनेर घर आँगनमा रोप्ने चलन बढेको छ । 

तिहार नजिकिएसँगै विराटनगर महानगरपालिकाका नर्सरीहरूलाई सयपत्री फूलका बिरुवा बिक्री गर्न भ्याइनभ्याई छ । तिहारको बेला सयपत्री फूल रोपेर घर आँगन सजाउने गरिन्छ । विराटनगर महानगरपालिका १४ स्थित अर्निका नर्सरीमा सयपत्री फूलका बिरुवा खरिद गर्न पुगेकी विराटनगरकी १२ की ७५ वर्षीया मीना वस्ती विगत वर्षहरूमा आफैंले बीउ राखेर सयपत्री फूल रोप्ने गरेको सम्झन्छिन् । आफ्नो घरमा लगाएको सयपत्री फूलको बिरुवा र फूलसमेत छिमेकीहरूलाई बाँड्ने गरेको उनी बताउँछिन् । तर नयाँ पुस्ताले काम व्यस्ततालगायतका कारणले अहिले सयपत्री लगाउन छाडेपछि उनी तिहार नजिकिएपछि फुल्न लागेका बिरुवा खरिद गर्न नर्सरी पुग्ने गरेको बताउँछिन् ।

भाइटीकामा दाजुभाइका लागि माला बनाउन बजारबाट फूल ल्याउने गरेको भए पनि सय फूलका बिरुवाले घर वरपर रमाइलो देखिनेर तिहार आएको महसुस हुने भएकाले नर्सरीबाट खरिद गरेर भए पनि रोप्ने गरेको उनले बताइन् ।

अर्निका नर्सरीका सञ्चालक रमेश मण्डलले एक महिनायता सयपत्रीको १० हजार बिरुवा बिक्री भइसकेको बताए । उनले तीस हजार सयपत्रीका बिरुवा लगाएका छन् । उनको नर्सरीमा ३० रुपैयाँदेखि एक सय ५० रुपैयाँ मूल्यसम्मको बिरुवा छन् ।

तिहारको सामग्री आयातमा कमी
भारतलगायत तेस्रो मुलुकबाट आउने तिहारकालागि आवश्यक पर्ने केही सामग्रीहरूको आयातमा यस वर्ष कमी आएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार तिहारका केही सामग्रीको आयातमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष प्लास्टिकका फूल, बदाम, सुपारी, किसमिस र केही ताजा फलफूलको आयातमा गिरावट आएको छ भने झिलमिल बत्ती, काजु, छोकडालगायतको आयातमा वृद्धि भएको छ ।

विराटनगर भन्सार कार्यालयले दिएको तथ्यांकअनुसार तिहारमा भाइ मसालाका रूपमा प्रयोग गरिने किसमिसको आयात शतप्रतिशत घटेको पाइएको छ । गत वर्ष साउनबाट असोजसम्म तिहारका लागि ४९ हजार मूल्य बराबरको २ सय ९० केजी किसमिस आयात भएकोमा यस वर्ष यसको आयात शून्य देखिएको छ । त्यस्तै, बदामको आयातमा पनि कमी देखिएको छ । गत वर्ष यो सिजनमा ९७ लाख ४१ हजार मूल्य बराबरको ५४ हजार २ सय ६० किलो बदाम आयात भएको थियो । यस वर्ष साउनबाट असोजसम्म ५८ लाख ९७ हजार मूल्य बराबरको २० हजार किलो मात्रै बदाम (आलमोण्ड) आयात भएको छ । आयात घटेका कारण किसमिसबाट हुने राजस्व महसुलमा शतप्रतिशत घटेको र बदामका कारण भन्सार कार्यालयलाई ४७ प्रतिशत राजस्व महसुल कमी आएको छ ।

गत वर्ष काजुको आयात शून्य रहेको यो नाकाबाट यस वर्ष साउनयता भने १ करोड ४० लाख मूल्य बराबरको ३५ हजार २९ किलो काजु आयात भएको भन्सार कार्यालयले जनाएको छ । त्यस्तै तेस्रो मुलुकबाट आउने छोकडाको आयातमा पनि वृद्धि भएको छ । गत वर्ष यो सिजनमा ९१ लाख ७४ हजार मूल्य बराबरको १ लाख २२ हजार ६ सय ६० किलो छोकडा आयात भएको थियो । यो वर्ष ५ लाख ४३ हजार ७ सय ५० किलो छोकडा आयात भएको छ । तिहार र छठमा सजावटकालागि प्लाष्टिकका फुलको आयातमा पनि कमी भएको छ । गतवर्ष यो सिजनमा ४६ लाख ११ हजार मुल्य बराबरको १८ हजार ८ सय ७८ किलो आयात भएको थियो । यस वर्ष साउन यता २७ लाख ९६ हजार मूल्य बराबरको ८ हजार २ सय ३८ किलो मात्रै आयात भएको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ ०९:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अपांगमैत्री लिफ्ट बनाउन म्याद थपेको थप्यै

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाको लिफ्ट निर्माण गर्ने कम्पनीले तोकिएको समयमा काम नसकेपछि म्याद थपेको थप्यै छ । असार १५ भित्र काम सक्नुपर्ने समयसीमा तोकेर महानगरपालिकाले गत फागुन २१ गते आरएमएस इन्टनेसनल कम्पनीसँग सम्झौता गरे पनि अझै काम सकिएको छैन ।

निर्धारित समयमा काम नसकेपछि महानगरले असोज मसान्तसम्म काम सकाउनुपर्ने गरी म्याद थप गरेको थियो । महानगरको कार्यालय अपांगमैत्री बनाउन लिफ्ट बनाउन ठेक्का पाएको कम्पनीले काममा ढिलाइ गरेको हो ।

महानगरका उपमेयर गीता सत्यालले लिफ्ट निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै ठेक्का पाउने कम्पनीको बचाउ गरिन् । ‘लिफ्टमा सिसा राख्नमात्रै बाकीँ छ,’ उनले भनिन् ।

लिफ्टको ९० प्रतिशत काम सकिएको महानगरका इन्जिनियर श्रीविकास महर्जनले बताए । पाँच ढोका भएको लिफ्ट जडानको काम सकिएपछि अशक्तलाई माथिल्लो तल्लामा पुग्न र ओर्लन सजिलो हुने उनको भनाइ छ ।
कम्पनीका प्रमुख हरिशचन्द्र पौडेलले बिहान र बेलुकामात्रै काम गर्नुपर्ने भएकाले बेलैमा काम गर्न नसकिएको बताए । ‘तीन दिनभित्र काम सकिन्छ,’ उनले दाबी गरे ।

महानगरपालिकाले लिफ्ट निर्माणका लागि १ करोड ८ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । आरएसएसले ८२ लाख ३० हजार रुपैयाँमा ठेक्का लिएको थियो । जडान हुँदै गरेको लिफ्टको क्षमता एक हजार किलोग्राम अर्थात् एकचोटिमा १५ जना अट्ने हुनेछ ।


प्रकाशित : कार्तिक ६, २०७६ ०९:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्